लुका 18:1-17
18
तब तिनीहरूले कसरी सधैँ प्रार्थना गर्नुपर्छ र निरुत्साह हुनुहुँदैन भन्‍ने सम्बन्धमा उहाँले तिनीहरूसँग दृष्‍टान्‍तमा बोल्नुभयो ।
2 उहाँले भन्‍नुभयो, “कुनै एउटा सहरमा एक जना न्‍यायाधीश बस्दथे, जसले परमेश्‍वरको भय मान्‍दैनथे र मानिसहरूको पनि आदर गर्दैनथे ।
3 त्‍यस सहरमा एक जना विधवा बस्थिन् र बारम्बार ती अधर्मी न्‍यायाधीशकहाँ आउँथिन् र भन्‍थिन्, ‘मलाई सहायता गर्नुहोस् र मेरो वादीको विरुद्ध मलाई न्‍याय दिलाउनुहोस् ।’
4 लामो समयसम्म उनले ती विधवालाई सहायता गर्ने इच्‍छा गरेनन्, तर केही समयपछि उनले मनमनै भने, ‘मैले परमेश्‍वरको भय मान्‍दिनँ र मानिसहरूको पनि आदर गर्दिनँ,
5 तर यस विधवाले मलाई सताउँछे । त्‍यसैले, मकहाँ बारम्बार आएर त्यसले मलाई नसताओस् भनेर, म त्यसलाई न्‍याय दिलाउनेछु’ ।”
6 तब प्रभुले भन्‍नुभयो, “ती अन्‍यायी न्‍यायाधीशले के भन्‍छन्, सुन ।
7 के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्‍याय गरिदिनुहुन्‍न र ? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्‍न र ?
8 म तिमीहरूलाई भन्‍दछु, उहाँले तिनीहरूलाई तुरुन्‍तै न्‍याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् र ?”
9 त्‍यसपछि उहाँले आफैँलाई धर्मी ठान्‍ने र अरूलाई तुच्‍छ ठान्‍ने कतिपय मानिसहरूलाई यो दृष्‍टान्‍त पनि भन्‍नुभयो,
10 “दुई जना मानिस मन्‍दिरमा प्रार्थना गर्न गए– एक जना फरिसी र अर्को कर उठाउने ।
11 फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्‍यवाद दिन्‍छु कि म अरू चोरहरू जस्‍तो छैनँ, अधर्मीहरू जस्‍तो छैनँ, व्यभिचारी जस्‍तो पनि छैनँ, यही कर उठाउने जस्‍तो पनि छैनँ ।
12 म हरेक हप्‍ता दुई पटक उपवास बस्दछु । म आफूले पाएका सबै थोकको दशांश दिन्‍छु ।’
13 तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्‍यो, ‘हे परमेश्‍वर म पापीमाथि कृपालु हुनुहोस् ।’
14 म तिमीहरूलाई भन्‍दछु, कि यो मानिस अर्को मानिस भन्‍दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्‍यो होच्‍याइनेछ र जसले आफैलाई होच्‍याउँछ त्‍यो उचालिनेछ ।
Parable of the Pharisee and Tax Collector
15 उहाँले तिनीहरूलाई छोइदिऊन् भनी मानिसहरूले बालबालिकाहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे ।
16 तर येशूले आफूकहाँ तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्‍य यस्तैहरूको हो ।
17 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले परमेश्‍वरको राज्‍यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्‍यो निश्‍चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।”
लुका 18:18-43
18 एक जना शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्‍त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ ?”
19 येशूले तिनलाई भन्‍नुभयो, “किन मलाई असल भन्‍दछौ, एक परमेश्‍वरबाहेक कोही पनि असल छैन ।
20 तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्‍या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”
21 ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु ।”
22 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्‍नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्‍यसपछि आऊ र मेरोपछि लाग ।”
23 तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुःखित भए, कारण तिनी धेरै धनी थिए ।
24 तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्‍नुभयो, “धनी मानिसलाई स्वर्गको राज्‍यमा प्रवेश गर्न कति गाह्रो छ !
25 धनी मानिसलाई स्वर्गको राज्‍यमा प्रवेश गर्नु भन्‍दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्‍छ !”
26 त्‍यो सुन्‍नेहरूले यसो भने, “त्‍यसो भए को बचाइनेछ त ?”
27 येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्‍यो परमेश्‍वरमा सम्भव छ ।”
28 पत्रुसले जवाफ दिए, “हामीले आफ्ना सबै कुराहरू त्‍यागेर तपाईंको पछि लागेका छौँ ।”
29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले परमेश्‍वरको राज्‍यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्‍याग्दछन्,
30 तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्‍त जीवन पाउनेछन् ।”
31 बाह्र जनालाई आफूकहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदै छौँ, अनि मानिसका पुत्रको बारेमा अगमवक्‍ताहरूले लेखेका सबै कुरा पुरा हुनेछन् ।
32 किनकि उनी अन्‍यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्‍नेछन् ।
33 उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा ऊ मृत्‍युबाट जीवित भई उठ्नेछ ।”
34 उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।
Jesus Predicts His Death and Resurrection
35 येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।
36 त्‍यो बाटो भएर ठूलो भीड गइरहेको कुरा सुनेर उसले सोध्‍यो, “यहाँ के हुँदै छ ?”
37 तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्‍छ ।”
38 त्‍यसपछि त्‍यो दृष्‍टिविहीन मानिसले चिच्‍याउँदै भन्‍यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।”
39 भीडको अगिअगि हिँडिरहेका मानिसहरूले त्‍यो दृष्‍टिविहीन मानिसलाई हकारेर चुप लाग्‍न भने, तर त्यो झन् चर्को स्वरले कराउँदै भन्‍यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
40 येशू टक्‍क उभिनुभयो र त्‍यस दृष्‍टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्‍यस दृष्‍टिविहीन मानिस येशूको नजिक आयो, येशूले त्यसलाई सोध्‍नुभयो,
41 “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्‍छौ ?” त्यसले भन्‍यो, “प्रभु, म देख्‍न चाहन्‍छु ।”
42 येशूले भन्‍नुभयो, “तिमी देख्‍ने भइ जाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”
43 तुरुन्‍तै उसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।
Healing of Bartimaeus