33
यो आफ्नो मृत्‍युअघि परमेश्‍वरका मानिस मोशाले इस्राएलीहरूलाई दिएको आशिष् हो ।2 तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दशौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो ।3 वास्तवमा उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्‍छ । उहाँका सबै पवित्र जन उहाँको हातमा छन्, र तिनीहरूले तपाईंको पाउमा शिर निहुराउँछन् । तिनीहरूले तपाईंका वचनहरू प्राप्‍त गरे ।4 मोशाले हामीलाई व्यवस्था दिए, जुन याकूबको समुदायको सम्पत्ति हो ।5 तब मानिसका अगुवाहरू र इस्राएलका सबै कुल एकै ठाउँमा जम्मा हुँदा यशूरूनमा राजा हुनुहुन्‍थ्यो ।6 रूबेन बाँचून्, र नमरून, तर तिनका मानिसहरू थोरै होऊन् ।7 यो यहूदाको निम्ति आशिष् हो । मोशाले भनेः हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई फेरि आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस् । तिनको पक्षमा लड्नुहोस् । तिनका शत्रुहरूको विरुद्धमा सहायता बन्‍नुहोस् ।8 लेवीको विषयमा मोशाले भनेः “तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको राजकीय जनसित छ, जसलाई तपाईंले मस्साहमा जाँच्‍नुभयो, जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो ।9 तिनले आफ्ना बुबा र आमाको विषयमा भने, ‘मैले उहाँहरूलाई देखेको छैनँ ।’ न तिनले आफ्ना दाजुभाइहरूलाई स्वीकार गरे, न त तिनले आफ्नै सन्‍तानको वास्ता गरे । किनकि तिनले तपाईंको वचनको रखवाली गरे, र तपाईंको सन्‍दूकलाई सुरक्षा दिए ।10 तिनले याकूबलाई तपाईंका विधिहरू र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन् । तिनले तपाईंको सामु धूप बाल्छन्, र तपाईंको वेदीमा सबै होमबलि चढाउँछन् ।11 हे परमप्रभु, तिनका सबै सम्पत्तिमा आशिष् दिनुहोस्, र तिनका हातका काम स्वीकार गर्नुहोस् । तिनको विरुद्धमा खडा हुनेहरू र तिनलाई घृण गर्नेहरूका कम्मरमा हिर्काउनुहोस् ताकि तिनीहरू फेरि उठ्न नसकून् ।12 बेन्‍यामीनको विषयमा मोशाले भनेः “परमप्रभुका प्रिय उहाँको छेउमा सुरक्षित रहून् । परमप्रभुले तिनको जीवनभर रक्षा गर्नुहुन्‍छ, र तिनी परमप्रभुको पाखुराको बीचमा बस्छन् ।13 योसेफको विषयमा मोशाले भनेः “माथि आकाशबाट झर्ने अनमोल शीत र तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस् ।14 तिनको देश सूर्यको ताप र महिनैपिच्‍छेका उब्जनीका अनमोल कुराहरूले आशिषित् होस् ।15 साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्‍तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् ।16 तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाहले आशिषित् होस् । योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस् ।17 ऐश्‍वर्यमा तिनी पहिले बियाएका बाछोझैँ छन्, र तिनका सीङ अर्नाका सीङ हुन् । तीद्वारा नै तिनले सबै मानिसलाई पृथ्वीको पल्लो छेउसम्म हान्‍नेछन् । यी एफ्राइमका दशौँ हजार हुन् र मनश्शेका हजारौँ हुन् ।18 जबूलूनको विषयमा मोशाले भनेः “ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्‍दित होओ ।19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन् । त्‍यहाँ तिनीहरूले धार्मिकताका बलिदानहरू चढाउनेछन् । किनकि तिनीहरूले समुद्रको प्रचुरता र समुद्रीतटको बालुको सम्पत्ति उपभोग गर्नेछन् ।20 गादको विषयमा मोशाले भनेः “गादलाई वृद्धि गर्ने धन्‍यका हुन् । त्‍यहाँ तिनी सिंहिनीझैँ बस्‍नेछन्, र तिनले मुखियाको पाखुरा लुछिदिनेछन् ।21 तिनले आफ्नो निम्ति सबै भन्‍दा उत्तम जग्गा छाने, किनकि नायकको हिस्सा तिनको निम्ति अलग गरिएको थियो । तिनी मानिसहरूका अगुवाहरूसँगै आए । तिनले इस्राएलसितै परमप्रभुको न्‍याय र उहाँका विधिहरू पूरा गरे ।22 दानको विषयमा मोशाले भनेः “दान बाशानबाट हामफाल्दै आउने सिंहको डमरु हो ।23 नप्‍तालीको विषयमा मोशाले भनेः “नप्‍ताली परमप्रभुको आशिष्‌को भरिपूर्णता र स्‍नेहद्वारा सन्‍तुष्‍ट भएका छन् । तिनले पश्‍चिम र दक्षिणको देश अधिकार गर्नेछन् ।24 आशेरको विषयमा मोशाले भनेः “आशेर अन्‍य छोराहरूमध्‍ये सबै भन्‍दा बढी आशिषित् होऊन् । तिनी आफ्ना दाजुभाइहरूकहाँ स्वीकारयोग्य होऊन्, र तिनले आफ्नो खुट्टा जैतूनको तेलमा धोऊन् ।25 तिनको सहरका बारहरू फलाम र काँसाका होऊन् । तिमी बाँचुञ्‍जेसम्म तिम्रो सुरक्षा हुनेछ ।26 यशूरूनका परमेश्‍वर जस्‍तो कोही छैन । उहाँ सत्‍य हुनुहुन्‍छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्‍छ ।27 अनन्‍त परमेश्‍वर शरणस्थान हुनुहुन्‍छ, र मुनितिरचाहिँ अनन्‍त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्‍नेबाट शत्रुलाई धपाउनुहुनेछ, र उहाँले भन्‍नुभयो, ‘नाश पार् !’28 इस्राएल सुरक्षामा बस्यो । अन्‍न र नयाँ मद्यको देशमा याकूबको सन्‍तान सुरक्षित थियो । वास्तवमा तिनको आकाशले तिनमाथि शीत झारून् ।29 ए इस्राएल, तिम्रा आशिष्‌हरू अनगिन्‍ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमी जस्‍तै को छ र ? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्‍छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्‍छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चनेछौ ।”