मत्ती 6:1-18
6
तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।
2 त्‍यसैले, जब तिमीहरूले कसैलाई केही दान दिन्‍छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरे जस्‍तै आफ्नैअगि तुरही नफूक । साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
3 तर जब तिमीहरू केही दान दिन्‍छौ, तब तिमीहरूको दाहिने हातले जे गर्दै छ, त्‍यो तिमीहरूको देब्रे हातले थाहा नपाओस्,
4 ताकि तिमीहरूको दान गुप्‍तमा होस् । त्‍यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
5 अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले उनीहरूलाई देखून् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् । साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
6 तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ । ढोका बन्‍द गर र आफ्ना पितासँग प्रार्थना गर जो गुप्‍तमा रहनुहुन्‍छ । त्‍यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
7 अनि जब तिमीहरू प्रार्थना गर्छौ, व्यर्थमा नबरबराओ, जसरी गैरयहूदीहरूले गर्छन्, किनकि धेरै बोल्नाले तिनीहरूको सुनाइ हुन्‍छ भनी तिनीहरू ठान्‍दछन् ।
8 त्‍यसैकारण, तिनीहरू जस्ता नहोओ, किनकि तिमीहरूले माग्‍नु भन्‍दा अगि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्‍नुहुन्‍छ ।
9 त्‍यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
10 तपाईंको राज्‍य आओस् । तपाईंको इच्‍छा स्वर्गमा जस्‍तै यस पृथ्वीमा पूरा होस् ।
11 हामीलाई आज दिनभरिको भोजन दिनुहोस् ।
12 हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं ।
13 र हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस् । किनकि राज्‍य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’
14 किनकि यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गर्‍यौ भने, तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ ।
15 तर यदि तिमीहरूले उनीहरूका पाप क्षमा गरेनौ भने, तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन ।
16 साथै, जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरे जस्‍तै उदास चेहरा नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्‍तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् । साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
17 तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर ।
18 यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्‍तो देखिँदैनौ, तर गुप्‍तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्‍यो थाहा हुन्‍छ । अनि गुप्‍तमा देख्‍नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
मत्ती 6:19-34
19 पृथ्वीमा आफ्नो निम्ति धन सम्‍पत्ति नथुपार, जहाँ किरा र खियाले त्‍यसलाई नष्‍ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् ।
20 बरु, आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्‍ट गर्दछ, न त चोरले चोरेर लैजान्‍छ ।
21 किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्‍छ, त्‍यहाँ तिमीहरूको मन पनि हुनेछ ।
22 आँखा शरीरको निम्ति बत्ती हो । त्‍यसैकारण, यदि तिमीहरूका आँखा स्वास्थ्य छन् भने, सम्पूर्ण शरीर नै उज्यालो हुनेछ ।
23 तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्‍यारोले भरिन्‍छ । त्‍यसैकारण, यदि तिमीहरूमा भएको ज्‍योति वास्तवमा अँध्‍यारो भयो भने, त्‍यो अन्धकार कति ठूलो होला !
24 कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्‍यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्‍छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।
25 त्‍यसैकारण, म तिमीहरूलाई भन्‍दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्‍ता नगर । के जीवन भोजन भन्‍दा र शरीर वस्‍त्र भन्‍दा मूल्यवान् हुँदैन र ?
26 आकाशका चराहरूलाई हेर ! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गमा हुने पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ । के तिमीहरू ती भन्‍दा धेरै बहुमूल्य छैनौ र ?
27 अनि तिमीहरूमध्‍ये कसले चिन्‍ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्‍न सक्छ र ?
28 अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्‍ता गर्छौ ? मैदानका लिली फूलहरूलाई हेर, ती कसरी उम्रन्‍छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्‍छन् ।
29 र पनि म तिमीहरूलाई भन्‍छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्‍तै गरी आभूषित थिएनन् ।
30 यदि परमेश्‍वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्‍छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्‍वासीहरू हो ?
31 त्‍यसैकारण, चिन्‍तित भएर यसरी नभन, ‘हामी के खाउँला ?’ वा ‘हामी के पिउँला ?’ वा ‘हामी के लगाउँला ?’
32 किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्‍ने कुरा तिमीहरूका स्वर्गमा हुने पिताले जान्‍नुहुन्‍छ ।
33 तर पहिले उहाँको राज्‍य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
34 त्‍यसैकारण, भोलिको निम्ति चिन्‍ता नगर, किनकि भोलिको चिन्‍ता त्‍यो आफैले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्‍त चिन्‍ता रहेको छ ।