29
तब याकूब आफ्‍नो बाटो लागे र पूर्वका मानिसहरूको देशमा पुगे ।2 तिनले हेर्दा मैदानमा एउटा इनार देखे, र त्‍यसको नजिक भेडाका तीन वटा बगाल बसिरहेका थिए । किनकि त्‍यही इनारबाट तिनीहरूले बगाललाई पानी खुवाउँथे, र इनारको मुख ढाक्‍ने ढुङ्‌गा ठूलो थियो ।3 सबै बगालहरू त्‍यहाँ जम्‍मा भएपछि गोठालाहरूले इनारको मुखबाट ढुङ्‌गा गुडाएर भेडाहरूलाई पानी खान दिन्‍थे । त्‍यसपछि तिनीहरूले त्‍यो ढुङ्‌गालाई इनारको मुखमा फेरि पहिलेकै ठाउँमा राखिदिन्‍थे ।4 याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ ?” तिनीहरूले भने, “हामी हारानका हौँ ।5 उनले तिनीहरूलाई भने, “तिमीहरू नाहोरका छोरो लाबानलाई चिन्‍छौ ?” तिनीहरूले भने, “हामी तिनलाई चिन्‍छौँ ।6 उनले तिनीहरूलाई सोधे, “के उहाँ सन्‍चै हुनुहुन्‍छ ?” तिनीहरूले भने, “उहाँ सन्‍चै हुनुहुन्‍छ, र हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन्‌ ।7 याकूबले भने, “हेर, मध्‍य दिन भएको छ । भेडा-बाख्राहरूलाई जम्‍मा गर्ने बेला भएको छैन । भेडाहरूलाई पानी खुवाएर जाओ र तिनीहरूलाई चर्न देओ ।8 तिनीहरूले भने, “सबै बगालहरू जम्‍मा नभई हामी तिनीहरूलाई पानी खुवाउन सक्दैनौँ । त्‍यसपछि यी मानिसहरूले इनारको मुखको ढुङ्‌गो हटाउनेछन्, अनि हामी भेडाहरूलाई पानी खुवाउनेछौँ ।9 याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला, राहेल आफ्‍ना बुबाका भेडाहरू लिएर त्‍यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् ।10 जब याकूबले आफ्‍ना मामा लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, याकूबले नजिक आएर इनारको मुखको ढुङ्‌गा गुडाए, अनि आफ्‍ना मामा लाबानका भेडाहरूलाई पानी खुवाए ।11 तब याकूबले राहेललाई चुम्बन गरे र डाको छोडेर रोए ।12 याकूबले राहेललाई आफू तिनका बाबुको नातेदार र रिबेकाको छोरा भएको कुरा बताए । तब राहेल दौडेर गइन्‌ र आफ्‍ना बाबुलाई यो कुरा बताइन्‌ ।13 आफ्‍ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्‌नलाई दौडेर गएर तिनलाई अँगालो हालेर चुम्‍बन गरे, अनि तिनलाई आफ्‍नो घरमा ल्‍याए । याकूबले लाबानलाई सबै कुरा बताइदिए ।14 लाबानले तिनलाई भने, “वास्‍तवमा तिमी मेरो हाड र मासु हौ ।” त्‍यसपछि याकूब तिनीसँग करिब एक महिना बसे ।15 त्‍यसपछि लाबानले याकूबलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र ? तिम्रो ज्‍याला कति हो मलाई भन ।16 लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्‍छीको नाउँ राहेल थियो ।17 लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ शारीरिक रूपमा सुडौल र हेर्नमा सुन्‍दरी थिइन्‌ ।18 याकूबले राहेललाई प्रेम गरे, त्‍यसैले तिनले भने, “तपाईंकी कान्‍छी छोरी राहेलको निम्‍ति म सात वर्षसम्‍म तपाईंको सेवा गर्नेछु ।19 लाबानले भने, “त्‍यसलाई अर्को मानिसलाई दिनु भन्‍दा त तिमीलाई दिनु नै असल हो । मसँगै बस ।20 यसकारण याकूबले राहेलको निम्‍ति सात वर्षसम्‍म सेवा गरे । राहेलप्रति तिनको प्रेमको कारण तिनलाई त्‍यो समय तिनलाई थोरै दिन जस्‍तो लाग्‍यो ।21 त्‍यसपछि याकूबले लाबानलाई भने, “मैले सेवा गर्ने दिनहरू पूरा भएको हुनाले मलाई मेरी पत्‍नी दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ ।22 तब लाबानले त्‍यस ठाउँका सबै मानिसहरू जम्‍मा गरेर भोज दिए ।23 साँझमा उनले आफ्‍नी छोरी लेआलाई याकूबकहाँ ल्‍याइदिए, र याकूबले तिनीसँग सहवास गरे ।24 लाबानले आफ्‍नी कमारी जिल्‍पालाई आफ्‍नी छोरी लेआकी कमारी हुनलाई दिए ।25 याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्‌ । तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको ? मैले राहेलको निम्‍ति सेवा गरेको होइन र ? त्‍यसो भए तपाईंले किन मसित छल गर्नुभयो ?26 लाबानले भने, “जेठीको भन्‍दा कान्‍छीको विवाह अगि गर्ने रीति हामीकहाँ छैन ।27 यो छोरीसँग एक साता पूरा गर, र अर्को सात वर्ष मेरो सेवाको सट्टामा म तिमीलाई अर्की पनि दिनेछु ।28 याकूबले त्‍यसै गरे, र लेआसँग एक साता पूरा गरे । तब लाबानले आफ्‍नी छोरी राहेललाई पनि याकूबकी पत्‍नीको रूपमा दिए ।29 लाबानले आफ्‍नी कमारी बिल्‍हालाई आफ्‍नी छोरी राहेलकी कमारी हुनलाई दिए ।30 त्‍यसैले याकूबले राहेलसँग पनि सहवास गरे, तर तिनले लेआलाई भन्‍दा राहेललाई बढी प्रेम गर्थे । यसकारण याकूबले थप सात साल लाबानको सेवा गरे ।31 लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्‍नुभयो, त्‍यसैले उहाँले तिनको कोख खोलिदिनुभयो । तर राहेलका सन्‍तान भएका थिएनन् ।32 लेआले गर्भवती भएर एक छोरो जन्‍माइन्, र तिनले यसो भनेर त्‍यसको नाम रूबेन राखिन् । “साँच्‍ची नै परमप्रभुले मेरो दुःख देख्‍नुभएको छ, अब त मेरा पतिले निश्‍चय नै मलाई प्रेम गर्नुहुनेछ ।33 तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्‍माइन्‌ । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्‍वरले सुन्‍नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो”, र तिनले त्‍यसको नाउँ शिमियोन राखिन्‌ ।34 तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तीन जना छोरा पाइसकेँ ।” यसकारण त्‍यसको नाउँ लेवी राखियो ।35 तिनी फेरि गर्भवती भएर छोरो पाइन्‌ र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्‍यसको नाउँ यहूदा राखियो । त्‍यसपछि तिनले जन्‍माउन छोडिन्‌ ।