मत्ती 8:1-15
8
जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठूलो भीडले उहाँलाई पछ्यायो ।
2 हेर, एक जना कुष्‍ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्‍टो पर्‍यो, र भन्‍यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ ।”
3 येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो ।
4 येशूले उसलाई भन्‍नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्‍नू । आफ्नो बाटो लाग; आफैलाई पूजाहारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”
5 जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे,
6 “हे प्रभु, मेरो एक जना नोकर पक्षघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ ।”
7 येशूले तिनलाई भन्‍नुभयो, “म आएर उसलाई निको पार्नेछु ।”
8 कप्‍तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्‍यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ ।
9 किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन्‌ । म एक जनालाई ‘जाऊ’ भन्‍छु र ऊ जान्‍छ, र अर्कोलाई ‘आऊ’ भन्‍छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्‍यो गर’ भन्‍छु र उसले त्‍यो गर्छ ।”
10 जब येशूले यो सुन्‍नुभयो, उहाँ छक्‍क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, इस्राएलमा पनि मैले यस्तो विश्‍वास भएको कोही पाएको थिइनँ ।
11 म तिमीहरूलाई भन्‍छु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गीय राज्‍यको भोजमा बस्‍नेछन् ।
12 तर राज्‍यका छोराहरू बाहिर अन्‍धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”
13 येशूले त्‍यस कप्‍तानलाई भन्‍नुभयो, “जाऊ । तिमीले विश्‍वास गरे जस्‍तै तिम्रो निम्ति गरियोस् ।” अनि त्‍यही घडी तिनको नोकर निको भयो ।
14 जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्‍वरोले बिरामी भई थला परिरहेकी देख्‍नुभयो ।
15 येशूले तिनको हातमा छुनुभयो, अनि ज्‍वरोले तिनलाई छोड्‌यो । त्‍यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
मत्ती 8:16-34
16 जब साँझ पर्‍यो, मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए । उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।
17 यसरी यशैया अगमवक्‍ताद्वारा भनिएको यस्तो वचन पूरा भयो, “उहाँ आफैले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो ।”
18 जब येशूले भीडलाई आफ्नो वरिपरि देख्‍नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।
19 त्‍यसपछि एक जना शास्‍त्री आएर उहाँलाई भने, “गुरुज्‍यू, तपाईं जहाँ जानुहुन्‍छ म तपाईंलाई त्‍यहीं पछ्याउनेछु ।”
20 येशूले तिनलाई भन्‍नुभयो, “स्‍यालहरूका दुला छन्‌, र आकाशका चराचुरूङ्‌गीहरूका गुँडहरू छन्‌, तर मानिसका पुत्रको त आफ्नो शिर राख्‍ने ठाउँ कहीँ छैन ।”
21 चेलाहरूमध्‍ये एक जनाले उहाँलाई भने, “प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस्‌ ।”
22 तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले नै मुर्दालाई गाड्‌न छोडिदेऊ ।”
23 जब येशू डुङ्‌गामा चढ्नुभएको थियो, उहाँका चेलाहरूले पनि उहाँलाई भित्रसम्म पछ्याए ।
24 हेर, समुद्रमा ठूलो आँधीबेहरी चल्‍यो, अनि त्‍यो डुङ्‌गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो ।
25 चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्‌, हामी मर्नै लागेका छौं !”
26 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासीहरू, तिमीहरू किन डराउँछौं ?” त्‍यसपछि उहाँ उठ्‌नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्‍यसपछि त्‍यहाँ पुरै शान्‍ति छायो ।
27 ती मानिसहरू छक्‍क परे र भने, “उहाँ कस्‍तो मानिस हुनुहुन्‍छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्‍छन् ?”
28 जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्‍मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्‍केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्‍यसकारण, त्‍यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।
29 हेर, तिनीहरूले ठूलो स्‍वरले कराए र भने, “हे परमेश्‍वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार ? के तोकिएको समय भन्‍दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो ?
30 त्‍यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो ।
31 ती भूतात्‍माहरूले उहाँलाई बिन्‍ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्‍नुहुन्‍छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस्‌ ।”
32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जा !” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्‍यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।
33 सुँगुरहरू चराइरहेका मानिसहरू त्‍यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए ।
34 हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे ।