20
अब्राहाम त्‍यहाँबाट नेगेवको भूमितर्फ गए, र कादेश र शूरको बीचमा बसे । उनी गरारमा बसोबास गर्ने एक परदेशी थिए ।2 अब्राहामले आफ्नी पत्‍नी साराको बारेमा यस्तो भनेका थिए, “यिनी मेरी बहिनी हुन् ।” यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए ।3 तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्‍नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्‍त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्‍यो अरू कसैकी पत्‍नी हो ।4 अबीमेलेक तिनको नजिक गएका थिएनन् र उनले भने, “परमप्रभु के तपाईंले धार्मिक जातिलाई पनि मार्नुहुन्‍छ र ?5 के त्‍यो आफैँले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेर भनेको थिएन र ? त्‍यस स्‍त्रीले पनि, ‘तिनी मेरा दाजु हुन्’ भनेर भनेकी थिई । मेरो हृदयको इमान्‍दारी र मेरा निर्दोष हातद्वारा मैले यो गरेको हुँ ।6 त्‍यसपछि परमप्रभुले तिनलाई सपनामा भन्‍नुभयो, “हो, यो मलाई पनि थाहा छ, कि तैँले आफ्नो हृदयको इमान्‍दारीमा यो गरिस्, र मैले नै तँलाई मेरो विरूद्ध पाप गर्नबाट बचाएँ । यसैकारण मैले तँलाई त्‍यस स्‍त्रीलाई छुन दिइनँ ।7 यसैकारण, त्‍यस मानिसकी पत्‍नीलाई फर्काइदे, किनभने त्‍यो एउटा अगमवक्ता हो । त्‍यसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्‍नेछस् । तर यदि तैँले त्‍यसलाई फर्काइनस् भने, यो थाहा गर्, कि तँ र तेरा सबै निश्‍चय नै मर्नेछन् ।8 अबीमेलेक बिहानै उठे र आफ्ना सबै नोकरहरूलाई बोलाए । तिनले यी सबै कुरा ती मानिसहरूलाई बताए, र तिनीहरू धेरै डराए ।9 त्‍यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्‍यौ ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्‍यमाथि यति ठूलो पाप ल्यायौ ? तिमीले मसित गर्न नहुने काम गर्‍यौ ।10 अबीमेलेकले अब्राहामलाई भने, “के कुराले तिमीलाई यस्तो काम गर्न लगायो ?11 अब्राहामले भने, “किनभने यस ठाउँमा निश्‍चय नै परमप्रभुको कुनै भय छैन र तिनीहरूले मलाई मेरी पत्‍नीको कारणले मार्नेछन् भनी मैले विचार गरेँ ।12 हुन त यिनी मेरो बुबाकी छोरी मेरी बहिनी हुन्, तर यिनी मेरी आमाकी छोरी होइनन्, र यिनी मेरी पत्‍नी भइन् ।13 जब परमप्रभुले मलाई मेरो बुबाको घर त्‍यागेर एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्न लगाउनुभयो, मैले तिनलाई भनेँ, ‘तिमी मेरी पत्‍नी भएकी कारणले हामी जाने हरेक ठाउँमा, मेरो विषयमा “उनी मेरा दाजु हुन्” भन्‍ने बताएर तिमीले मेरो निम्ति विश्‍वसनीयता देखाउनू’ ।14 त्‍यसपछि अबीमेलेकले अब्राहामलाई भेडाहरू, गोरुहरू, र कमारा-कमारीहरू दिए । तिनले अब्राहामकी पत्‍नी सारालाई पनि उनीकहाँ फर्काइदिए ।15 अबीमेलेकले भने, “हेर, मेरो भूमि तिम्रै अगि छ । जहाँ तिमीलाई मनपर्छ त्‍यहीँ बस ।16 सारालाई तिनले भने, “हेर, मैले तिम्रो दाजुलाई चाँदीका हजार सिक्‍काहरू दिएको छु । तिमीसँग भएका सबैका आँखामा तिम्रो विरुद्धमा भएका सबै दोष ढाक्‍न मैले यो गरेको हुँ, र सबैको अगि तिमीलाई पूर्ण रूपमा सही ठहराएको छु ।17 त्‍यसपछि अब्राहामले परमप्रभुसँग प्रार्थना गरे, र उहाँले अबीमेलेक, तिनकी पत्‍नी, र तिनका कमारीहरूलाई निको पार्नुभयो र तिनीहरूले छोरीछोरी जन्‍माउन सके ।18 किनभने अब्राहामकी पत्‍नी साराको कारण अबीमेलेकको घरानाका सबै स्‍त्रीलाई परमप्रभुले बाँझी बनाउनुभएको थियो ।