9
विश्‍वासीहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्‍दिनँ ।
2 तिमीहरूमा भएको चाहना मलाई थाहा छ, जसको बारेमा माकेडोनियामा भएका मानिसहरूलाई मैले गर्वका साथ बताएँ । गएको वर्षदेखि अखैयामा तयार हुँदै आइरहेको छ भनेर मैले तिनीहरूलाई भनेँ ।
3 तिमीहरूका निम्ति हामीले गरेको गर्व व्यर्थ नहोस्, र तिमीहरू पनि मैले भने जस्‍तै गरी तयार होओ भनेर मैले भाइहरूलाई तिमीहरूकहाँ पठाएको छु ।
4 नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौँ । तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा म केही पनि भन्‍दिनँ ।
5 त्‍यसैले, भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्‍यक ठानेर बिन्‍ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक । यो भेटी करकापले होइन, तर आशिष्‌को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो ।
6 यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै‌ कटनी गर्छ ।
7 हरेकले आफ्नो हृदयमा सङ्‌कल्प गरेअनुसार देओस् । दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस् । खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ ।
8 र परमेश्‍वरले हरेक आशिष्‌लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्‍नुहुन्‍छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्‍त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ ।
9 यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्‍पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्‍छ ।”
10 छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ ।
11 तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ । यसले हामीद्वारा परमेश्‍वरप्रति चढाउने धन्‍यवाद उत्पन्‍न गराउनेछ ।
12 किनकि सेवाको काम गर्दा विश्‍वासीहरूको खाँचो मात्र पुरा हुँदैन । यसले परमेश्‍वरलाई धन्‍यवाद दिने काममा वृद्धि गराउँछ ।
13 सेवाको कामले तिमीहरू जाँचिदा र प्रमाणित हुँदा येशू ख्रीष्‍टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्‍वरलाई पनि महिमित तुल्याउनेछौ । तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्‍वरलाई महिमित तुल्याउनेछौ ।
14 तिनीहरूले तिमीहरूको चाहना गरेका छन् र तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन् । परमेश्‍वरको महान् अनुग्रहको कारण तिनीहरू यसो गर्छन्, जुन अनुग्रह तिमीहरूमा पनि छ ।
15 व्यक्त गर्न नसकिने वरदानको लागि परमेश्‍वरलाई महिमा भएको होस् ।