लुका 5:1-16
5
जब मानिसहरू येशूकहाँ परमेश्‍वरको वचन सुन्‍नको लागि जम्मा भए, त्‍यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो ।
2 उहाँले तालको किनारमा दुई वटा डुङ्‌गा राखेको देख्‍नुभयो । जालहारीहरूले बाहिर निस्‍केर आफ्ना जालहरू धोइरहेका थिए ।
3 येशू तीमध्‍ये एउटा डुङ्‌गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिन भन्‍दा पर पानी भएको ठाउँतिर लैजान भन्‍नुभयो । त्‍यसपछि उहाँले डुङ्‌गामा बसेर मानिसहरूलाई सिकाउनुभयो ।
4 उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “माछाहरू समात्‍नलाई तिम्रो डुङ्‌गा गहिरो पानीतिर लैजाऊ र जाल हान ।”
5 सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्‍यौँ, तर केही पनि पक्रन सकेनौँ । तरै पनि तपाईं भन्‍नुहुन्‍छ भने म जाल हान्‍नेछु ।”
6 जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो ।
7 त्‍यसैले, तिनीहरूले आफ्ना डुङ्‌गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्‌गाहरू भरे अनि ती डुब्‍न थाले ।
8 तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ ।”
9 तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए ।
10 यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्‍ना पत्रुससँग साझेदार थिए । येशूले पत्रुसलाई भन्‍नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।”
11 जब तिनीहरूले आफ्नो डुङ्‌गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे ।
Miraculous Catch of Fish
12 जब उहाँ सहरहरूमध्‍ये एउटा सहरमा जाँदै गर्नुहुँदा उहाँले कुष्‍ठरोगीलाई देख्‍नुभयो । जब कुष्‍ठरोगीले येशूलाई देख्यो, उसले घोप्‍टो परेर दण्डवत् गर्‍यो र भन्‍यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ ।”
13 येशूले हात पसारेर छुनुभयो र भन्‍नुभयो, “म चाहन्‍छु कि तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्‍ठरोगले उसलाई छोड्‌यो ।
14 उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो र भन्‍नुभयो, “आफ्नो बाटो लाग र मोशाको व्यवस्थाबमोजिम आफैलाई पूजाहारीकहाँ देखाऊ । तिम्रो शुद्धताको निम्ति बलि चढाऊ र तिनीहरूलाई तिमी कसरी निको भयौ भनी गवाही देऊ ।”
15 तर यो कुरा चारैतिर फैलियो र भीडहरू त्‍यो कसरी निको भयो भनी सिकाएको सुन्‍न र आ-आफ्नो रोगबाट निको हुन आए ।
16 तर उहाँ प्रायः गरेर उजाड-स्थानतिर गएर प्रार्थना गर्नुहुन्‍थ्यो ।
लुका 5:17-26
17 एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्‍यहाँ फरिसीहरू र व्यवस्‍थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदाका विभिन्‍न गाउँ र इलाकाहरूबाट अनि यरूशलेमको सहरबाट आएका थिए । निको पार्नका लागि परमप्रभुको शक्‍ति उहाँसँग थियो ।
18 केही मानिसहरूले एक जना पक्षाघाती मानिसलाई गुन्‍द्रिमा बोकेर त्‍यहाँ आए । उसलाई येशूको अगाडि भित्र लगेर राख्‍नका लागि लैजाने बाटो खोजे ।
19 तर भीडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन् । त्‍यसैले, तिनीहरू घरको छानामाथि चढे र छाना खोलेर तिनीहरूले त्‍यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए ।
20 येशूले तिनीहरूको विश्‍वासलाई देख्‍नुभयो र भन्‍नुभयो, “हे मानिस, तिम्रो विश्‍वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।”
21 शास्‍त्री र फारिसीहरूले प्रश्‍न गर्न थाले, “यो ईश्‍वर-निन्‍दा गर्ने को हो ? परमेश्‍वर बाहेक कसले पापको क्षमा दिन सक्छ ?”
22 येशूले तिनीहरूले आपसमा के विचार गर्दै थिए भन्‍ने कुरा जान्‍नुभयो र भन्‍नुभयो, “तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्‍न गर्दछौ ?
23 कुन कुरा सजिलो छ ‘तिम्रा पाप क्षमा भए भन्‍नु वा उठेर हिँड् भन्‍नु ?‘
24 तिमीहरूलाई थाहा होस् कि मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ । म तिमीलाई भन्‍दछु, ‘उठ, तिम्रो आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ‘ ।”
25 तुरुन्‍तै तिनीहरूको सामुन्‍ने त्यो उठ्‌यो र आफ्नो ओछ्यान उठाएर परमेश्‍वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो ।
26 सबै जना अचम्मित भए र परमेश्‍वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ ।
लुका 5:27-39
27 यसपछि येशू त्‍यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउने व्यक्‍तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो । उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”
28 त्‍यसैले, लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए ।
29 तब लेवीले येशूको निम्ति उसको घरमा एउटा ठुलो भोज दिए, जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्‍य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए ।
30 तर फरिसीहरू र तिनीहरूका शास्‍त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र अरू पापीहरूसँग बसेर खान्‍छौ ?”
31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “असल स्वस्थ हुने मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन, बिरामी मानिसहरूलाई मात्र यसको आवश्यकता पर्छ ।”
32 म धर्मी मानिसलाई पश्‍चात्तापको लागि बोलाउन आएको होइन, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ ।
Jesus Spends Time with Sinners
33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका चेलाहरूले पनि त्‍यसै गर्छन्, तर तपाईंका चेलाहरू खान्‍छन् र पिउँछन् ।”
34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाह भोजमा दुलहा त्‍यहाँ तिनीहरूकासाथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्‍छन् र ?”
35 तर तिनीहरूबाट दुलहालाई लगिने समय आउनेछ,तब मानिसहरू ती दिनहरूमा उपवास बस्‍नेछन् ।”
36 त्‍यसपछि येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “कसैले पनि पुरानो कपडा टाल्नलाई नयाँ कपडा च्‍यात्दैन । उसले त्‍यसो गर्‍यो भने, उसले त्‍यो नयाँ कपडालाई च्‍यातेको हुन्‍छ, तर त्‍यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग पनि मिल्दैन ।
37 साथै कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । उसले त्‍यसो गर्‍यो भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिन्‍छ र मशक पनि नष्‍ट हुनेछ ।
38 तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्‍नुपर्छ ।
39 पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनभने उसले “पुरानो नै असल छ भन्‍छ ।”