मत्ती 3:1-17
3
ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए,
2 “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्‍य नजिकै छ ।”
3 किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”
4 अब यूहन्‍नाले उँटको रौंका वस्‍त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे । उनका खानेकुरा सलह र वन-मह थिए ।
5 त्‍यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए ।
6 तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए ।
7 तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्‍तिस्‍माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्‍तान हो, आउन लागेको क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेतावनी दियो ?
8 पश्‍चात्तापको निम्ति सुहाउँदो फल फलाओ ।
9 र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्‍दछु, कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्‌गाहरूबाट पनि सन्‍तान उत्पन्‍न गराउन सक्‍नुहुन्‍छ ।
10 रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ ।
11 म तिमीहरूलाई पश्‍चात्तापको निम्ति पानीले बप्‍तिस्‍मा दिन्‍छु । तर मपछि आउनुहुनेचाहिं म भन्‍दा शक्‍तिशाली हुनुहुन्‍छ, र म उहाँका चप्‍पलहरू बोक्‍न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ ।
12 उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्‍ने नाङ्लो उहाँको हातमा छ । तर उहाँले भुसलाई चाहिं कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।”
13 त्‍यसपछि यूहन्‍नाबाट बप्‍तिस्‍मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो ।
14 तर यूहन्‍नाले यसो भन्‍दै उहाँलाई रोक्‍न खोजिरहे, “मैले पो तपाईंबाट बप्‍तिस्‍मा लिनुपर्नेमा के तपाईंचाहिं म कहाँ आउनुहुन्‍छ ?”
15 येशूले जवाफ दिँदै तिनलाई यसो भन्‍नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पूरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्‍नाले उहाँलाई बप्‍तिस्‍मा लिन दिए ।
16 उहाँको बप्‍तिस्‍मा भइसकेपछि येशू तुरुन्‍तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्‍वरका आत्मा ढुकुर जस्‍तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्‍नुभयो ।
17 हेर, स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्‍यन्‍त प्रसन्‍न छु ।”