25
इस्राएल शित्तीममा बसे र पुरुषहरूले मोआबका स्‍त्रीहरूसँग व्यभिचार गर्न थाले,2 किनभने मोआबीहरूले उनीहरूका देवताहरूलाई बलिदान चढाउन मानिसहरूलाई बोलाएका थिए ।3 इस्राएलका मानिसहरूले पोरको बाललाई पुज्‍न थाले, र परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो ।4 परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूका अगुवा सबैलाई मार् तिनीहरूलाई चर्को घाममा मेरो सामु झुण्‍डा, ताकि मेरो भयङ्‌कर क्रोध इस्राएलबाट हटेर जाओस् ।5 त्‍यसैले मोशाले इस्राएलका अगुवाहरूलाई भने, “पोरको बालको पूजामा सहभागी हुने सबैलाई मार्नुपर्छ ।6 अनि इस्राएलका मानिसहरूमध्‍ये एक जना आयो र मिद्यानी महिलालाई त्‍यसको परिवारका सदस्यहरू माझ ल्यायो । यो घटना मोशा र इस्राएलका सबै समुदाय भेट हुने पालको सामु रोइरहँदा भएको थियो ।7 जब पूजाहारी हारूनका नाति एलाजारका छोरा पीनहासले त्‍यो देखे, तिनी समुदायको बीचबाट उठेर गए अनि हातमा भाला लिए ।8 तिनी त्‍यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्‍यसैले परमेश्‍वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो ।9 त्‍यो विपत्तिद्वारा मर्नेहरूको सङ्ख्या चौबीस हजार थियो ।10 परमप्रभुले मोशालाई भन्‍नुभयो,11 “पूजाहारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्‍यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ ।12 यसकारण परमप्रभु भन्‍नुहुन्‍छ, “म मेरो शान्‍तिको करार पीनहासलाई दिँदैछु ।13 त्‍यो र त्‍यसपछिका त्‍यसका सन्‍तानहरूका निम्ति पूजाहारीको पद अनन्‍तको करार हुनेछ, किनभने त्‍यो मेरो अर्थात् त्‍यसको परमेश्‍वरको निम्ति जोसिलो भयो ।14 मिद्यानी महिलासँगै मारिएको इस्राएली पुरुषको नाउँ शिमियोनको कुलका अगुवा सालूका छोरा जिम्री थियो ।15 त्‍यो मारिएको मिद्यानी महिलाको नाउँ सूरकी छोरी कोजबी थियो ।16 त्‍यसैले परमप्रभुले मोशालाई भन्‍नुभयो,17 “मिद्यानीहरूलाई शत्रुहरूलाई झैँ व्यवहार गर् र तिनीहरूलाई आक्रमण गर्,18 किनभने तिनीहरूले तिनीहरूका छलद्वारा शत्रुहरूलाई झैँ व्यवहार गरे । तिनीहरूले पोरको र पोरको विषयमा आएको विपत्तिको दिनमा मारिएकी तिनीहरूकी बहिनी कोजबीको सन्‍दर्भमा तिमीहरूलाई दुष्‍टतातिर लगे ।”