मत्ती 21:1-11
21
जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्‍नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,
2 र यसो भन्‍नुभयो, “तिमीहरू सामुन्‍नेको गाउँमा जाओ, र तिमीहरूले त्‍यहाँ पुग्‍ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्‍यससँग एउटा बछेडा भेट्टाउनेछौ । तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ ।
3 यदि यसको विषयमा कसैले केही भन्‍यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्‍यस मानिसले तुरुन्‍तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन् ।”
4 अगमवक्‍ताद्वारा भनिएको कुरा पूरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्‍नुभयो,
5 “‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्‍चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्‍छ ।’”
6 तब चेलाहरू गए र येशूले जस्‍तो निर्देशन दिनुभएको थियो, त्‍यस्तै गरे ।
7 तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्‍नुभयो ।
8 भीडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए ।
9 येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भीडले यसो भन्‍दै चिच्‍च्‍याए, “दाऊदका पुत्रलाई होसन्‍ना ! उहाँ धन्‍यको हुनुहुन्‍छ जो परमेश्‍वरको नाउँमा आउनुहुन्‍छ ! उच्‍चमा विराजमान हुनुहुनेलाई होसन्‍ना !”
10 जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन् ?”
11 भीडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्‍छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्‍ता ।”
मत्ती 21:12-22
12 त्‍यसपछि येशू मन्‍दिरभित्र प्रवेश गर्नुभयो । उहाँले मन्‍दिरभित्र खरिद गर्ने र बेच्‍ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबिलहरू अनि परेवा बेच्‍नेहरूका आसनहरू पल्टाइदिनुभयो ।
13 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ,’ तर तिमीहरूले यसलाई डाँकुहरूका अड्‌डा बनाउँछौ ।”
14 तब दृष्‍टिविहीनहरू र लङ्‌गडाहरू मन्‍दिरभित्र आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
15 तर जब मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्‍दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरहेका सुने, तिनीहरू रिसले चुर भए ।
16 तिनीहरूले उहाँलाई भने, “के यी मानिसहरूले जे भनिरहेका छन्, तिमी सुन्‍न सक्छौ ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “हो ! तर के तिमीहरूले कहिल्यै पढेका छैनौ, ‘दूधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ’ ?”
17 त्‍यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र बेथानीको सहरमा जानुभयो र उहाँले त्‍यो रात त्‍यहीं बिताउनुभयो ।
18 बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभएको थियो ।
19 उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्‍नुभयो, उहाँ त्‍यसको नजिक जानुभयो र त्‍यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्‍यसलाई भन्‍नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्‍यो अन्जीरको बोट तुरुन्‍तै सुकिहाल्यो ।
20 जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो ?”
21 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि तिमीहरूमा विश्‍वास छ र शङ्‌का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्‍यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्‍यौ भने पनि त्‍यसै हुनेछ ।
22 तिमीहरूले विश्‍वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्‍यो तिमीहरूले पाउनेछौ ।”
मत्ती 21:23-46
23 जब येशू मन्‍दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पूजाहारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ ? र तिमीलाई यो अधिकार कसले दियो ?”
24 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । यदि तिमीहरूले मलाई त्‍यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु ।
25 यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट आएको हो ? स्वर्गबाट हो या मानिसहरूबाट ?” तिनीहरूले एक आपसमा यस्तो भन्‍दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्‍यौं भने, उसले हामीलाई ‘त्‍यसो भए, तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ ?’ भन्‍नेछन् ।
26 तर यदि हामीले ‘मानिसबाट’ भन्‍यौं भने, हामी भीडसँग डराउँदछौं, किनकि तिनीहरू सबैले यूहन्‍नालाई एक अगमवक्‍ताको रूपमा हेर्दथे ।”
27 तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्‍नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्‍दिनँ ।
28 तर तिमीहरू के विचार गर्दछौ ? एक जना मानिसका दुई जना छोरा थिए । उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’
29 त्‍यो छोराले जवाफ दियो र भन्‍यो, ‘म जान्‍नँ,’ तर केही समयपछि उसले आफ्नो मन बदल्यो र गयो ।
30 र त्‍यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्‍यही कुरा भने । यो छोराले जवाफ दियो र भन्‍यो, ‘हजुर, म जानेछु,’ तर त्‍यो गएन ।
31 यी दुई जनामध्‍ये कुनचाहिं छोराले आफ्नो बुबाको इच्‍छा पूरा गर्‍यो ?” तिनीहरूले भने, “पहिलो चाहिंले ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरू भन्‍दा पहिले कर उठाउनेहरू र वेश्याहरू परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछन् ।
32 किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्‍वास गरेनौ, जब कि कर उठाउनेहरू र वेश्याहरूले उनलाई विश्‍वास गरे । र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्‍वास गर्नलाई पछि तिमीहरूले पश्‍चात्ताप पनि गरेनौ ।
33 अर्को दृष्‍टान्‍त सुन । एक जना मानिस थिए, जो जमिनदार थिए । उनले त्‍यहाँ दाखबारी लगाए र त्‍यसको वरिपरि बार लगाए; त्‍यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्‍यसको ठेक्‍का दिए । त्‍यसपछि उनी अर्कै देशमा गए ।
34 जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।
35 तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिं ढुङ्‌गाले हिर्काए ।
36 फेरि, मालिकले पहिले भन्‍दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्‍यस्तै व्यवहार गरे ।
37 त्‍यसपछि मालिकले यसो भन्‍दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’
38 तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौं र यसको उत्तराधिकार लिऔं ।’
39 यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।
40 जब त्‍यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान् ?”
41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्‍ट मानिसहरूलाई सबै भन्‍दा भयानक तरिकाले नाश गर्नेछन् र त्‍यो दाखबारी ती मानिसहरूलाई ठेक्‍कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्‍यसको निम्ति मोल तिर्दछन् ।”
42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेनौ, ‘जुन ढुङ्‌गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्‍यहीचाहिं कुनाको शिर ढुङ्‌गो बन्‍यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ ? ’
43 यसकारण, म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ ।
44 जो यस ढुङ्‌गामा खस्दछ, त्‍यो टुक्राटुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्‍यो कुल्चिनेछ ।”
45 जब मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूले उहाँका दृष्‍टान्‍तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले बुझे ।
46 तिनीहरूले उहाँलाई पक्रनचाहन्‍थे, तर मानिसहरूले उहाँलाई अगमवक्‍ता मान्‍ने हुनाले तिनीहरू भीडसँग डराए ।