12
परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश, तेरा नातेदारहरू र तेरो पिताको घरानाबाट मैले तँलाई देखाउने मुलुकतिर जा ।2 म तँलाई ठूलो जाति बनाउनेछु, म तँलाई आशिष् दिनेछु, तेरो नाउँ महान् हुनेछ र तँ आशिष् हुनेछस् ।3 तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई अनादर गर्नेलाई म सराप दिनेछु । तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन् ।4 यसैले परमप्रभुले भन्नुभएबमोजिम अब्राम गए र लोत पनि तिनीसँगै गए । हारान छोडेर जाँदा अब्राम पचहत्तर वर्षका थिए ।5 अब्रामले तिनकी पत्नी साराई, तिनका भतिजा लोत, तिनीहरूले हारानमा जम्मा गरेका सम्पत्ति र प्राप्त गरेका मानिसहरू सबै लगे । तिनीहरू कनानको भूमिमा जानलाई हिँडे र कनानको भूमिमा आइपुगे ।6 अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रूखसम्म गए । त्यस बेला त्यो भूमिमा कनानीहरू बस्थे ।7 परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र भन्नुभयो, “यो भूमि म तेरा सन्तानहरूलाई दिनेछु ।” यसैले अब्रामले तिनीकहाँ देखा पर्नुहुने परमप्रभुको निम्ति एउटा वेदी बनाए ।8 त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्चिमतिर र ऐलाई पूर्वतिर पारेर तिनको पाल टाँगे । त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे ।9 अनि अब्राम यात्रा गर्दै नेगेवतिर गए ।10 त्यो भूमिमा अनिकाल लागेको थियो, यसैले अब्राम बस्नलाई मिश्रतिर झरे (गए), किनकि त्यो भूमिमा निकै अनिकाल लागेको थियो ।11 तिनी मिश्र प्रवेश गर्न लाग्दा, तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, तिमी कति सुन्दरी स्त्री छौ भनी म जान्दछु ।12 मिश्रीहरूले तिमीलाई देख्दा ‘यो यसकी पत्नी हो’ भन्ने छन् र तिनीहरूले मलाई मार्ने छन्, तर तिनीहरूले तिमीलाईचाहिँ जीवितै राख्नेछन् ।13 यसैले तिमी मेरी बहिनी हौ भनी तिमीले भन, ताकि तिम्रो खातिर मेरो भलो होस् र तिम्रो खातिर मेरो जीवन बाँचोस् ।14 मिश्र प्रवेश गर्न लग्दा साराई अति सुन्दरी थिइन् भनी मिश्रीहरूले देखे ।15 फारोका अधिकारीहरूले तिनलाई देखे र फारोको सामु तिनको प्रशंसा गरे र ती स्त्रीलाई फारोको घरानामा लगियो ।16 फारोले तिनको खातिर अब्रामलाई राम्रो व्यवहार गरे र तिनलाई गोरु, गधाहरू, नोकरीहरू, गधैनीहरू र ऊँटहरू दिए ।17 अनि परमप्रभुले अब्रामकी पत्नी साराईको कारण फारो र तिनको परिवारमाथि ठूलो विपत्ति ल्याउनुभयो ।18 फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको ? तिनी तिम्रो पत्नी थिइन् भनी मलाई किन बताएनौ ?19 ‘तिनी मेरी बहिनी हुन्’ भनी तिमीले किन मलाई भन्यौ ? त्यसैले मैले तिनलाई मेरी पत्नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्नो बाटो लाग ।20 अनि फारोले तिनको बारेमा आफ्ना मानिसहरूलाई आदेश दिए र तिनीहरूले तिनलाई तिनकी पत्नी र तिनीसँग भएका सबै थोकसहित पठाए ।