यूहन्‍ना 18:1-18
18
यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्‍यकाको अर्कोपट्टि जानुभयो । त्‍यहाँ एउटा बगैँचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो ।
2 उहाँलाई विश्‍वासघात गर्ने यहूदालाई पनि त्‍यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्‍यस बगैँचामा जानुहुन्‍थ्यो ।
3 अनि मुख्य पूजाहारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्‍यहाँ आए ।
4 के भइरहेको थियो भनी सबै थोक जान्‍नुहुने येशू अगाडि आउनुभयो र भन्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ ?”
5 तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ ।” उहाँलाई विश्‍वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो ।
6 त्‍यसैले, जब येशूले “म उही हुँ” भन्‍नुभयो तिनीहरू पछाडि हटे अनि भूइँमा लोटे।
7 अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”
8 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनें, म उही हुँ । त्‍यसैले, यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ ।”
9 यो “तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पूरा हुनको निम्ति थियो ।
10 तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्‍यो थुतेर प्रधान पूजाहारीका नोकरलाई प्रहार गरे, र उसको दायाँ कान काटिदिए । त्‍यस नोकरको नाम माल्खस थियो ।
11 येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवारलाई म्यानमा नै राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनु पर्दैन र ?”
12 त्‍यसैले, सिपाहीहरूको समूह, कप्‍तान र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे ।
13 तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्‍यस वर्षका प्रधान पूजाहारी थिए ।
14 मानिसहरूको निम्ति एक जना मर्नु उत्तम हुन्‍छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्‍ति कैयाफा नै थिए ।
15 सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्का चेलाले पनि त्‍यसै गरे । ती चेलाको प्रधान पूजाहारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पूजाहारीका आँगनभित्र पसे ।
16 तर पत्रुसचाहिँ बाहिर ढोकामा नै उभिरहेका थिए । त्‍यसैले, प्रधान पूजाहारीसँग चिनजान भएका अर्का चेला बाहिर गए र ढोकामा बस्ने स्त्रीसँग कुरा गरे, र पत्रुसलाई भित्र ल्याए ।
17 तब ढोकामा बस्ने स्त्रीले पत्रुसलाई भनिन्, “के तिमी पनि यी मानिसका चेलाहरूमध्‍ये एक जना होइनौ र ?” तिनले भने, “म होइनँ ।”
18 अब नोकरहरू र अधिकारीहरू त्‍यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्‌ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैलाई न्‍यानो बनाइराखेका थिए । आफूलाई न्‍यानो पार्दै पत्रुस पनि तिनीहरूसँगै उभिरहेका थिए ।
यूहन्‍ना 18:19-40
19 प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे ।
20 येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैं मन्‍दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्‍तमा भनेको छैन ।
21 तपाईंहरूले मलाई किन सोध्‍नुहुन्‍छ ? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्‍दछन् ।”
22 जब येशूले यो कुरा भन्‍नुभयो, त्‍यहाँ उभिरहेकाहरूमध्‍ये एक जनाले येशूलाई एक मुक्‍का हाने, र भने, “के प्रधान पूजाहारीलाई जवाफ दिने तेरो तरिका त्‍यही हो ?”
23 येशूले त्‍यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलेँ भने, त्‍यो गलत कुराको गवाही देऊ, तर यदि मैले ठिकसँग बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ ?”
24 अनि हन्‍नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए ।
25 अब सिमोन पत्रुसचाहिँ उभिएर आफूलाई न्‍यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि त्‍यसका चेलाहरूमध्‍येका एक जना होइनौ ?” तिनले यसलाई इन्कार गरे, र भने, “म होइनँ ।”
26 अनि प्रधान पूजाहारीका नोकरहरूमध्‍ये पत्रुसले कान काटिदिएका नोकरका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैँचामा तिनीसित देखिनँ र ?”
27 पत्रुसले फेरि इन्कार गरे र तुरुन्‍तै भाले बास्यो ।
28 त्‍यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्‍यपालको महलमा लगे । बिहान सबेरै थियो, तिनीहरू राज्‍यपालको महलमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाडको भोज खान सकून् ।
29 त्‍यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ ?”
30 तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौँ ।”
31 त्‍यसकारण, पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैले यिनलाई लैजाऊ र आफ्नो व्यवस्थाअनुसार यिनको न्‍याय गर ।” अनि यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्‍युदण्ड दिनु हाम्रो लागि न्‍यायसङ्‌गत छैन ।
32 उहाँको मृत्‍यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्‌केत गरेर भन्‍नुभएको उहाँको वचन पूरा होस् भनेर यसो भएको थियो ।
33 त्‍यसपछि पिलातस फेरि राज्‍यपालको महलभित्र पसे, अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ ?”
34 येशूले जवाफ दिनुभयो, “तपाईं आफैले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो ?”
35 पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र ? तिम्रा आफ्‍नै मानिसहरू र तिम्रा मुख्य पूजाहारीहरूले नै तिमीलाई मकहाँ सुम्‍पेका छन् । तिमीले के गर्‍यौ ?”
36 येशूले जवाफ दिनुभयो, “मेरो राज्‍य यो संसारको होइन । यदि मेरो राज्‍य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा पर्नेथिइनँ। तर मेरो राज्‍य यस संसारको होइन ।”
37 तब पिलातसले उहाँलाई भने, “त्‍यसो भए तिमी राजा नै हौ त ?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्‍नुहुन्‍छ । म यही उद्देश्‍यको निम्ति जन्‍मिएको हुँ, अनि म यही उद्देश्‍यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्‍यको गवाही दिऊँ । सत्‍यको पक्षमा हुने सबैले मेरो सोर सुन्‍छन् ।”
38 पिलातसले उहाँलाई भने, “सत्‍य के हो ?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिनँ ।”
39 तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जनालाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्‍यसैले, के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडी दिऊँ भन्‍ने तिमीहरू चाहन्‍छौ ?”
40 तब तिनीहरूले फेरि कराए, र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई छोडिदिनुहोस् ।” बारब्बाचाहिँ एक डाँकू थिए ।