11
यस बेला परमप्रभुले सुन्‍ने गरी मानिसहरूले तिनीहरूका कष्‍टबारे गनगन गरे । परमप्रभुले मानिसहरूको गनगन सुन्‍नुभयो र रिसाउनुभयो । परमप्रभुबाट आगो दन्कियो र यसका किनाराका केही छाउनीहरू जले ।2 अनि मानिसहरूले मोशासँग बिन्‍ती गरे । यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे, र आगो रोकियो ।3 त्‍यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो मानिसहरूमाझ दन्कियो ।4 केही विदेशीहरू इस्राएलका सन्‍तानहरूसँग छाउनीमा बस्‍न थाले । तिनीहरूले मीठो खानेकुरा खाने इच्‍छा गरे । अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्‍छ ?5 हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्‍दहरू, प्याज र लशुन सम्झन्‍छौँ ।6 अहिले हाम्रो भोक नै हराइसकेको छ, किनभने हामी देख्‍ने जत्ति सबै थोक मन्‍न मात्र हो ।7 मन्‍न धनियाँको बीउ जस्‍तो थियो । यो हेर्दा खोटो जस्‍तो देखिन्‍थ्यो ।8 मानिसहरू वरिपरि जान्‍थे र यसलाई बटुल्थे । तिनीहरूले यसलाई पिँध्थे, ओखलीमा कुट्थे, भाँडामा उमाल्थे र यसलाई फुरौला बनाउँथे । यो ताजा जैतूनको तेलको स्वादको थियो ।9 छाउनीमा राती शीत पर्दा मन्‍न पनि झर्थ्यो ।10 मानिसहरू आ-आफ्ना परिवारमा रोएको मोशाले सुने र सबै मानिस आ-आफ्ना पालको ढोकामा थिए । परमप्रभु साह्रै क्रोधित हुनुभयो र तिनीहरूको गनगन मोशाको दृष्‍टिमा गलत थियो ।11 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको ? तपाईं किन मसँग खुसी हुनुहुन्‍न ? तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्‍छ ।12 के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ ? के तिनीहरूलाई मैले जन्‍माएको थिएँ अनि ‘तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक्’ भन्‍नुहुन्‍छ ? के मैले तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक दिन त्‍यहाँसम्म नै बोक्‍नुपर्ने ?13 यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु ? तिनीहरू ‘हामीलाई मासु खान दिनुहोस्’ भन्‍दै मेरो सामु रोइरहेका छन् ।14 यी सबै मानिसलाई म एक्लै बोक्‍न सक्दिनँ । तिनीहरू मेरो निम्ति अति धेरै भएका छन् ।15 तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस्, मैले मेरो बिजोग देख्‍नु नपरोस् ।16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले ।17 म ओर्ली आउनेछु र तँसँग कुरा गर्नेछु । तँसँग भ‍एको केही आत्मा लिएर यसलाई म तिनीहरूमाथि राख्‍नेछु । तिनीहरूले मानिसहरूका बोझ तँसँगै बहन गर्नेछन् । यसलाई तँ एक्लैले बोक्‍नुपर्नेछैन ।18 मानिसहरूलाई भन्, ‘भोलिको निम्ति आफैलाई शुद्ध पार र तिमीहरूले साँच्‍चै मासु खानेछौ, किनकि तिमीहरू रोएका छौ र परमप्रभुले सुन्‍नुभएको छ । तिमीहरूले भन्‍यौ, “हामीलाई कसले मासु खान दिन्‍छ ? हामीलाई मिश्र देश नै असल थियो ।” यसकारण, परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र तिमीहरूले यसलाई खानेछौ ।19 तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच दिन, दश दिन वा बीस दिन मात्र खानेछेनौ,20 तर तिमीहरूले तिमीहरूको नाक लागूञ्‍जेलसम्म पूरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्‍छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्‍यौ, “हामीले मिश्र देश किन छाड्‌यौँ” ?’ ।21 त्‍यसपछि मोशाले भने, “म छ लाख मानिससँग छु, र तपाईंले भन्‍नुभएको छ, ‘मैले तिनीहरूलाई पूरै एक महिना मासु खान दिनेछु ।’22 के तिनीहरूलाई तृप्‍त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त ? के तिनीहरूलाई तृप्‍त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने ?23 परमप्रभुले मोशालाई भन्‍नुभयो, “के मेरो बाहुली छोटो भएको छ ? मेरो वचन सत्‍य हो वा होइन भनी अब तैँले देख्‍नेछस् ।24 मोशा बाहिर गए र परमप्रभुको वचन बोले । तिनले मानिसका सत्तरी जना धर्म-गुरुलाई भेला गरे र तिनीहरूलाई पालको वरिपरि राखे ।25 परमप्रभु बादलमा तल आउनुभयो र मोशासँग बोल्नुभयो । परमप्रभुले मोशासँग भएको केही आत्मा लिनुभयो र यसलाई सत्तरी जना धर्म-गुरुमाथि राखिदिनुभयो । तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरूले अगमवाणी गरे, तर त्‍यस बेला मात्र र फेरि अगमवाणी गरेनन् ।26 एल्दाद र मेदाद नाउँ गरेका दुई जना छाउनीमा नै बसे । आत्मा तिनीहरूमाथि पनि आउनुभयो । सूचीमा तिनीहरूका नाउँ पनि उल्लेख गरिएको थियो, तर तिनीहरू पालमा गएका थिएनन् । तथापि तिनीहरूले छाउनीमा नै अगमवाणी गरे ।27 छाउनीमा भएका एक जना जवान दौडेर गएर मोशालाई भने, “एल्दाद र मेदादले छाउनीमा नै अगमवाणी गरिरहेका छन् ।28 मोशाका सहायक, तिनका चुनिएका एक जना अर्थात् नूनका छोरा यहोशूले मोशालाई भने, “मालिक, तिनीहरूलाई रोक्‍नुहोस् ।29 मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्‍छौ ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्ताहरू भए कति राम्रो हुन्‍थ्यो !30 मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्केर गए ।31 त्‍यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो । तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे । बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके ।32 मानिसहरू त्‍यस दिनभरि, रातभरि र अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए । कसैले पनि पच्‍चीस मुरी भन्‍दा कम बटुलेन । तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए ।33 मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्‌कर रोगले प्रहार गर्नुभयो ।34 त्‍यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने मासुको लालसा गर्ने मानिसहरूलाई तिनीहरूले त्‍यहाँ गाडे ।35 किब्रोथ-हत्तावाबाट मानिसहरू हसेरोततिर गए, जहाँ तिनीहरू बसे ।