2
भाइहरू हो, गुप्‍तमा रहेका परमेश्‍वरका सत्‍यताहरूको घोषणा गर्न म तिमीहरूकहाँ आउँदा कुशल वक्‍ता र बुद्धिका साथमा आइनँ ।
2 तिमीहरूका माझमा हुँदा येशू ख्रीष्‍ट र क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्‍ने निर्णय गरे ।
3 अनि कमजोरी, डर र धेरै कम्पसाथ म तिमीहरूसित थिएँ ।
4 र मेरा सन्‍देश र घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन् । बरु, ती पवित्र आत्मा र शक्‍तिको प्रदर्शनमा थिए ।
5 तिमीहरूको विश्‍वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्‍तिमा भएको होस् ।
6 अब, परिपक्‍वहरूका बीचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन् ।
7 बरु, लुकाइएका सत्‍यतामा हामी परमेश्‍वरको बुद्धिको प्रचार गर्छौं, लुकेको बुद्धि जो परमेश्‍वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्‍त गर्नुभयो ।
8 यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन्, तर तिनीहरूले त्‍यस समयमा यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन् ।
9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ ।”
10 परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्‍छ, उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्‍छ ।
11 मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन ।
12 तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्‍वरका आत्मा पाएका छौँ, ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्‍न सकौँ ।
13 हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्‍ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्‍छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्‍छ ।
14 परमेश्‍वरका आत्माका कुराहरू अनात्मिक व्यक्‍तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्‍यसका निम्ति मूर्खता हुन्‍छन् । उसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्‍न सकिन्‍छ ।
15 आत्मिक व्यक्‍तिले सबै कुराहरू जाँच गर्दछ, तर ऊचाहिँ अरूद्वारा जाँचिदैन ।
16 किनाकि “कसले परमेश्‍वरको मनलाई जान्‍दछ ? र कसले उहाँलाई अर्ती दिन सक्छ ?” तर हामीसँग ख्रीष्‍टको मन छ ।