यूहन्‍ना 17:1-12
17
येशूले यी कुराहरू भनिसक्‍नुभएपछि स्वर्गतिर आफ्ना आँखा उचालेर भन्‍नुभयो, “पिता, समय आएको छ; आफ्ना पुत्रलाई महिमित पार्नुहोस्, ताकि पुत्रले तपाईंलाई महिमित पारोस् -
2 जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो, ताकि जसलाई तपाईंले तिनलाई दिनुभएको छ तिनीहरू सबैलाई अनन्‍त जीवन मिलोस् ।
3 यो अनन्‍त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्‍वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्‍टलाई चिनून् ।
4 मैले संसारमा तपाईंलाई महिमित तुल्याएको छु । तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्‌ध्‍याएको छु ।
5 अब, हे पिता, संसार बनिनु भन्‍दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस् ।
6 तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरें । तिनीहरू तपाईंका थिए, र तपाईंले तिनीहरू मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन् ।
7 अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँदछन् भनी तिनीहरू जान्‍दछन्,
8 किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो । तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएको हुँ भनेर तिनीहरूले साँच्‍चै जाने र तपाईंले नै मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरे ।
9 म तिमीहरूका लागि प्रार्थना गर्दछु । म संसारको निम्ति प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्छु, किनकि तिनीहरू तपाईंका हुन् ।
10 सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका सबै मेरा हुन्; म तिनीहरूमा महिमित हुन्‍छु ।
11 अब उप्रान्‍त म संसारमा हुन्‍नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदै छु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिनुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौं त्‍यसरी नै तिनीहरू एक होऊन् ।
12 म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिएँ, जसलाई तपाईंले मलाई दिनुभएको छ । मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्‍ये कोही पनि नष्‍ट भएन, ताकि धर्मशास्‍त्र पूरा होस् ।
यूहन्‍ना 17:13-26
13 अब म तपाईंकहाँ आउँदै छु, तर म यी कुराहरू संसारमा नै भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्‍द तिनीहरूमा पूरा गरून् ।
14 मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु, संसारले तिनीहरूलाई घृणा गरेको छ, किनभने जस्‍तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् ।
15 तपाईंले तिनीहरूलाई संसारबाट लैजानु होस् भनेर होइन, तर तिनीहरूलाई दुष्‍टबाट बचाउनुहोस् भनी म तपाईंसँग बिन्‍ती गर्दछु ।
16 जस्‍तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् ।
17 तिनीहरूलाई सत्‍यतामा पवित्र पारिदिनुहोस्; तपाईंको वचन सत्‍य छ ।
18 जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्‍यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु ।
19 तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू आफै पनि सत्‍यतामा तपाईंमा पवित्र पारिनेछन् ।
20 म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले यिनीहरूको वचनद्वारा मलाई विश्‍वास गर्नेछन्,
21 ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्‍छ, र म तपाईंमा छु त्‍यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस् ।
22 तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैं तिनीहरू पनि एक होऊन् ।
23 म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्‍छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभए जस्‍तै मैले तिनीहरूलाई पनि प्रेम गरें ।
24 हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ तिनीहरू म जहाँ छु त्‍यहीँ होऊन् भन्‍ने म चाहन्‍छु, ताकि तिनीहरूले मेरो महिमा देखून् जुन तपाईंले मलाई दिनुभएको छ । किनभने तपाईंले मलाई संसारको सृष्‍टिअगि देखि नै प्रेम गर्नुभएको छ ।
25 हे धार्मिक पिता, यो संसारले तपाईंलाई चिनेन, तर म तपाईंलाई चिन्‍दछु; र तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्‍दछन् ।
26 मैले तपाईंको नाउँलाई तिनीहरूका बिचमा परिचित तुल्याएको छु र मैले यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्‍यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहनेछु ।