लुका 8:1-21
8
यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्‍यको सुसमाचार घोषणा गर्दै जानुभयो ।
2 केही स्‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्‍थ्यो, जसबाट सात वटा भूतात्मा निकालिएका थिए ।
3 हेरोदका कारिन्‍दा खुजासकी पत्‍नी योअन्‍ना र सुसन्‍ना, यिनीहरू र अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाई दिन्‍थे ।
Women Disciples
4 अब मानिसहरूको एउटा ठुलो भीड एकसाथ भेला भएको थियो, साथै धेरै विभिन्‍न सहरबाट मानिसहरूसमेत उहाँकहाँ आइरहेका थिए । उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो ।
5 “एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।
6 अरू बिउ ढुङ्‌गेनी जमिनमा परे र चाँडै ती बिरुवाको रूपमा बढे र सुकिहाले, किनकि त्‍यो जमिन ओबानो थियो ।
7 अझै अरू बिउहरू काँढाका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो ।
8 तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले बोलाउनुभयो, जसको सुन्‍ने कानहरू छन् त्‍यसले सुनोस् ।
9 त्‍यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्‍टान्‍तको अर्थ के हुन सक्छ भनी सोधे ।
10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरका राज्‍यका रहस्यका कुराहरू बुझ्‍ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्‍टान्‍तमा सिकाइने छ । त्‍यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्‍नेछैनन्, सुनेर पनि बुझ्‍नेछैनन् ।’
11 अब दृष्‍टान्‍तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो ।
12 बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्‍छन्, तर दुष्‍ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्‍छ ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् ।
13 त्‍यसपछि ढुङ्‌गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्‍छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्‍वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्‍छन् ।
14 काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन् ।
15 तर असल जमिनमा परेका बिउ ती मानिसहरू जस्ता हुन्, जसले इमान्दार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।
Parable of the Sower and the Seed
16 अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्‍यालो देखून् ।
17 किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्‍ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्‍ने र ज्‍योतिमा आउन नसक्‍ने हुन्‍छ ।
18 त्‍यसैकारण, तिमीहरू कसरी सुन्‍छौ, त्‍यसमा होशियार होओ, किनभने जससँग छ त्‍यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्‍योसमेत उसबाट खोसिनेछ ।”
Parable of the Lamp
19 त्‍यसपछि येशूकी आमा र भाइहरू उहाँकहाँ आए, तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् ।
20 र उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्‍छा गरी बाहिर पर्खिरहेका छन् ।”
21 तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “मेरा आमा र भाइहरू ती हुन्, जसले मेरो वचन सुन्‍छन् र पालन गर्छन् ।”
लुका 8:22-39
22 अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्‌गामा चढ्नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्‌गामा चढ्नुभयो ।
23 तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्‍यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्‌गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए ।
24 त्‍यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्‍दै उहाँलाई ब्युँझाए, “प्रभु, प्रभु, हामी त मर्नै लाग्यौँ ।” उहाँ उठ्नुभयो, र बतासलाई हप्काउनुभयो, पानीको बेग थामियो र त्‍यहाँ सुनसान भयो ।
25 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ छ ?” डराएर तिनीहरू अचम्मित हुँदै एक-अर्कालाई भन्‍दै थिए “उहाँ को हुनुहुन्‍छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्‍छ र तिनले उहाँको आज्ञा मान्‍छन् ?”
Jesus Calms the Storm
26 उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारिपट्टि पर्छ ।
27 जब प्रभु डुङ्‌गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्‌यो र त्‍यस मानिसमा दुष्‍टात्माहरू थिए । किनभने लामो समयदेखि त्‍यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो ।
28 जब उसले येशूलाई देख्यो, ऊ चिच्‍च्‍यायो, र उहाँको सामु घोप्टोपर्यो | उसले उच्‍च स्वरमा भन्‍यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार ? म बिन्‍ती गर्छु कि मलाई नसताउनुहोस् ।”
29 किनभने येशूले त्‍यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्‍थ्यो, किनकि धेरै पटक त्यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्‌ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्‍ट आत्माले मरुभूमितिर डोर्‍याउँथ्यो।
30 त्‍यसपछि येशूले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो ?” र त्‍यसले भन्‍यो, “फौज ।” किनभने धेरै दुष्‍ट आत्माहरू त्‍यसभित्र पसेका थिए ।
31 तिनीहरूलाई अगाध खाँदमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्‍तर बिन्‍ती गरे ।
32 अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्‍ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्‍ती गरे । उहाँले तिनीहरूलाई त्‍यसो गर्ने आज्ञा दिनुभयो ।
33 त्‍यसैले, त्‍यस मानिसबाट दुष्‍ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्‍यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे ।
34 सुँगुर चराइरहेका मानिसहरूले जे भइरहेको थियो त्‍यो देखेपछि तिनीहरू भाग्दै सहर र वरपरका ठाउँहरूमा गए र त्‍यो कुरो बताए ।
35 त्‍यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्‍यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए, त्‍यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराएका थिए ।
36 तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्‍ट आत्माहरूद्वारा नियन्‍त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने ।
37 गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए । यसकारण उहाँ फर्कन डुङ्गा चढ्नुभयो |
38 तर दुष्‍ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्‍ती गर्‍यो, तर येशूले यसो भन्‍दै उसलाई पठाउनुभयो,
39 “आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।” त्यो मानिस आफ्नो बाटो लाग्यो, येशूले त्यसको निम्ति गर्नुभएको सबै महान काम सारा सहरभरि नै प्रचार गर्न लाग्यो |
Healing of the Demoniac
लुका 8:40-56
40 जब येशू फर्कनुभयो, भिडले उहाँलाई स्वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए ।
41 हेर, याइरस नाउँ गरेका एक जना मानिस त्‍यहाँ आए, जो सभाघरका अगुवाहरूमध्‍ये एक थिए । याइरस प्रभु येशूका पाउमा घोप्‍टो परे र उहाँलाई उनको घरमा आउन बिन्‍ती गरे ।
42 किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन् । तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भीडले उहाँलाई घचेटिरहेको थियो ।
43 त्‍यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्‍ने समस्या भएकी स्‍त्री थिइन् । तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्च गरिसकेकी थिइन्, तर तिनीहरूमध्‍ये कसैले पनि निको पार्न सकेका थिएनन् ।
44 तिनी येशूको पछिल्तिर आइन् र उहाँको कपडाको छेऊ छोइन् र तुरुन्‍तै तिनको रक्‍तश्राव रोकियो ।
45 येशूले भन्‍नुभयो, “मलाई कसले छोयो ?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “प्रभु मानिसहरूको भीडले तपाईंलाई घेरेर घचेट्दै छन् ।”
46 तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोयो, किनभने शक्‍ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ ।”
47 जब त्‍यस स्‍त्रीले आफूले गरेको कुरा लुकाउन नसक्‍ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्‍टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्‍तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।
48 त्‍यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्‍तिसँग जाऊ ।”
49 जब उहाँ अझै बोल्दै हुनुहुन्‍थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन् । गुरुलाई दुःख नदेऊ ।”
50 तर जब येशूले त्‍यो सुन्‍नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर र तिनी बचाइनेछिन् ।”
51 जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्‍ने अनुमति दिनुभएन ।
52 अनि त्‍यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्‍नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।”
53 तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे ।
54 तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ ।”
55 तिनको आत्मा फर्क्यो, र तिनी तुरुन्‍तै उठिन् । उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो ।
56 तिनका बुबा-आमा अचम्मित भए, तर त्‍यहाँ जे भएको थियो त्‍यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।
Jairus's Daughter Brought Back to Life