18
परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्रस्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पूजाहारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ ।2 लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्‌गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् ।3 तिनीहरूले तेरो र सारा पालको सेवा गर्नुपर्छ ।4 तथापि, तिनीहरू पवित्रस्थान वा वेदीसँग सम्बन्धित कुनै थोकको नजिक आउनुहुँदैन नत्रता तिनीहरू र तँ मर्नेछौ । तिनीहरू पालसँग सम्बन्धित सबै किसिमका कामकाजको निम्ति तिमीहरूसँग सहभागी हुनुपर्छ र भेट हुने पालको देखरेख गर्नुपर्छ । कुनै पनि परदेशी तिमीहरूको नजिक आउनुहुँदैन ।5 पवित्रस्थान र वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् ।6 हेर्, लेवीहरूका तेरा सङ्‌गी सदस्यहरूलाई इस्राएलका सन्‍तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।7 तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धी पूजाहारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पूरा गर्नुपर्छ । पूजाहारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।8 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “हेर्, मलाई चढाइने बलिदानहरू र इस्राएलका मानिसहरूले मलाई दिने पवित्र भेटीहरू सम्‍हाल्‍ने जिम्मा मैले तँलाई दिएको छु ।9 मैले यी बलिहरू तँलाई र तेरा छोराहरूलाई अनवरत हिस्साको रूपमा दिएको छु । आगोमा जलाउनबाट बचेका यी थोकहरू तेरा हुनेछन् । हरेक अन्‍नबलि, पापबलि र दोषबलिजस्ता तिनीहरूका हरेक बलिबाट तिनीहरू तँलाई र तेरा छोराहरूलाई अलग गरिएका हुन् ।10 यी बलिहरू अति पवित्र छन् । हरेक पुरुषले यो खानुपर्छ, किनभने तिनीहरू तिमीहरूका निम्ति पवित्र छन् ।11 इस्राएलका मानिसहरूका डोलाइने बलिको रूपमा तिनीहरूका सबै उपहारबाट अलग गरिएका यी सबै बलि तेरा हुनेछन् । मैले ती तँलाई, तेरा छोराहरू र तेरा छोरीहरूका निम्ति तिमीहरूको सदाको निम्ति अंशको रूपमा दिएको छु । तेरा परिवारका विधिवत् रूपमा शुद्ध हुने सबैले यी बलिहरूबाट खान सक्छन् ।12 मानिसहरूले मलाई दिने तेल, नयाँ दाखमद्य र अन्‍नको उत्तम भाग, पहिलो फल यी सबै मैले तँलाई दिएको छु ।13 तिनीहरूले मकहाँ ल्याउने तिनीहरूका भूमिको पहिलो पाकेको फल तेरो हुनेछ । तेरा परिवारका शुद्ध हुने सबैले यी थोकहरूबाट खान सक्छन् ।14 इस्राएलमा अर्पण गरिएका सबै थोक तेरा हुनेछन् ।15 मानिसहरूले परमप्रभुलाई अर्पण गर्ने मानिस र पशु दुवैका गर्भ खोल्ने पहिलो जन्‍मेकाहरू सबै तेरै हुनेछन् । तथापि, मानिसहरूले जेठा छोरालाई किनेर फिर्ता लिनुपर्छ र तिनीहरूले अशुद्ध पशुहरूका पहिलो जन्‍मेकाहरूलाई किनेर फिर्ता गर्नुपर्छ ।16 मानिसहरूले किनेर फिर्ता लिनुपर्नेहरूलाई एक महिनाको भएपछि किनेर फिर्ता गर्नुपर्छ । त्‍यसपछि मानिसहरूले पवित्रस्थानको शेकेलको तौलको मापदण्डअनुसार पाँच शेकेल तिरेर फिर्ता लिन सक्छन् । बीस गेराको एक शेकेल हुन्‍छ ।17 तर गाईको पहिले जन्‍मेको बाछो वा भेडा वा बाख्राको पहिले जन्‍मेको पाठोलाई तिमीहरूले किनेर फिर्ता लिनुहुँदैन; ती मेरो निम्ति अलग गरिएका छन् । तिनीहरूका रगत वेदीमाथि छर्कनुपर्छ र तिनीहरूका बोसो आगोद्वारा चढाइएको परमप्रभुलाई मनपर्ने सुगन्धित बलिको जलाउनुपर्छ ।18 तिनीहरूका मासु तेरो हुनेछ । डोलाइएको ह्याकुलो र दाहिने साँप्रोझैँ तिनीहरूका मासु तेरो हुनेछ ।19 इस्राएलका मानिसहरूले परमप्रभुलाई चढाएका सबै पवित्र बलि निरन्‍तरको अंशको रूपमा मैले तँलाई, तेरा छोराहरू र छोरीहरूलाई दिएको छु । यो तेरो र तेरा सन्‍तानहरू दुवैको निम्ति परमप्रभुको सामु अनन्‍तको बाध्‍यकारी करार अर्थात् नूनको अनन्‍त करार हो ।20 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “मानिसहरूको जग्गा-जमिनमा तेरो कुनै उत्तराधिकार हुनेछैन, न त मानिसहरूको सम्पत्तिमा कुनै हिस्सा हुनेछ । इस्राएलका मानिसहरूमा म नै तेरो हिस्सा र उत्तराधिकार हुँ ।21 हेर्, लेवीका सन्‍तानहरूले भेट हुने पालमा काम गरे बापत मैले तिनीहरूलाई इस्राएलका दशांश सेवाको सट्टामा दिएको छु ।22 आज उप्रान्‍त इस्राएलका मानिसहरू भेट हुने पालको नजिक आउनुहुँदैन, नत्रता तिनीहरू यो पापको निम्ति जिम्मेवार हुनेछन् र मर्नेछन् ।23 लेवीहरूले भेट हुने पालसँग सम्बन्धित कामहरू गर्नुपर्छ । यससँग सम्बन्धित कुनै पापको जिम्मेवार तिनीहरू हुनेछन् । यो तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुनेछ । इस्राएलका मानिसहरूका माझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।24 मेरो निम्ति योगदानको रूपमा तिनीहरूले चढाएका इस्राएलका मानिसहरूको दशांश मैले लेवीहरूलाई तिनीहरूको उत्तराधिकारको रूपमा दिएको छु । यसैले मैले तिनीहरूलाई यसो भनेँ, ‘इस्राएलका मानिसहरूमाझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन’ ।25 परमप्रभुले मोशालाई भन्‍नुभयो,26 “ ‘तिमीहरूले इस्राएलका मानिसहरूबाट दशांश प्राप्‍त गर्दा जुन मैले तिमीहरूको उत्तराधिकार हुनको निम्ति दिएको छु, तिमीहरूले यसबाट दशांशको दशांश परमप्रभुलाई दिनेछौ’ भनी तैँले लेवीहरूलाई भन्‍नुपर्छ ।27 तिमीहरूका हिस्सालाई खलाबाट ल्याइएको अन्‍न वा कोलबाट ल्याइएको दाखमद्यको रूपमा लिनुपर्छ ।28 यसैले तिमीहरूले पनि इस्राएलका मानिसहरूबाट प्राप्‍त गरेका दशांशहरूबाट परमप्रभुको निम्ति योग दिनुपर्छ । तिमीहरूले त्‍यसबाट पूजाहारी हारूनलाई त्‍यसको हिस्सा दिनुपर्छ ।29 तिमीहरूले प्राप्‍त गरेका सबै उपहारबाट तिमीहरूले परमप्रभुलाई हरेक हिस्सा दिनुपर्छ । यो तिमीहरूलाई दिइएको उत्तम र अति पवित्र थोकहरूबाट दिनुपर्छ ।30 यसकारण, ‘जब तिमीहरूले यसको उत्तम हिस्सा दिन्‍छौ, लेवीहरूको निम्ति यो खलाबाट ल्याइएको अन्‍न र कोलबाट ल्याइएको दाखमद्यको रूपमा गनिन्‍छ’ भनी तैँले तिनीहरूलाई भन् ।31 बाँकी तेरा उपहारहरू तिमीहरू र तिमीहरूका परिवारले कुनै पनि ठाउँमा खान सक्छौ, किनभने यो भेट हुने पालमा तिमीहरूको कामको सट्टामा दिइएको ज्‍याला हो ।32 यदि तिमीहरूले प्राप्‍‍त गरेका थोकहरूबाट यसको उत्तम हिस्सा परमप्रभुलाई चढाएका छौ भने, यो खाएर र पिएर तिमीहरूमाथि कुनै दोष आइपर्नेछैन । तर तिमीहरूले इस्राएलका मानिसहरूका पवित्र बलिहरूलाई अपवित्र तुल्याउनुहुँदैन नत्रता तिमीहरू मर्नेछौ ।”