2
तिमीहरूको दुःखपूर्ण अवस्थामा म फेरि तिमीहरूकहाँ नआउने निर्णय मैले गरेँ ।
2 यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र ?
3 मैले जे लेखेँ, त्‍यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्‍तिहरूद्वारा मैले आनन्‍द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्‍द तिमीहरू सबैमा भएको जस्‍तै छ भन्‍ने कुरामा म निश्‍चित छु ।
4 किनकि मैले ठुलो कष्‍ट, हृदयको पीडा र धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ । म तिमीहरूलाई कष्‍ट दिन चाहन्‍न थिएँ । बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्‍ने म चाहन्‍थेँ ।
5 यदि कसैले दुःख दिएको छ भने, त्‍यसले मलाई मात्र छैन, तर केही हदसम्म (यसलाई कडा गरी नभन्‍ने हो भने) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको छ ।
6 त्‍यो व्यक्‍तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्‍त छ ।
7 त्‍यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्‍त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर ।
8 उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर ।
9 तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्‍न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ ।
10 यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्‍यस व्यक्‍तिलाई क्षमा दिनेछु । यदि मैले केही क्षमा दिएको छु भने, यो येशूको उपस्थितिमा तिमीहरूका निम्ति हो ।
11 यसैले, शैतानले हामीलाई छक्याउने छैन । किनकि हामी त्‍यसका योजनाहरूको विषयमा अजान छैनौँ ।
12 जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ, त्‍यहाँ मेरो लागि प्रभुले ढोका खोलिदिनुभएको थियो ।
13 तापनि, मलाई मनमा शान्‍ति मिलेन, किनकि मैले मेरा भाइ तीतसलाई त्‍यहाँ भेटिनँ । त्‍यसैले, उनीहरूलाई छोडेर म माकेडोनिया फर्कें ।
14 तर परमेश्‍वरलाई धेरै धन्‍यवाद होस्, जसले हामीलाई सधैँ विजयमा अगुवाइ गर्नुहुन्‍छ । हामीद्वारा उहाँले सबैतिर ज्ञानको मिठो सुबास्‍ना छर्नुहुन्‍छ ।
15 किनकि हामी परमेश्‍वरको निम्ति उद्धार पाएकाहरू र नष्‍ट भइरहेकाहरूका निम्ति ख्रीष्‍टका सुबास्‍ना हौँ ।
16 नष्‍ट भइरहेका मानिसहरूका लागि यो मृत्‍युदेखि मृत्‍युसम्मको सुबास्‍ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्‍ना हो । यी कुराहरूका लागि को योग्यको छ ?
17 हामी नाफाको लागि परमेश्‍वरको वचन बेच्‍ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्‍टमा शुद्ध अभिप्रायले परमेश्‍वरको दृष्‍टिमा उहाँले पठाउनुभएको जस्‍तै गरी बोल्दछौँ ।