4
त्‍यसकारण, हामीसँग यो सेवा-कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ ।
2 बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्‍यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्‍वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्‍यता प्रस्तुत गर्दै परमेश्‍वरको नजरमा प्रत्‍येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ ।
3 यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्‍यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ ।
4 तिनीहरूको विषयमा भन्‍ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्‍वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्‍टको महिमाको सुसमाचारको प्रकाश देख्‍न सक्दैनन्, जो परमेश्‍वरको स्वरूप हुनुहुन्‍छ ।
5 किनकि हामी आफैँलाई होइन, तर ख्रीष्‍टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्‍ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्‍छ ।
6 किनकि परमेश्‍वरले भन्‍नुभयो, “अन्धकारबाट ज्‍योति चम्कनेछ ।” येशू ख्रीष्‍टको उपस्थितिमा परमेश्‍वरको महिमाको ज्ञानको ज्‍योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ ।
7 यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ ।
8 हामी सबैतिरबाट कष्‍टित भएका छौँ, तर निराश भएका छैनौँ ।
9 हामी सताइएका छौँ, तर त्‍यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ ।
10 येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्‍युलाई बोकिहिँड्छौँ ।
11 हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्‍युमा सुम्पिइँदै छौँ ।
12 यही कारणले, हामीमा मृत्‍युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।
13 “मैले विश्‍वास गरेँ, यसैले मैले बोलेँ ।” भनेर लेखिए जस्‍तै हामीसँग विश्‍वासको उस्तै आत्मा छ ।
14 हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ । हामीलाई थाहा छ, कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ ।
15 हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ, त्‍यसरी नै परमेश्‍वरको महिमाको लागि धन्‍यवाद दिने काम पनि वृद्धि होस् ।
16 त्‍यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ ।
17 किनकि यो क्षणिक छ, हलुका कष्‍टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्‍त महिमाको लागि तयार पारिरहेको छ ।
18 किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्‍छन् र नदेखिने कुराहरू अनन्‍तसम्म रहन्‍छन् ।