19
साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए । उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे ।2 तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्,आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्न सक्नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ ।3 तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे । तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए ।4 तर उनीहरू सुत्नअगि सदोम सहरका सबै युवा र जवान, र सहरका सबै भागबाट सबै मानिसहरू आएर त्यस घरलाई घेरे ।5 तिनीहरूले लोतलाई बोलाएर भने, “साँझ तिमीकहाँ आएका मानिसहरू कहाँ छन् ? उनीहरूलाई बाहिर हामीकहाँ ल्याऊ, ताकि हामी तिनीहरूसँग सुत्न सकौँ ।6 यसैकारण लोत ढोकाबाट बाहिर मानिसहरूकहाँ निस्के र आफू निस्केपछि ढोका थुनिदिए ।7 तिनले भने, “मेरा भाइहरू, म बिन्ती गर्दछु, यस्तो दुष्ट काम नगर्नुहोस् ।8 हेर्नुहोस्, मेरा दुई छोरी छन् जो कुनै मानिससँग सुतेका छैनन् । म बिन्ती गर्दछु, मेरा छोरीहरूलाई तपाईंहरूकहाँ ल्याउन दिनुहोस्, र तपाईंहरूको नजरमा जे असल लाग्छ तिनीहरूसँग त्यही गर्नुहोस् । केवल यी मानिसहरूलाई केही नगर्नुहोस्, किनभने उनीहरू मेरो छतको छायामुनि आएका पाहुना हुन् ।9 तिनीहरूले भने, “पछि हट् !” तिनीहरूले यसो पनि भने, “यो यहाँ परदेशी भएर बस्न आएको थियो, र अहिले हाम्रो न्यायकर्ता भएको छ ! अब हामी तिनीहरूलाई भन्दा तँलाई नराम्रो व्यवहार गर्नेछौँ ।” तिनीहरूले ती मानिसहरू र लोतको विरुद्धमा दबाब दिए, र ढोका भत्काउनको निम्ति नजिक आए ।10 तर ती मानिसहरूले आफ्ना हात निकालेर लोतलाई तिनीहरूसँगै घरभित्र ताने र ढोका बन्द गरिदिए ।11 त्यसपछि लोतका पाहुनाहरूले घरको ढोकाबाहिर भएका मानिसहरू, जवान र वृद्ध दुवैलाई प्रहार गरी अन्धा बनाइदिए, र तिनीहरू ढोका खोज्ने प्रयास गर्दा-गर्दै थाके ।12 त्यसपछि ती मानिसहरूले लोतलाई भने, “के तिमीकहाँ अरू कोही छन् ? जुवाइँ, छोराहरू, छोरीहरू, र यस सहरमा तिम्रा जो कोही छन्, सबैलाई यस सहरबाट बाहिर लैजाऊ ।13 किनभने हामीले यो ठाउँलाई नष्ट गर्न लागेका छौँ, किनभने परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठूला भएका छन्, कि उहाँले हामीलाई यस सहरलाई नष्ट पार्न पठाउनुभएको छ ।14 लोत बाहिर गए, र तिनले आफ्ना छोरीहरूलाई विवाह गर्न प्रतिज्ञा गरेका जुवाइँहरूसँग यसो भने, “छिट्टै, यस ठाउँबाट निस्किहाल, किनभने परमप्रभुले यस सहरलाई नष्ट पार्न लाग्नुभएको छ ।” तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेझैँ लाग्यो ।15 जब झिसमिसे बिहान भयो, ती स्वर्गदूतहरूले लोतलाई यसो भने, “जाऊ, यहाँ भएका तिम्री पत्नी र तिम्रा छोरीहरूलाई लैजाऊ, र यस सहरको दण्डमा तिमी नष्ट हुनेछैनौ ।16 तर तिनले अलमल गर्न थाले । त्यसैकारण ती मानिसहरूले लोत,तिनकी पत्नी, र तिनका दुई छोरीका हातहरू समाते, किनभने परमप्रभु तिनीप्रति दयालु हुनुहुन्थ्यो । उनीहरूले तिनीहरू सबैलाई बाहिर निकाले,र सहरबाहिर पठाए ।17 जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले, ती मानिसहरूमध्ये एकजनाले भने, “आफ्नो प्राण बचाउनको निम्ति भाग ! पछाडि फर्की नहेर, वा कतै समतल ठाउँमा नबस । पहाडहरूतिर भाग र तिमीहरूनष्ट हुनेछैनौ ।18 लोतले तिनीहरूलाई भने, “होइन, मेरा मालिकहरू !19 तपाईंका दृष्टिमा तपाईंको दासले कृपा पाएको छ, र मेरो प्राण बचाउनको निम्ति ममाथि तपाईंहरूले ठूलो दया देखाउनुभएको छ, तर म पहाडहरूतिर भाग्न सक्दिनँ, किनभने ममाथि विपत्ति आइलाग्नेछ र म मर्नेछु ।20 हेर्नुहोस्, त्यहाँको सहर भाग्नको निम्ति नजिक छ, र त्यो सानो पनि छ । कृपया, मलाई त्यहाँ भाग्न दिनुहोस् (के त्यो सानोचाहिँ होइन र ?), र मेरो जीवन बच्नेछ ।21 उनले तिनलाई भने, “ठीक छ, म तिम्रो यो अनुरोध पनि पूरा गर्नेछु र तिमीले उल्लेख गरेको त्यस सहर म नष्ट गर्दिनँ ।22 छिटो गर ! त्यहाँ भाग, किनभने तिमी त्यहाँ नपुगेसम्म म केही गर्न सक्दिनँ ।” यसैकारण त्यस सहरलाई सोअर भनियो ।23 लोत सोहर पुग्दा घाम उदाइसकेको थियो ।24 त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो ।25 उहाँले ती सहरहरू, सबै समतल भूमि, र ती सहरहरूका बासिन्दाहरू, र भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्ट पार्नुभयो ।26 तर लोतकी पत्नीले पछाडि फर्केर हेरिन्, जो तिनको पछि-पछि थिइन्, र तिनी नूनको ढिक्का बनिन् ।27 अब्राहाम बिहान सबेरै उठे र तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए ।28 उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धूवाँझैँ माथितिर धूवाँ आइरहेको देखे ।29 परमेश्वरले समतल भूमिका सहरहरूलाई नष्ट गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो । उहाँले लोतले बसोबास गरेका सहरहरूलाई नष्ट गर्नुहुँदा, लोतलाई त्यस विनाशको माझबाट बाहिर निकाल्नुभयो ।30 तर लोत आफ्ना दुई छोरीसँग सोअरबाट पहाडहरूमा बसोबास गर्न गए, किनभने तिनी सोअरमा बस्न डराए । यसैकारण, तिनी र तिनका दुई छोरीहरू एउटा गुफामा बसे ।31 जेठीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भएका छन्, र सारा संसारको रीतिअनुसार हामीसँग सुत्ने कहीँ पनि कोही मानिस छैन ।32 आऊ, हाम्रो बुबालाई मद्य पिउन लगाऔँ, अनि हाम्रो बुबाको वंशलाई विस्तार गर्न हामी उहाँसँग सुतौँ ।33 यसैकारण त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पिउन लगाए । त्यसपछि जेठीचाहिँ भित्र गइन् र आफ्ना बुबासँग सुतिन्; तिनी कहिले सुतिन् र कहिले उठिन् भन्ने उनलाई पत्तो नै भएन ।34 अर्को दिन जेठीले कान्छीलाई भनिन्, “सुन, गएको रात म मेरो बुबासँग सुतेँ । आजको रातमा पनि उहाँलाई मद्य पिउन लगाऔँ, र हाम्रो बुबाको वंश विस्तार गर्नको निम्ति तिमी गएर उहाँसँग सुत ।35 यसैकारण, तिनीहरूले आफ्ना बुबालाई त्यस रात पनि मद्य पिउन लगाए, र कान्छीचाहिँ गएर उनीसँग सुतिन् । तिनी कहिले सुतिन् र कहिले उठिन् भन्ने उनलाई पत्तो नै भएन ।36 यसरी लोतका दुवै छोरीहरू आफ्ना बुबाबाट गर्भवती भइन् ।37 जेठीले एउटा छोरो जन्माइन्, र त्यसको नाउँ मोआब राखिन् । वर्तमान समयका मोआबीहरूका पुर्खा उनी नै हुन् ।38 कान्छी छोरीले पनि एउटा छोरा जन्माइन्, र त्यसको नाउँ बेन-अमी राखिन् । वर्तमान समयका अम्मोनीहरूका पुर्खा उनी नै हुन् ।