12
मैले गर्व गर्नैपर्छ, तर यसबाट केही लाभ हुँदैन । तर प्रभुको दर्शन र प्रकाशहरूमा म लागिरहन्‍छु ।
2 म ख्रीष्‍टमा एक जना मानिसलाई चिन्‍छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ ।
3 र मलाई थाहा छ, त्‍यो मानिस शरीरमा वा शरीरविनै हो, मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ ।
4 कि ऊ स्वर्गमा उचालि लगियो र उसले कसैले उच्‍चारण नै गर्न नसक्‍ने अति पवित्र कुराहरू सुन्‍यो ।
5 त्‍यस मानिसको तर्फबाट म गर्व गर्छु । तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन ।
6 यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैन किनकि मैले सत्‍य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्‍दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्‍छु ।
7 आश्‍चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्‍छु । त्‍यसकारण, म घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको छ । म धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ ।
8 मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तिन पटक बिन्‍ती गरेँ ।
9 अनि उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्‍ति सिद्ध हुन्‍छ ।” यसैले, ख्रीष्‍टको शक्‍ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु ।
10 त्‍यसकारण, म ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, निन्‍दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्‍टपूर्ण अवस्थाहरूमा खुसी रहन्‍छु ।
11 म मूर्ख भएको छु ! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्‍च प्रेरितहरू भन्‍दा तुच्‍छ छैनँ ।
12 सारा धैर्य, चिह्नहरू र शक्‍तिशाली कामहरूद्वारा साँचा प्रेरितहरूका लक्षणहरू तिमीहरूका माझमा प्रदर्शन गरिएका थिए ।
13 म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरू भन्‍दा कम महत्त्वका भयौ र ?” यो गल्तीको निम्ति मलाई क्षमा देओ ।
14 हेर ! म तिमीहरूकहाँ तेस्रो पटक आउन इच्‍छुक छु । तिमीहरूका निम्ति म बोझ बन्‍न चाहन्‍नँ, किनकि म तिमीहरूसँग भएका कुराहरू चाहन्‍नँ । म तिमीहरूलाई चाहन्‍छु । किनकि छोराछोरीहरूले आमा बाबुको निम्ति बचत गर्दैनन् । बरु, आमा बाबुले छोराछोरीको निम्ति बचत गर्नुपर्छ ।
15 म तिमीहरूका प्राणको निम्ति ज्‍यादै खुसीसाथ खर्च गर्नेछु र स्वयम् आफैँ पनि खर्चनेछु । यदि म तिमीहरूलाई बढी प्रेम गर्छु भने के मैलेचाहिँ कम माया पाउने र ?
16 यसो भए तापनि म तिमीहरूमाथि बोझ बनिनँ । तर म धूर्त भएको कारण मैले नै छलद्वारा तिमीहरूलाई फसाएँ ।
17 के मैले पठाएका कोहीमार्फत मैले तिमीहरूको फाइदा उठाएँ र ?
18 मैले बिन्‍ती गरेर तीतससँग केही भाइहरूलाई तिमीहरूकहाँ पठाएँ । के तीतसले तिमीहरूबाट केही फाइदा लिए र ? के हामी पनि यसरी नै चलेनौँ र ? के हामीले पनि यसरी नै पाइला चालेनौँ र ?
19 के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्‍छौ ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ ।
20 किनकि म तिमीहरूकहाँ आउँदा तिमीहरूलाई मैले चाहे जस्‍तै पाउँदिनँ कि भनेर म डराउँछु । मलाई तिमीहरूले चाहे जस्‍तै नपाऔला भनेर म डराउँछु । त्‍यहाँ वादविवाद, ईर्ष्या, रिसहरू पोख्‍ने काम, व्यक्‍तिगत स्वार्थ, कुरा काट्ने, घमण्ड र गडबडी होला भनेर म डराउँछु ।
21 म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्‍यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्‍चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।