7
परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ । किनकि मेरो सामु यो पुस्तामा मैले तँलाई धर्मी देखेको छु ।2 हरेक जातका शुद्ध पशुबाट तैँले आफूसित सात भाले र सात पोथी ल्याउनू । अशुद्ध पशुहरूबाट चाहिँ तैँले दुई वटा अर्थात् भाले र पोथी ल्याउनू ।3 अनि आकाशका पक्षीहरूबाट तिनीहरूको जातिलाई पृथ्वीको सतहमा जीवित राख्‍न सात जोडी भाले र पोथी ल्याउनू ।4 किनकि अबको सात दिनमा म चालीस दिन र चालीस रात पृथ्‍वीमा पानी बर्साउनेछु । मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्‍ट गर्नेछु ।5 परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे ।6 पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए ।7 जलप्रलयको पानीको कारणले नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी र तिनका बुहारीहरू सँगसँगै जहाजभित्र प्रवेश गरे ।8 शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी,9 परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएझैँ भाले र पोथी गरी जोडी-जोडी नोआकहाँ आए र जहाजभित्र प्रवेश गरे ।10 सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो ।11 नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा विशाल अगाधका मूलहरू फुटे र आकाशका झ्यालहरू खुले ।12 चालीस दिन र चालीस रातसम्म पृथ्वीमा पानी परिरह्यो ।13 त्‍यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्‍नी र तिनका तीन जना बुहारी जहाजभित्र प्रवेश गरे ।14 हरेक जङ्‌गली जनावरको जात-जातअनुसार, हरेक पाल्तु पशुको जात-जातअनुसार, भुइँमा घस्रने हरेक घस्रने जन्‍तुको जात-जातअनुसार र पखेटा भएको हरेक पक्षीको जात-जातअनुसार सँगसँगै तिनीहरू जहाजभित्र प्रवेश गरे ।15 जीवनको सास हुने सबै प्राणीका जोडी-जोडी नोआकहाँ आएर जहाजभित्र प्रवेश गरे ।16 भित्र प्रवेश गरेका प्राणीहरू सबैका भाले र पोथी थिए । परमेश्‍वरले आज्ञा दिनुभएझैँ तिनीहरू भित्र प्रवेश गरे ।17 त्‍यसपछि परमप्रभुले ढोका बन्‍द गरिदिनुभयो । अनि पृथ्वीमा चालीस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो ।18 पानीले सारा पृथ्वीलाई पूर्ण रूपमा ढाक्यो अनि जहाज पानीको सतहमाथि तैरियो ।19 आकाशमुनिका सबै अग्‍ला-अग्‍ला पर्वतहरूलाई ढाक्‍ने गरी पृथ्वीमा पानी चौपट्टै भरियो ।20 पानी पर्वतहरूको टुप्‍पोमा सात मिटर माथिसम्म आयो ।21 पक्षीहरू, पालिने पशुहरू, जङ्‌गली जनावरहरू, जमिनमा ठूलो सङ्ख्यामा बसोबास गर्ने सबै प्राणी र सबै मानव-जाति जो पृथ्वीमा चलहल गर्थे, ती सबै मरे ।22 जमिनमा बस्‍ने सबै जीवित प्राणी जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे, ती सबै मरे ।23 यसरी, मानव-जातिदेखि ठूला जनावरहरू र घस्रने जन्‍तुसम्म पृथ्वीको सतहमा भएको हरेक प्राणीसाथै आकाशका चराचुरुङ्‌गीहरू मासिए । तिनीहरू सबै नै पृथ्वीबाट नष्‍ट गरिए । नोआ र तिनीसित जहाजमा हुनेहरू मात्र बाँचे ।24 एक सय पचास दिनसम्म पृथ्वीमा पानी घटेन ।