4
अन्‍तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्‍छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्‍यसरी नै तिमीहरू चलेका छौ र त्‍यस भन्‍दा बढी पनि गरेका छौ ।
2 किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्‍टद्वारा तिमीहरूलाई के अर्ती दियौँ ।
3 यो परमेश्‍वरको इच्‍छा हो, तिमीहरू आफैलाई पवित्र पार, यौन क्रियाकलापको अनैतिकताबाट टाढै बस ।
4 ताकि कसरी आदर र सम्मानसाथ आफ्नै पत्‍नीलाई लिनुपर्छ भनी तिमीहरू हरेकले जान्‍न सक ।
5 (परमेश्‍वरलाई नचिन्‍ने अन्‍यजातिले जस्‍तै) कामवासनामा जलेर होइन ।
6 यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्‍छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।
7 किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएको होइन, तर पवित्रताको लागि हो ।
8 त्‍यसकारण, जसले यो इन्कार गर्दछ त्‍यसले मानिसलाई होइन तर परमेश्‍वरलाई इन्कार गर्दछ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्‍छ ।
9 भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन । एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ ।
10 वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई गरेका छौ, तर हामी तिमीहरूलाई अर्ती दिन्‍छौँ कि भाइहरू हो, अझै बढी गर ।
11 हामीले तिमीहरूलाई आज्ञा गरेझैँ शान्‍त रहने, आफ्नै धन्‍दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने अर्ती दिन्‍छौँ ।
12 यसो गर ताकि विश्‍वास भन्‍दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।
13 भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौँ ताकि आशा नहुने मानिसहरूले जस्‍तो तिमीहरूले शोक गर्न नपरोस् ।
14 येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ ।
15 परमेश्‍वरको वचनद्वारा हामी तिमीलाई यसो भन्‍छौँ कि हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म बाँचिरहन्‍छौँ, हामीले कुनै हालतमा पनि मरिगएकाहरूलाई उछिन्‍नेछैनौँ ।
16 प्रभु आफै स्वर्गबाट ठुलो प्रशंसा, प्रधान स्वर्गदूतको आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले बिउँतनेछन् ।
17 तब हामी जो जीवित छौँ उठाई लगिएकाहरूसँग एकसाथ बादलमा प्रभुलाई भेट्नेछौँ र हामी सदासर्वदा प्रभुसँगै हुनेछौँ ।
18 त्‍यसकारण, यी वचनले एक अर्कालाई सान्‍त्वना देऊ ।