9
अब पहिलेको करारमा आराधनाका निम्ति नियमहरू र सांसारिक बासस्‍थान थिए ।
2 किनकि एउटा बासस्‍थान तयार गरिएको थियो जसको पहिलो कोठाभित्र सामदान, टेबिल, र उपस्थितिको रोटी थिए, त्‍यसलाई पवित्रस्थान भनिन्‍थ्यो ।
3 पर्दाको पछाडितिर अर्को दोस्रो कोठा थियो, जसलाई महा-पवित्रस्थान भनिन्‍थ्यो ।
4 यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्‍दूक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्‍न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए ।
5 करारको सन्‍दूकको माथि ईश्‍वरीय महिमाका करूबहरूले प्रायश्‍चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौँ ।
6 यी थोकहरूलाई तयार गरिसकेपछि पूजाहारीहरू नियमित रूपमा बासस्‍थानको बाहिरी कोठामा सधैँ आफ्ना सेवाको काम गर्न प्रवेश गर्दथे ।
7 तर प्रधान पूजाहारी मात्रै हरेक वर्षको एक पल्ट दोश्रो कोठामा प्रवेश गर्दथे । उनले रगत लिएर आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका अपराधहरूका निम्ति बलि चढाउँछन् ।
8 पवित्र आत्माले देखाउनुभयो, कि पहिलो पवित्रस्‍थान रहुञ्‍जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन ।
9 वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् ।
10 ती विभिन्‍न किसिमका उत्सवका शुद्धिकरणहरू खाने र पिउने कुरासँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जसलाई नयाँ प्रकारले सृजना नगरेसम्म क्रमिक रूपमा राखिएको थियो ।
11 ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पूजाहारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्‍य संस्करणहरूमा लेखिएको छ) ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पूजाहारी जस्‍तै भएर आउनुभयो ।
12 बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्‍यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्‍तको छुटकारलाई सुरक्षित गर्नुभयो ।
13 किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्‍छन् र तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्‍वरमा समर्पित हुनुपर्छ भने,
14 झन् कति धेरै ख्रीष्‍टको रगतले हाम्रा विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ र जीवित परमेश्‍वरको सेवा गर्न जसले अनन्‍त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई अर्पण गर्नुभयो ?
15 यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्‍यस्तकर्ता हुनुहुन्‍छ । यो मृत्‍युको कारणले गर्दा स्वतन्‍त्र गराइएकाहरू तिनीहरूका पापको सजायबाट पहिलो करारमा रहन्‍छन् ताकि परमेश्‍वरद्वारा बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्‍त उत्तराधिकारलाई प्राप्‍त गर्न सकून् ।
16 किनकि जहाँ इच्‍छा हुन्‍छ, त्‍यहाँ त्‍यो बनाउने व्यक्‍तिको मृत्‍युलाई प्रमाणित गर्नुपर्ने हुन्‍छ ।
17 किनकि एउटा इच्‍छा तब मात्र लागु हुन्‍छ, जब त्‍यहाँ मृत्‍यु भएको हुन्‍छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्‍छ, तबसम्म यसको कुनै जोड हुँदैन ।
18 त्‍यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन ।
19 किनकि जब मोशाले मानिसहरूलाई व्यवस्थामा भएका हरेक आज्ञा दिए, उनले बाछा र बोकाहरूको रगत, पानी, रातो उन र हिसप लिएर त्‍यस मुट्ठा र सबै मानिस दुवैलाई छर्के ।
20 तब उनले भने, “यो करारको रगत हो, जुन परमेश्‍वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको थियो ।”
21 यसरी नै, उनले पवित्रस्‍थान र सेवामा प्रयोग हुने सबै भाँडामा रगत छर्के ।
22 अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ । रगत नबगाइकन क्षमा हुँदैन ।
23 त्‍यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्‍यो ।
24 किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ सत्‍यताको एक नक्‍कल मात्र हो । बरु, उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो, अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्‍वरको सामु उपस्थित हुनुहुन्‍छ ।
25 उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्‍यहाँ जानुभएको होइन, जसरी प्रधान पूजाहारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्दछन् ।
26 त्‍यसो भएको भए, संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दुःख भोग्‍नुपर्ने हुन्‍थ्यो । तर यस युगको अन्‍त्‍यमा एक पल्ट उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ सधैँका निम्ति एकै पल्ट प्रकट हुनुभएको हो ।
27 हरेक व्यक्‍ति एक पटक मर्न निश्‍चित छ, र त्‍यसपछि न्‍याय आउँदछ ।
28 त्‍यसरी नै, ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो । पापसँग सामना गर्नलाई दोस्रो पल्ट उहाँ देखा पर्नुहुने होइन, तर मुक्‍तिका लागि धैर्यसाथ उहाँका निम्ति पर्खिरहनेहरूका लागि हो ।