16
हारूनका दुई छोरा परमप्रभुको अगि गएका कारण तिनीहरूको मृत्‍यु भएपछि परमप्रभु मोशासँग बोल्‍नुभयो ।2 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरा दाजु हारूनलाई मनपरी समयमा सन्‍दूकमाथिको प्रायश्‍चित-आसनको अगि पर्दाभित्रको महा-पवित्र स्थानमा नआओस् भन् । त्‍यसले त्‍यस्तो गरे त्‍यो मर्नेछ, किनभने प्रायश्‍चित-आसनमाथि बादलमा म प्रकट हुनेछु ।3 यसैकारण हारून महा-पवित्र स्थानभित्र यसरी प्रवेश गरोस् । त्‍यसले पापबलिको रूपमा एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा लिएर आओस् ।4 त्‍यसले सूतीको पवित्र दौरा, र सूतीको भित्री वस्‍त्र पहिरोस्, र सूतीको पटुका र सूतीको फेटा लगाओस् । यी पवित्र पोशाक हुन् । त्‍यसले आफ्‍नो शरीर पानीले नुहाएर यी पोशाक लगाओस् ।5 त्‍यसले इस्राएलका मानिसहरूको समुदायबाट पापबलिको रूपमा दुई वटा बोका र होमबलिको रूपमा एउटा भेडा लेओस् ।6 अनि हारूनले साँढेलाई पापबलिको रूपमा अर्पण गरोस्, जुन त्‍यो आफै र आफ्‍नो परिवारको लागि प्रायश्‍चित गर्नका निम्ति हुनेछ ।7 त्‍यसपछि त्‍यसले दुई वटा बोका लिएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको अगि तयार गरोस् ।8 अनि हारूनले ती दुई बोकाका निम्ति चिट्ठा हालोस्, एउटा चिट्ठाचाहिँ परमप्रभुको निम्ति अर्पण गर्नलाई, र अर्कोचाहिँ छोडिने बोकाको निम्ति ।9 चिट्ठामा परमप्रभुको भागमा परेको बोकालाई हारूनले पापबलिको निम्ति अर्पण गरोस् ।10 तर छोडिनको निम्ति चिट्ठा परेको बोकालाईचाहिँ उजाड-स्थानमा छोडेर प्रायश्‍चित गर्नको निम्ति परमप्रभुको अगि जीवितै ल्याइयोस् ।11 त्‍यसपछि हारूनले आफ्‍नै निम्ति साँढेलाई पापबलिको रूपमा अर्पण गरोस् । त्‍यसले आफ्नो र आफ्नो परिवारको निम्ति प्रायश्‍चित गरोस्, र यसैकारण आफ्नै निम्ति पापबलिको रूपमा त्‍यसले साँढेलाई मारोस् ।12 हारूनले वेदीबाट आगोका फिलिङ्‌गाहरूले भरिएको एउटा धुपौरो र आफ्ना हातमा मसिनो गरी पिसिएको सुगन्धित धुप लिएर पर्दाभित्र परमप्रभुको सामु ल्याओस् ।13 त्‍यहाँ त्‍यसले परमप्रभुको सामु भएको आगोमा धुप राखोस् ताकि करारको सन्‍दूकमाथिको प्रायश्‍चित-आसनलाई त्‍यस धुपबाट निस्‍केको बादलले ढाकोस् । त्‍यो नमरोस् भनेर त्‍यसले यो गरोस् ।14 अनि त्‍यसले साँढेको केही रगत लिएर प्रायश्‍चित-आसनको सामु आफ्नो औँलाले छर्कोस् । त्‍यसले प्रायश्‍चित-आसनको सामु औँलाले सात पटक रगत छर्कोस् ।15 त्‍यसपछि त्‍यसले मानिसहरूका निम्ति पापबलिको बोकालाई मारोस् र त्‍यसको रगत पर्दाभित्र ल्याओस् । त्‍यसले त्‍यहाँ साँढेको रगतलाई जे गरेको थियो, बोकाको रगतलाई पनि त्‍यस्‍तै गरोस्, अर्थात् त्‍यसले त्‍यो रगत प्रायश्‍चित-आसनमाथि र त्‍यसपछि प्रायश्‍चित-आसनको सामु छर्कोस् ।16 इस्राएलका मानिसहरूका अशुद्ध कामहरू, तिनीहरूको विद्रोह र तिनीहरूका सारा पापको कारण पवित्रस्थानको निम्ति त्‍यसले प्रायश्‍चित गरोस् । त्‍यसले यो भेट हुने पालको निम्ति पनि गरोस्, जहाँ तिनीहरूका अशुद्ध कामहरूका बीचमा परमप्रभु तिनीहरू माझमा बास गर्नुहुन्‍छ ।17 हारून महा-पवित्र स्थानमा प्रायश्‍चित गर्नको निम्ति प्रवेश गरेपछि त्‍यसले आफ्नो, आफ्नो परिवार र इस्राएलका सबै समुदायको निम्ति प्रायश्‍चित गर्न सकेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र नपसोस् ।18 परमप्रभुको सामु भएको वेदीको नजिक त्‍यो जाओस् र त्‍यसको निम्ति प्रायश्‍चित गरोस्, र साँढे र बोकाको केही रगत लिएर त्‍यसले वेदीका सीङहरूका चारैतिर लगाओस् ।19 त्‍यसले त्‍यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्‍ग गर्नलाई त्‍यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।20 त्‍यसले महा-पवित्र स्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्‍चित गरेर सक्‍काएपछि त्‍यसको जिउँदो बोका अर्पण गरोस् ।21 हारूनले आफ्ना दुवै हात त्‍यस जिउँदो बोकाको शिरमा राखोस् र त्‍यसमाथि इस्राएलका मानिसहरूका सबै दुष्‍टता, तिनीहरूका सबै विद्रोह, र सबै पापलाई मानिलिओस् । त्‍यसपछि त्‍यसले त्‍यस बोकाको शिरमाथि त्‍यो पाप राखोस् र त्‍यस बोकालाई उजाड-स्थानतर्फ डोर्‍याउन तयार भएको मानिसको जिम्मामा दिओस् ।22 त्‍यस बोकाले मानिसहरूका सबै दुष्‍टतालाई आफूमाथि बोकी एउटा एकान्‍त ठाउँमा जाओस् । उता उजाड-स्थानमा त्‍यस मानिसले त्‍यो बोकालाई छोडिदिओस् ।23 त्‍यसपछि हारून फर्केर भेट हुने पालमा जाओस् र महा-पवित्र स्थानमा जानुअगि त्‍यसले लगाएका सूतीका लुगाहरू फुकालोस्, र ती लुगाहरूलाई त्‍यहीँ नै छोडोस् ।24 त्‍यसले कुनै पवित्र स्थानमा आफ्नो शरीर पानीले नुहाओस्, र आफ्ना साधारण लुगा लगाओस्, र त्‍यसपछि त्‍यो गएर आफ्ना मानिसहरूका निम्ति होमबलि अर्पण गरोस् अनि यसरी आफ्नो र मानिसहरूका निम्ति प्रायश्‍चित गरोस् ।25 त्‍यसले वेदीमा पापबलिको बोसोलाई जलाओस् ।26 छोडिने बोकालाई जान दिने मानिसले आफ्ना लुगाहरू र आफ्नो शरीर पानीले धोओस्, र त्‍यसपछि त्‍यो छाउनीभित्र फर्कन सक्‍छ ।27 पापबलिको निम्ति साँढे र बोका, जसको रगत पवित्र स्थानमा प्रायश्‍चित गर्नका निम्ति ल्याइएको थियो, ती दुवैलाई छाउनी भन्‍दा बाहिर लगिओस् । त्‍यहाँ तिनीहरूले त्‍यसका छाला, मासु र गोबर जलाउनेछन् ।28 ती भागहरू जलाउने मानिसले आफ्ना लुगाहरू धोओस् र आफ्नो शरीर पानीले नुहाओस्, र त्‍यसपछि त्‍यो छाउनीभित्र आउन मिल्छ ।29 यो तिमीहरूका निम्ति सधैँ एउटा विधि बनोस्, कि सातौँ महिनाको दसौँ दिनमा, तिमीहरूका बीचमा जन्‍मेको वा तिमीहरूका बीचमा बास गर्ने परदेशी सबैले आफैलाई नम्र बनाओस् र कुनै काम नगरोस् ।30 किनभने तिमीहरूका सबै पापबाट तिमीहरूलाई शुद्ध गर्नका निम्ति यस दिनमा तिमीहरूका खातिर प्रायश्‍चित गरिनेछ, यसैकारण तिमीहरू परमप्रभुको अगि शुद्ध हुनेछौ ।31 यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो, र तिमीहरूले आफैलाई नम्र बनाउनुपर्छ र कुनै काम गर्नु हुँदैन । यो तिमीहरूका बीचमा सधैँ एउटा विधि हुनेछ ।32 आफ्नो पिताको स्थानमा प्रधान पूजाहारी हुनको निम्ति अभिषेक भएको र नियुक्त भएको प्रधान पूजाहारीले यसरी प्रायश्‍चित गरोस् र पवित्र लुगाहरू, अर्थात् सूतीका लुगाहरू लगाओस् ।33 त्‍यसले महा-पवित्र स्थान, भेट हुने पाल, वेदी, पूजाहारीहरू र समुदायका सबै मानिसहरूका निम्ति प्रायश्‍चित गरोस् ।34 इस्राएलका मानिसहरूका सबै पापका कारण यो सधैँका लागि तिमीहरूले तिनीहरूका निम्ति वर्षमा एक पटक प्रायश्‍चित गर्ने विधि होस् ।” परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै यो भयो ।