14
यो अम्रापेल, एल्लासारका राजा अर्योक र एलाममा राजा कदोर्लाओमेर र गोयीमका राजा तिदालको समयमा भएको थियो ।2 तिनीहरूले सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अद्‍माका राजा शिनाब, सबोयिमका राजा शेमेबेर र बेला (अर्थात् सोअरका) विरुद्ध युद्ध गरे ।3 यी पछिल्ला पाँच जना राजाहरू सिद्दीम अर्थात् मृत सागरको बेँसीमा भेला भए ।4 तिनीहरूले बाह्र वर्षसम्म कदर्लाओमेरको सेवा गरे तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे ।5 अनि चौधौँ वर्षमा, कदोर्लाओमेर र तिनीसित भएका राजाहरू आए र अस्तेरोत-केर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,6 र होरीहरूलाई सेइरको पहाडी देशमा मरुभूमि नजिक रहेको ‍एल-पारानसम्म आक्रमण गरे ।7 त्‍यपछि तिनीहरू फर्के र एन-मिशपातमा (अर्थात् कादेशमा) आए अनि अमालेकीहरूका सबै देशहरू र हासेसोन-तामारमा बस्‍ने एमोरीहरूलाई पराजीत गरे ।8 त्‍यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयिमका राजा र बेला (अर्थात् सोअरका) राजा निस्के अनि सिद्दीमको बेँसीमा युद्धको निम्ति तयार भए ।9 एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक; पाँच राजाका विरिद्ध चार राजा ।10 सिद्दीमको बेँसी अलकत्राको धापले भरिएको थियो, र सदोम र गमोराका राजाहरू भागे, तिनीहरू त्‍यसमा खसे । बाँकी रहेकाहरू पहाडतिर भागे ।11 यसैले राजाहरू सदोम र गमोराका सबै मालसामानहरू, तिनीहरूका रासनहरू लगे र आफ्नो बाटो लागे ।12 जब तिनीहरू गए, तिनीहरूले अब्रामका भाइका छोरा लोतलाई पनि तिनका सबै मालसामानसँगै लगे, जो सदोममा बसोबास गरिरहेका थिए ।13 उम्केर आएका एक जानले हिब्रू अब्रामलाई भने । तिनी एश्कोल र अनेरका भाइ मम्रेका फलाँटका रूखहरू नजिक बसिरहेका थिए, तिनीहरू सबै अब्रामका मित्रहरू थिए ।14 जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्‍ना घरमा नै जन्‍मेका तालिम प्राप्‍त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे ।15 तिनले आफ्‍ना मानिसहरूलाई राती तिनीहरू विरुद्ध समूह-समूहमा विभाजन गरे र तिनीहरूलाई आक्रमण गरे अनि तिनीहरूलाई होबासम्म खेदे, जुन दमस्कसको उत्तर पर्छ ।16 तिनले आफ्‍ना सबै सम्पत्तिहरू पनि फिर्ता ल्याए र तिनका नातेदार र तिनका मालसामानहरू साथै महिलाहरू र अन्‍य मानिसहरू पनि ल्याए ।17 अब्रामले कदोर्लाओमेर र तिनीसँग भएका राजाहरूलाई पराजित गरेर फर्केपछि, सदोमका राजा तिनलाई भेट्न शावेको (अर्थात् राजाको उपत्‍यका) उपत्‍यकामा गए ।18 शालेमका राजा मल्कीसेदेकले रोटी र दाखमद्य लिएर आए । तिनी सर्वोच्‍चका पूजाहारी थिए ।19 तिनले उनलाई यसो भन्‍दै आशिष्‌ दिए, “स्वर्ग र पृथ्वी सृष्‍टि गर्नु हुने परमेश्‍वरले अब्रामलाई आशिष् दिनुभएको होस् ।20 सर्वोच्‍च परमेश्‍वर धन्‍यको हौऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पनुभएको छ ।” तब अब्रामले तिनका सबै थोकको दशांश उनलाई दिए ।21 सदोमका राजाले अब्रामलाई भने, “मानिसहरू मलाई देऊ र सबै मालसामानहरू आफैले लैजाऊ ।22 अब्रामले सदोमका राजालाई भने, “मैले सर्वोच्‍च परमेश्‍वर, स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता परमप्रभुमा शपथ खाएको छु,23 मैले तपाईंबाट एउटा धागो वा जुत्ताको फित्ता वा कुनै पनि कुरा लिनेछैन, ताकि ‘मैले अब्रामलाई धनी बनाएको छु’ भनी तपाईंले कहिल्यै भन्‍न सक्‍नुहुनेछैन ।24 मैले जवान मानिसहरूले खाएका र मसँग गएका मानिसहरूका भाग बाहेक कुनै कुरा लिनेछैन । आनेर, एश्‍कोल र मम्रेले आफ्‍ना भाग लेऊन् ।”