7
परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्‍वर जस्‍तै बनाएको छु । तेरो दाजु हारून तेरो अगमवक्ता हुनेछ ।2 मैले तँलाई आज्ञा गरेको हरेक कुरो तैँले भन्‍नू । फारोको देशबाट इस्राएलका मानिसहरूलाई जान दिइयोस् भन्‍नाका लागि तेरो दाजु हारूनले फारोसित बोल्नेछ ।3 तर म फारोको हृदय कठोर पार्नेछु, र मिश्र देशमा मेरो शक्तिमा धेरै चिन्हहरू, अचम्मका कामहरू देखाउनेछु ।4 तर फारोले तेरो कुरा सुन्‍नेछैन । त्‍यसैले म मेरो हात मिश्रमाथि पसारी ठूला-ठूला दण्डका क्रियाकलापहरूद्वारा मेरा योद्धाहरू, मेरो जाति र इस्राएलका सन्‍तानहरूलाई मिश्र देशबाट निकालेर ल्याउनेछु ।5 मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बीचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।6 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे ।7 फारोसित कुरा गर्दा मोशा असी वर्षका थिए भने हारून त्रियासी वर्षका थिए ।8 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,9 “फारोले तिमीहरूलाई ‘आश्‍चर्यकर्म गर्’ भन्‍दा तैँले हारूनलाई भन्‍नू, ‘तपाईंको लट्ठी लिएर त्‍यसलाई फारोको सामुन्‍ने फ्याँक्‍नुहोस् अनि त्‍यो सर्प बन्‍नेछ’ ।10 तब मोशा र हारून फारोकहाँ गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे । हारूनले फारो र तिनका अधिकारीहरूका सामु आफ्नो लट्ठी फ्याँके र त्‍यो सर्प भयो ।11 तब फारोले आफ्ना बुद्धिमानी मानिस र टुनामुना गर्नेहरूलाई डाके । तिनीहरूका जादुद्वारा तिनीहरूले पनि उही कुरो गरे ।12 हरेक मानिसले आ-आफ्नो लट्ठी फ्याँके र ती लट्ठीहरू सर्प बने । तर हारूनको लट्ठीले तिनीहरूका सर्पहरूलाई निलिदियो ।13 फारोको हृदय कठोर पारियो, र परमप्रभुले पहिले भन्‍नुभएझैँ तिनले उनीहरूका कुरा सुनेनन् ।14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोको हृदय कठोर छ, त्‍यसले मानिसहरूलाई जान दिन इन्कार गर्छ ।15 फारो नदीतिर जाने बेलामा बिहानै त्‍यसकहाँ जा । त्‍यसलाई भेट्न नदीको तटमा उभेर बस् र सर्प बनेको लट्ठी तेरो हातमा लिएर जा ।16 त्‍यसलाई भन्, “परमप्रभु हिब्रूहरूका परमेश्‍वरले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, ‘मेरो जातिलाई जान दे ताकि तिनीहरू उजाड-स्थानमा गएर मेरो आराधना गर्न सकून् । तैँले अहिलेसम्म मानेको छैनस् ।’17 परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘यसद्वारा म परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस् । मेरो हातमा भएको यस लट्ठीले म नील नदीको पानीलाई प्रहार गर्नेछु र नदी रगतमा परिणत हुनेछ ।18 नदीमा भएका माछाहरू मर्नेछन्, र नदी गन्हाउनेछ । मिश्रीहरूले नदीबाट पानी पिउन सक्‍नेछैनन्’ ।19 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लट्ठी लिई मिश्रका पानी, नदीहरू, खोलाहरू, तालहरू र पोखरीहरूमा तपाईंको हात पसार्नुहोस् र ती पानी रगत बन्‍नेछन् । यसो गर्नुहोस् ताकि मिश्र देशभरि जताततै रगत होस्, यहाँसम्म कि काठ र ढुङ्‌गाहरूका भाँडाकुँडाहरूमा पनि रगत होस्’ ।20 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे । हारूनले लट्ठी उठाएर फारो र तिनका अधिकारीहरूका सामुन्‍ने त्‍यसलाई नदीमा पसारे । सबै पानी रगतमा परिणत भए ।21 नदीका माछाहरू मरे र पानी गन्हाउन थाल्यो । मिश्रीहरूले नदीको पानी पिउन सकेनन्, र मिश्र देशैभरि जताततै रगतै-रगत थियो ।22 तर मिश्रका जादूगरहरूले पनि आफ्नो जादुद्वारा त्‍यसै गरे । त्‍यसकारण परमप्रभुले भन्‍नुभएझैँ फारोको हृदय कठोर भयो र तिनले मोशा र हारूनको कुरा सुनेनन् ।23 तब फारो फर्केर आफ्नो घर गए । तिनले यसमा ध्‍यान पनि दिएनन् ।24 सबै मिश्रीले पिउने पानीको लागि नदीको वरिपरि खने, तर तिनीहरूले नदीकै पानी भने पिउन सकेनन् ।25 परमप्रभुले नदीमा आक्रमण गर्नुभएको सात दिन भएको थियो ।