16
लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरहसाथै रूबेनका कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेथका छोराले केही मानिसहरू भेला गरे ।2 तिनीहरू, इस्राएलका मानिसहरूका अन्‍य मानिसहरूसँगै दुई सय पचास समुदायका अगुवाहरू जो नाम चलेका सदस्यहरू थिए, मोशाको विरुद्धा खडा भए ।3 तिनीहरू मोशा र हारूनको सामना गर्न आफै भेला भए । तिनीहरूले उनीहरूलाई भने, “तपाईंहरूले अति गर्नुभयो ! सबै समुदाय, तिनीहरूमध्‍ये हरेकलाई नै अलग गरिएको छ र परमप्रभु तिनीहरूसँग छन् । किन आफैलाई परमप्रभुको समुदाय भन्‍दा माथि उठाउनुहुन्‍छ ?4 जब मोशाले त्‍यो सुने, तिनी घोप्‍टो परे ।5 तिनले कोरह र उनका साथमा भएकाहरूलाई भने, “को उहाँका हुन् र कसलाई उहाँको निम्ति अलग गरिएको छ भनी परमप्रभुले बिहान देखाउनुहुनेछ । त्‍यस व्‍यक्तिलाई उहाँले उहाँको नजिक ल्याउनुहुनेछ । उहाँले चुन्‍नुभएकोलाई आफैले आफ्नो नजिक ल्याउनुहुनेछ ।6 कोरह र तिम्रा सबै समूहले यो गर । धुपौराहरू लेओ ।7 भोलि त्‍यसमा परमप्रभुको सामु धूप र आगो राख । परमप्रभुले चुन्‍नुहुने मानिसलाई उहाँको निम्ति अलग गरिनेछ । तिमी लेवीका सन्‍तानहरू अति धेरै भएका छौ ।8 फेरि मोशाले कोरहलाई भने, “सुन, तिमी लेवीका सन्‍तानहरू,9 के परमप्रभुको पवित्र वासस्थानमा काम गर्न र समुदायको सेवा गर्न तिनीहरूको सामु खडा हुन इस्राएलको समुदायबाट तिमीहरूलाई छुट्‌ट्‌याएको तिमीहरूको निम्ति सानो कुरा हो ?10 उहाँले तिमीहरू र तिमीहरूका सबै दाजुभाइ, लेवीका सन्‍तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको छ, अझै तिमीहरूले पूजाहारी पद पनि खोजिरहेका छौ !11 यसैले तिमी र तिमीहरूका सबै समूह सँगसँगै भेला भएका छौ । त्‍यसैले तिमीहरूले किन हारूनको बारेमा गनगन गरिरहेका छौ, जसले परमप्रभुको आज्ञापालन गर्छन् ?12 त्‍यसपछि मोशाले दातान र अबीराम, एलीआबका छोराहरूलाई बोलाए । तर तिनीहरूले भने, “हामी आउँदैनौँ ।13 के हामीलाई दूध र मह बग्‍ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुली कुरा हो ? अब तपाईं आफै हाम्रो शासक हुन चाहनुहुन्‍छ !14 यसको अतिरिक्त, तपाईंले हामीलाई दूध र मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्‍छ ? हामी तपाईंकहाँ आउँदैनौँ ।15 मोशा साह्रै रिसाए र परमप्रभुलाई भने, “तिनीहरूको भेटीको कदर नगर्नुहोस् । मैले तिनीहरूबाट एउटा गधा पनि लिएको छैनँ, र मैले तिनीहरू कसैलाई पनि हानि पुर्‍याएको छैनँ ।16 मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा सबै दल अर्थात् तिमी, तिनीहरू र हारून परमप्रभुको सामु जानुपर्छ । तिमीहरू हरेकले आ-आफ्ना धुपौरा लिनुपर्छ र यसमा धूप राख्‍नुपर्छ ।17 अनि हरेकले आ-आफ्ना दुई सय पचास वटा धुपौरा परमप्रभुको सामु ल्याउनुपर्छ । तिमी र हारूनले पनि आ-आफ्ना धुपौरा ल्याउनुपर्छ ।18 यसैले हरेकले आ-आफ्ना धुपौरा लिए, यसमा आगो राखे, यसमा धूप राखे र मोशा र हारूनसँगै भेट हुने पालको प्रवेश-द्वारमा खडा भए ।19 कोरहले सारा समुदायलाई मोशा र हारूनको विरुद्धमा भेट हुने पालको प्रवेश-द्वारमा भेला पारे र परमप्रभुको महिमा सारा समुदायकहाँ देखा पर्‍यो ।20 परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो,21 “यस समुदायबाट अलग होओ , ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।22 मोशा र हारून घोप्‍टो परे र भने, “हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्‍छ ?23 परमप्रभुले मोशालाई जवाफ दिनुभयो,24 “समुदायलाई भन् । ‘कोरह, दातान र अबीरामका पालहरूबाट पर जाओ’ ।25 अनि मोशा खडा भए र दातान र अबीरामको पालमा गए; इस्राएलका धर्म-गुरुहरू तिनको पछि-पछि गए ।26 तिनले समुदायलाई यसो भने, “यी दुष्‍टहरूका पालहरूबाट हट र तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ ।27 यसैले कोरह, दातान र अबीरामका पाल वरिपरिका समुदायले तिनीहरूलाई छोडे । दातान र अबीराम तिनीहरूका पत्‍नीहरू, छोराहरू र स-साना बालबालिकाहरूसहित तिनीहरूका पालको प्रवेश-द्वारमा खडा भए ।28 मोशाले भने, “यसैद्वारा यी सबै थोक गर्न मलाई परमप्रभुले पठाउनुभएको छ भन्‍ने तिमीहरूले जान्‍नेछौ, किनभने मैले यी मेरो आफ्नै इच्‍छामा गरेको छैन ।29 यदि यी मानिसहरू सामान्‍य रूपमा हुने स्वाभाविक मृत्‍युद्वारा मर्छन् भने, मलाई परमप्रभुले पठाउनुभएको होइन ।30 तर यदि परमप्रभुले कुनै नयाँ कुरा सृजना गर्नुहुन्‍छ, धर्तीले आफ्नो मुख उघार्छ र तिनीहरूसाथै तिनीहरूका सबै थोकलाई निल्छ, र तिनीहरू जिउँदै चिहानभित्र जान्‍छन् भने, यी मानिसहरूले परमप्रभुलाई तिरस्कार गरेका छन् भनी तिमीहरूले बुझ्‍नुपर्छ ।31 मोशाले यी कुराहरू भनी सिध्‍याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्‌यो ।32 धर्तीले त्‍यसको मुख उघार्‍यो अनि तिनीहरूका परिवारहरू र कोरहसँग भएका सबै मानिसहरूसाथै तिनीहरूका सबै थोकलाई निल्यो ।33 यसैले तिनीहरू र तिनीहरूसँग भएका सबै थोक जिउँदै चिहानभित्र लगिए । धर्ती तिनीहरूमाथि बन्‍द भयो, र तिनीहरू समुदायबाट नष्‍ट भए ।34 तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्‍च्‍याउँदै भागे । तिनीहरू, “धर्तीले हामीलाई पनि निल्ने भो !” भन्‍दै चिच्‍च्‍याए ।35 अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो ।36 फेरि परमप्रभु मोशासँग बोल्नुभयो,37 “पूजाहारी हारूनका छोरा एलाजारलाई भन् र त्‍यसले धुपौराहरूलाई आगोबाट निकालोस्, किनभने धुपौराहरू मेरा निम्ति अलग गरिएका छन् । त्‍यसले बलिरहेका आगोका फिलुङ्‌गाहरूलाई छरोस् ।38 आफ्नो पापको कारण जीवन गुमाउनेहरूको धुपौराहरू ले । तिनीहरूलाई पिटेर वेदीलाई मोहर्ने पाताहरू बनाइयोस् । ती मानिसहरूले तिनीहरूलाई मेरो निम्ति अर्पण गरे । यसैले तिनीहरूलाई मेरो निम्ति अलग गर । तिनीहरू इस्राएलका मानिसहरूका निम्ति मेरो उपस्थितिको चिन्ह हुनेछन् ।39 पूजाहारी एलाजारले आगोले नष्‍ट भएका मानिसहरूले प्रयोग गरेका काँसाका धुपौराहरू लिए र इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो,40 परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्‍तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् ।41 तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।42 समुदाय मोशा र हारूनको विरुद्ध भेला हुँदा तिनीहरूले भेट हुने पालतिर हेरे अनि हेर यसलाई बादलले ढाकिरहेको थियो । परमप्रभुका महिमा देखा पर्‍यो,43 र मोशा र हारून भेट हुने पालको अघि आए ।44 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,45 “यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्‍ट पार्न सकौँ ।” अनि मोशा र हारून जमिनमा घोप्‍टो परे ।46 मोशाले हारूनलाई भने, “धुपौरा लिनुहोस्, वेदीबाट यसमा आगो हाल्नुहोस्, यसमा धूप हाल्नुहोस्, यसलाई समुदायकहाँ छिटो लानुहोस् र तिनीहरूका निम्ति प्रायश्‍चित गर्नुहोस्, किनभने परमप्रभुको क्रोध आइरहेको छ । विपत्ति सुरु भएको छ ।47 यसैले हारूले मोशाले अह्राएबमोजिम गरे । तिनी समुदायको बीचमा दौडेर गए । विपत्ति मानिसहरूबीच फैलिन थालेको थियो, यसैले तिनले धूप राखे र मानिसहरूका निम्ति प्रायश्‍चित गरे ।48 हारून जीवित र मृतकहरूका बीचमा खडा भए । यसरी विपत्ति रोकियो ।49 कोरहको विषयमा पनि मरेका अतिरिक्त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७०० थियो ।50 हारून भेट हुने पालको प्रवेश-द्वारमा मोशाकहाँ फर्केर आए र विपत्ति रोकियो ।