5
भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन ।
2 किनकि तिमीहरू आफैले राम्ररी जान्‍दछौ कि प्रभुको आगमनको समय राती आउने चोरको जस्‍तै हुनेछ ।
3 तिनीहरूले “शान्‍ति र सुरक्षा” भन्‍दै गर्दा गर्भवती स्‍त्रीलाई प्रसव-वेदना भएझैँ तिनीहरूमाथि अचानक विनाश आइपर्छ र तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् ।
4 तर भाइहरू हो, त्‍यो दिन तिमीहरूमाथि चोरझैँ आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ ।
5 किनभने तिमीहरू सबै प्रकाशका सन्‍तानहरू र दिनका सन्‍तानहरू हौ । हामी रातका सन्‍तान होइनौँ, न त अन्धकारका नै ।
6 त्‍यसैले, हामी बाँकी अरूहरूझैँ नसुतौँ, तर जागा रहौँ र गम्भीर हौँ ।
7 किनभने सुत्‍नेहरू रातमा नै सुत्छन् र पिएर मात्‍नेहरू रातमा नै मात्दछन् ।
8 तर हामी दिनका सन्‍तानहरू हौँ । त्‍यसैले, गम्भीर हौँ, विश्‍वास र प्रेमको छाती-पाता लगाऔँ र भावी मुक्‍तिको टोप पनि लगाऔँ ।
9 किनभने परमेश्‍वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍तिको निम्ति चुन्‍नुभयो ।
10 उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौँ वा निन्‍द्रामा हामी सबै उहाँसँग जिउन सकौँ ।
11 यसकारण, तिमीहरूले अगिदेखि गरे जस्‍तै एक अर्कालाई सान्‍त्वना देऊ र निर्माण गर ।
12 भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरू भन्‍दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं ।
13 हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्‍च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्‍तिमा रहो ।
14 भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्‍छौँ ।
15 हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्‍न गर ।
16 सदैव आनन्‍द गर,
17 नरोकी प्रार्थना गरिरहो,
18 हरेक कुरामा धन्‍यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्‍छा हो ।
19 पवित्र आत्मालाई ननिभाओ ।
20 अगमवाणीलाई अवहेलना नगर ।
21 सबै कुराको जाँच गर, जे असल छ त्‍यसमा लागिरहो ।
22 सबै किसिमको खराबीलाई त्‍याग ।
23 शान्‍तिका परमेश्‍वर आफैले तिमीहरूलाई पूर्ण रूपमा शुद्ध पारून्, र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा दोषरहित राखून् ।
24 तिमीहरूलाई बोलाउनुहुने इमानदार हुनुहुन्‍छ । उहाँले नै यो पनि गर्नुहुनेछ ।
25 भाइहरू हो, हाम्रो निम्ति पनि प्रार्थना गर ।
26 सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर ।
27 म प्रभुद्वारा तिमीहरूलाई बिन्‍ती गर्दछु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् ।
28 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस् ।