21
“परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको कुनै मैदानमा कोही मारिएको पाइयो र यसको हत्‍याराको निधो भएन भने,2 तिमीहरूका धर्म-गुरुहरू र न्‍यायकर्ताहरू गएर लाशदेखि नजिक भएका सहरहरू पत्ता लगाऊन् ।3 त्‍यसपछि लाशको निकटतम सहरका धर्म-गुरुहरूले गाईवस्तुबाट काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिऊन् ।4 अनि तिनीहरूले त्‍यस कोरलीलाई नजोतिएको र बीउ नछरिएको खोला भएको उपत्‍यकामा लैजाऊन्, र त्‍यहाँ तिनीहरूले त्‍यसको घाँटी भाँचिदिऊन् ।5 पूजाहारीहरू अर्थात् लेवीका सन्‍तानहरू अगाडि आऊन् किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँको सेवा गर्न र परमप्रभुको नाउँमा आशिष् दिन अनि हरेक वादविवाद मिलाइदिन छान्‍नुभएको छ ।6 मारिएको मानिसको निकटतम सहरका सबै धर्म-गुरुले उपत्‍यकामा घाँटी निमोठिएको कोरलीमाथि आ-आफ्ना हात धोऊन् ।7 अनि तिनीहरूले त्‍यस मामिलालाई जवाफ दिई यसो भनून्, ‘हाम्रा हातले यो रगत बगाएका होइनन्, न त हाम्रा आँखाले यसलाई देखेका छन् ।8 हे परमप्रभु इस्राएललाई क्षमा दिनुहोस् जसलाई तपाईंले छुटकारा दिनुभएको छ, र तपाईंको जाति इस्राएलको बीचमा यो निर्दोषको हत्‍याको दोष नलगाउनुहोस् ।’ तब हत्‍याको दोषलाई क्षमा हुनेछ ।9 यसरी तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठीक छ त्‍यही गरेकाले तिमीहरूले तिमीहरूका बीचबाट निर्दोषको हत्‍याको दोषलाई हटाउनेछौ ।10 जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्‍छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्‍छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्‍दी बनाई ल्याउँछौ,11 तब तिमीहरूले बन्‍दीहरूका बीचमा सुन्‍दरी स्‍त्री देख्यौ र त्‍यसलाई आफ्नी पत्‍नी बनाउने इच्‍छा गर्‍यौ भने,12 त्‍यसलाई आफ्नो घरमा लैजानू । त्‍यसले आफ्नो कपाल खौरन्‍छे र नङ् काट्छे ।13 त्‍यसपछि त्‍यसले निर्वासनमा छँदा आफूले लगाएको लुगा फुकाल्छे र त्‍यो तिम्रो घरमा बसी आफ्ना बुबाआमाको लागि एक वर्षसम्म शोक गर्छे । त्‍यसपछि तिमी त्‍यससित सुत्‍न सक्छौ र त्‍यसको पति हुन सक्छौ र त्‍यो तिम्री पत्‍नी हुन्‍छे ।14 तर तिमीले त्‍यसमा रुचि देखाएनौ भने त्‍यसलाई इच्‍छा लागेको ठाउँमा जान दिनू । तथापि तिमीले त्‍यसलाई पैसामा नबेच्‍नू, त्‍यसलाई कमारीलाई जस्‍तै व्यवहार नगर्नू किनकि तिमीले त्‍यसको सतीत्व नष्‍ट गरेका छौ ।15 कुनै मानिसका दुई पत्‍नी छन् र त्‍यसले एउटालाई माया गर्छ र अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्‍तान जन्‍माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्‍माएको छ भने16 अंशबन्डा गर्दा माया गर्नेको छोरा भनेर माया नगर्नेको खास जेठो छोरोलाई उछिनेर पिताले कान्‍छोलाई अधिकार दिन मिल्दैन ।17 बरु, त्‍यसले घृणा गरिएकी पत्‍नीको छोरोलाई नै आफ्ना सबै सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्‍यता देओस् । किनकि त्‍यो छोरो नै त्‍यसको शक्तिको सुरु हो । जेठोको हक त्‍यसको नै हो ।18 कुनै मानिसको हठी र विद्रोही छोरो छ जसले आफ्ना बुबा वा आमाको कुरा मान्‍दैन वा र तिनीहरूले त्‍यसलाई सुधार्दा पनि त्‍यो सुध्रदैन भने,19 त्‍यसका बुबाआमाले त्‍यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरका ढोकाहरूमा ल्याऊन् ।20 तिनीहरूले धर्म-गुरुहरूलाई यसो भनून्, ‘यो हाम्रो छोरो हठी र विद्रोही छ । यसले हाम्रो कुरा मान्‍दैन । यो लफङ्‌गो र मतवाला हो ।’21 तब सहरका सबै मानिसले त्‍यसलाई ढुङ्‌गाले हानेर मारून् । यसरी तिमीहरूले तिमीहरूका बीचबाट दुष्‍टतालाई हटाउनेछौ । सारा इस्राएली यो सुनेर डराउनेछन् ।22 कुनै मानिसले मृत्‍यु योग्यको पाप गरेको छ र त्‍यसलाई मृत्‍युदण्ड दिँदा त्‍यसलाई रूखमा झुण्ड्‌यायौ भने23 त्‍यसको लाश रातभरि रुखमा नरहोस् । बरु, त्‍यसलाई त्‍यही दिनमा नै गाडिदिनू । किनकि जो झुण्ड्‌याइन्‍छ त्‍यो परमप्रभुबाट श्रापित हुन्‍छ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले बिटुलो नपार भनेर यो आज्ञापालन गर ।”