मत्ती 26:1-30
26
येशूले यी सबै वचन भनिसक्‍नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
2 “तिमीहरूलाई थाहा छ, कि दुई दिनपछि निस्तार-चाड आउँदै छ, र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछ ।”
3 त्‍यसपछि कैयाफा नाउँ गरेका प्रधान पूजाहारीको दरबारमा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू एकसाथ भेला भए ।
4 तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्‌यन्‍त्र गरे ।
5 किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्‍चियोस् ।”
6 अनि जब येशू बेथानियामा सिमोन भन्‍ने एक जना कुष्‍ठरोगीको घरमा हुनुहुन्‍थ्यो,
7 उहाँ एउटा टेबिलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्‌गमरमरको एउटा शीशी बोकेकी एउटी स्‍त्री उहाँकहाँ आई, र उसले त्‍यसलाई उहाँको शिरमा खन्‍याइदिई ।
8 तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो ?
9 यसलाई ठूलो रकममा बेच्‍न सकिन्‍थ्यो, र गरिबलाई दिन सकिन्‍थ्यो ।”
10 तर येशूले यो जानेर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यी स्‍त्रीलाई किन दुःख दिइरहेका छौ ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन् ।
11 गरिबहरू त तिमीहरूसँग सधैं हुनेछन्, तर म तिमीहरूसँग सधैं रहनेछैन ।
12 किनकि जब यी स्‍त्रीले यो अत्तर मेरो शरीरमाथि खन्‍याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् ।
13 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्‍त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ ।”
14 त्‍यसपछि बाह्र जनामध्‍येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पूजाहारीहरूकहाँ गयो,
15 र भन्‍यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्‍छ ?” तिनीहरूले उसको निम्ति तीस वटा चाँदीका सिक्‍का छुट्‌ट्‌याइदिए ।
16 त्‍यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्यो ।
17 अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्‍छ ?”
18 उहाँले भन्‍नुभयो, “सहरमा एक जना व्यक्‍तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्‍नुहुन्‍छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्‍छु ।’”
19 येशूले जस्‍तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्‍यस्तै गरे, र उनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे ।
20 जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्‍नुभयो ।
21 जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, कि तिमीहरूमध्‍ये एक जनाले मलाई धोका दिनेछ ।”
22 उनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्‍न थाले, “प्रभु, म त निश्‍चय नै होइन होला ?”
23 उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ ।
24 मानिसका पुत्र त्‍यहीअनुसार नै जानेछ जसरी उनको बारेमा लेखिएको छ । तर धिक्‍कार त्‍यस व्यक्‍तिलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्‍छ ! त्‍यो व्यक्‍ति त नजन्‍मिएकै भए त्‍यसको निम्ति असल हुने थियो ।”
25 यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्‍यो, “रब्बी, के त्‍यो म हुँ ?” उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमी आफैले त्‍यो भनेका छौ ।”
26 उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्‍यवाद दिनुभयो र त्‍यो भाँच्‍नुभयो । उहाँले त्‍यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।”
27 उहाँले कचौरा लिनुभयो र धन्‍यवाद दिनुभयो, अनि त्‍यो उनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “तिमीहरू सबैले यसलाई पिओ ।
28 किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको लागि बगाइन्छ ।
29 तर म तिमीहरूलाई भन्‍दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैन, जबसम्म मेरा पिताको राज्‍यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन ।”
30 उहाँहरू सबैले भजन गाइसक्‍नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्‍नुभयो ।
मत्ती 26:31-56
31 त्‍यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बगालका सबै भेडाहरू तितरबितर हुनेछन् ।’
32 तर म उठाइएपछि म तिमीहरू भन्‍दा अगि गालीलमा जानेछु ।”
33 तर पत्रुसले उहाँलाई भने, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ ।”
34 येशूले उनलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, आज राती भाले बास्‍नु भन्‍दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।”
35 पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अनि अरू सबै चेलाले पनि त्‍यसै भने ।
36 त्‍यसपछि येशू उनीहरूसँगै गेतसमनी भन्‍ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्छु, तर तिमीहरूचाहिं यहीं बस ।”
37 उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो ।
38 त्‍यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो आत्मा अत्‍यधिक शोकले भरिएर मरेतुल्य भएको छ । यहीं बस र मसँगै जागा रहो ।”
39 उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्‍टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्‍नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटोस् । तर, मैले इच्‍छा गरे जस्‍तो होइन, तपाईंको इच्‍छा अनुसार होस् ।”
40 उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ ?
41 जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर । आत्मा त तयार छ, तर शरीर भने कमजोर छ ।”
42 उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्‍नुभयो, “हे मेरा पिता, यदि मैले यो नपिई हुँदैन भने, तपाईंकै इच्‍छा पूरा होस् ।”
43 उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए ।
44 त्‍यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो । उहाँले तेस्रो पल्ट प्रार्थना गर्नुभयो र उही वचन दोहोर्‍याउनुभयो ।
45 त्‍यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ ? हेर, त्‍यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा धोकासाथ सुम्पिँदै छ ।
46 उठ, अब हामी जाऔं । हेर, मलाई धोका दिनेचाहिं नजिकै छ ।”
47 जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्‍ये एक जना अर्थात् यहूदा आए । मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएको एउटा ठूलो भीड ऊसँगै आयो । तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए ।
48 अब जुन व्यक्‍तिले येशूलाई धोका दिन लागेको थियो, त्‍यसले तिनीहरूलाई यसो भनी सङ्‌केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।”
49 तुरुन्‍तै ऊ येशूकहाँ आयो र भन्‍यो, “रब्बी, अभिवादन !” अनि उसले उहाँलाई चुम्बन गर्‍यो ।
50 येशूले उसलाई भन्‍नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्‍यो गरिहाल ।” त्‍यसपछि तिनीहरू आए, र येशूमाथि हात राखे, र उहाँलाई पक्रे ।
51 हेर, येशूसँग भएकाहरूमध्‍ये एक जनाले आफ्नो हात उठायो; आफ्नो तरवार थुत्‍यो, र मुख्य पूजाहारीको एउटा नोकरमाथि प्रहार गर्‍यो, अनि उसको कान काटिदियो ।
52 त्‍यसपछि येशूले उसलाई भन्‍नुभयो, “आफ्नो तरवारलाई त्‍यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्‍ट पारिनेछन् ।
53 के तिमीहरू विचार गर्दछौ, कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ र ? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्‍न र ?
54 तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पूरा हुने त ?”
55 त्‍यति बेला येशूले भीडलाई भन्‍नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैं मलाई पक्रन आएका छौ ? म दिनहुँ मन्‍दिरमा सिकाउँदै बसें, अनि तिमीहरूले मलाई पक्रेनौ ।
56 तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पूरा हुन सकून् ।” त्‍यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
मत्ती 26:57-75
57 जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे, जहाँ शास्‍त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए ।
58 तर पत्रुसले प्रधान पूजाहारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे ।
59 अब मुख्य पूजाहारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्‍युदण्ड दिन उहाँको विरुद्धमा झूटो गवाही खोजिरहेका थिए ।
60 थुप्रै झूटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन् । तर पछि दुई जना अगि आए,
61 र भने, “यो मानिसले यसो भन्‍यो, ‘मैले परमेश्‍वरको मन्‍दिरलाई भत्काएर यसलाई तीन दिनमा पुनर्निर्माण गर्न सक्छु’ ।”
62 प्रधान पूजाहारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो ?”
63 तर येशू चुप रहनुभयो । प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ ?”
64 येशूले तिनलाई जवाफ दिनुभयो, “त्‍यो तपाईं आफैले नै भन्‍नुभएको छ । तर म तपाईंलाई भन्‍दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नुहुनेछ ।”
65 त्‍यसपछि प्रधान पूजाहारीले आफ्ना लुगा च्‍याते र भने, “यसले ईश्‍वर-निन्‍दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो ? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्‍वर-निन्‍दा सुन्‍नुभएको छ ।
66 तपाईंहरू के विचार गर्नुहुन्‍छ ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।”
67 त्‍यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए,
68 र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो ?”
69 अब पत्रुसचाहिं बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र ?”
70 तर उनले तिनीहरू सबैका अगि यसो भन्‍दै यस कुरालाई इन्कार गरे, “तिमीले केको बारेमा कुरा गरिरहेका छौ, मलाई त्‍यो थाहा छैन ।”
71 जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखी र त्‍यहाँ भएकाहरूलाई भनी, “यो व्यक्‍ति पनि नासरतको येशूसँग थियो ।”
72 अनि उनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्‍दिनँ ।”
73 त्‍यसको केही समयपछि त्‍यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्‍चय नै तिमी पनि तिनीहरूमध्‍ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्‌केत गर्दछ ।”
74 त्‍यसपछि उनले सराप्‍न र शपथ खान लागे, “म यी मानिसलाई चिन्‍दिनँ,” अनि तुरुन्‍तै भाले बास्यो ।
75 अनि येशूले भन्‍नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्‍नु भन्‍दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।” त्‍यसपछि उनी बाहिर गए र धुरुधुरु रोए ।