28
इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैँले कनानी स्‍त्रीहरूबाट आफ्नो निम्ति पत्‍नी नलिनू ।2 पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌ ।3 सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्; तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्‍न सक्‍नेछस् ।4 उहाँले तँलाई र तँ पछिका तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, ताकि परमेश्‍वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस्‌ ।5 यसरी इसहाकले याकूबलाई पठाए । तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए ।6 अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्‍नी ल्‍याउन त्‍यहाँबाट पद्दन-आराममा पठाएको देखे । याकूबले तिनलाई आशीर्वाद दिएर यस्तो आज्ञा दिएको पनि उनले देखे “तैँले कनानी स्‍त्रीहरूबाट आफ्नो निम्ति पत्‍नी नलिनू ।7 याकूबले आफ्ना बाबुआमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएको पनि एसावले देखे ।8 कनानी स्‍त्रीहरू आफ्ना बुबालाई मनपर्दैन रहेछ भन्‍ने एसावले थाहा पाए ।9 तब एसाव इश्‍माएलकहाँ गए, र उनका आफ्‍ना पत्‍नीहरूबाहेक अब्राहामका छोरा इश्‍माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए ।10 याकूब बेर्शेबा छोडेर हारानतिर लागे ।11 कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्‍ताएको हुनाले तिनी त्‍यस रात त्‍यहीँ वास बसे । त्‍यस ठाउँमा भएका ढुङ्‌गाहरूमध्‍येबाट एउटा लिएर आफ्‍नो सिरान बनाई त्‍यही ठाउँमा सुत्‍नलाई पल्‍टे ।12 तिनले पृथ्वीमा खडा गरिएको एउटा भर्‍याङको सपना देखे । त्‍यसको टुप्‍पाचाहिँ आकाशसम्‍मै पुगेको रहेछ र परमेश्‍वरका दूतहरू त्‍यसमा उक्‍लने र ओर्लने गर्दा रहेछन्‌ ।13 परमप्रभुले त्‍यसमाथि उभिएर याकूबलाई भन्‍नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्‍वर र इसहाकका परमेश्‍वर हुँ । जुन भूमिमा तँ ढल्‍किरहेको छस्‌ त्‍यो म तँलाई र तेरा सन्‍तानहरूलाई दिनेछु ।14 तेरा सन्‍तान पृथ्‍वीको धूलोसरह हुनेछन्‌ । तँ पूर्व, पश्‍चिम, उत्तर र दक्षिणतिर फैलिएर जानेछस्‌ । तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशिषित् हुनेछन्‌ ।15 हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि म तेरो रक्षा गर्नेछु । म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु । किनकि मैले तँलाई प्रतिज्ञा गरेका कुरा पूरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ ।16 तब याकूबले निद्राबाट ब्‍युँझेर भने, “निश्‍चय नै परमप्रभु यस ठाउँमा हुनुहुँदोरहेछ, र मलाई यो थाहा थिएन ।17 तिनले डराएर भने, “यो ठाउँ कस्‍तो भययोग्‍य रहेछ । यो त परमेश्‍वरको घरबाहेक अरू केही होइन । यो त स्‍वर्गको ढोका हो ।18 याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्‌गा लिए । त्‍यसलाई खामो जस्‍तै गरी खडा गरेर त्‍यसको टुप्‍पामा तेल खन्‍याए ।19 तिनले त्‍यस ठाउँको नाउँ बेथेल राखे । पहिले त्‍यस ठाउँको नाउँ लूज थियो ।20 तब याकूबले यसो भनेर भाकल गरे, “यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्‍त्र दिनुभयो21 भने म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा फर्कन्‍छु, अनि परमप्रभु नै मेरा परमेश्‍वर हुनुहुनेछ ।22 त्‍यसपछि मैले खामो बनाएको यो ढुङ्‌गाचाहिँ पवित्र ढुङ्‌गा हुनेछ । तपाईंले मलाई दिनुभए जति सबै थोकको दशांश म तपाईंलाई अवश्‍य चढाउनेछु ।”