3
अगमवक्ता हबकूकको प्रार्थनाः2 परमप्रभु मैले तपाईंको बयान सुनेको छु, र म भयभीत भएको छु । परमप्रभु, यी समयहरूको बीचमा आफ्नो काम पुनर्जीवित पार्नुहोस् । यी समयहरूको बीचमा ती परिचित बनाउनुहोस् । तपाईंको क्रोधको समयमा कृपा गर्नलाई सम्झनुहोस् ।3 परमेश्‍वर तेमानबाट आउनुभयो, र एकमात्र पवित्रचाहिँ पारान पर्वतबाट आउनुभयो । उहाँको महिमाले आकाशहरू ढाके, र पृथ्वी उहाँको (सेला) प्रशंसाले भरिएको छ ।4 प्रकाशझैँ चम्किलो, दुई वटा किरण उहाँको हातबाट चम्कियो, र उहाँले आफ्नो शक्ति त्‍यहाँ लुकाउनुहुन्‍छ ।5 उहाँ भन्‍दा अगि घातक रोग फैलियो, र महामारीले उहाँलाई पछ्यायो ।6 उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्‍ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचूर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्‍तसम्म रहिरहन्‍छ ।7 मैले कूशनका पालहरूलाई दुःखमा देखेँ, र मिद्दानको भूमिमा भएका पालहरूका रचनाहरूलाई काँपिरहेको देखेँ ।8 के परमप्रभु नदीहरूसँग रिसाउनुभएको थियो ? तपाईं घोडाहरूमाथि र विजयी रथहरूमाथि चढ्नुहुँदा के तपाईंको क्रोध नदीहरूको विरुद्धमा थियो, वा तपाईंको रीस समुद्रको विरुद्धमा थियो ?9 तपाईंले आफ्नो नाङ्‌गो धनु बाहिर निकाल्नुभएको छ, र तपाईंले आफ्नो धनुमा तीर राख्‍नुहुन्‍छ ! (सेला) तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो ।10 पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्‍यसले आफ्ना छालहरू उठायो ।11 तपाईंका तीरहरू उडेर चम्किँदा, तपाईंको चम्किलो भालाको चमक आउँदा, सूर्य र चन्‍द्र तिनीहरूकै उच्‍च स्थानमा अडिरहे ।12 तपाईं पृथ्वीमाथि क्रोधमा हिँड्नुभएको छ । क्रोधमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभएको छ ।13 तपाईं आफ्ना मानिसहरूको मुक्ति, आफ्नो अभिषिक्त जनको मुक्तिको निम्ति निस्कनुभयो । दुष्‍टको घरानाको मुखियालाई तपाईंले चकनाचूर पार्नुभयो र त्‍यसको खुट्टादेखि घाँटीसम्म त्‍यसलाई नाङ्‌गो पारिदिनुभयो । (सेला)14 तपाईंले त्‍यसका लडाकुहरूका शिरलाई तिनीहरूकै तीरले छेडिदिनुभयो किनभने तिनीहरू हामीलाई तितरबितर गर्न आँधीझैँ आए, शरणस्थानमा दरिद्रहरूलाई भस्म पार्नेको झैँ तिनीहरूको नजर थियो ।15 तपाईं आफ्ना घोडाहरूमा समुद्रमाथि हिँड्नुभएको छ, र समुद्रमाथि तपाईंले कुल्चनुभएको छ ।16 मैले सुनेँ, र मेरा भित्री अङ्‌गहरू काँपे ! त्‍यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने सङ्‌कटको दिनलाई शान्‍त भएर पर्खिंदा मेरा हड्‌डीहरू मक्किन्‍छन्, र म भित्र-भित्रै काँप्छु ।17 अञ्‍जीरका रूखहरूमा मुना नलागे पनि, र दाखका बोटहरूमा कुनै फल नलागे पनि, र जैतूनको रूखले केही नफलाए पनि, र भूमिले केही भोजन नदिए पनि, र खोरबाट बगाल हटाइए पनि, र गोठमा कुनै गाइवस्तु नभए पनि, म यही गर्नेछु ।18 म अझै पनि परमप्रभुमा रमाहट गर्नेछु । मेरो मुक्तिको परमेश्‍वरको कारण म खुशी हुनेछु ।19 परमप्रभु परमेश्‍वर मेरो शक्ति हुनुहुन्‍छ र उहाँले मेरा खुट्टालाई हरिणका झैँ बनाउनुहुन्‍छ । उहाँले मलाई उच्‍च स्थानहरू अगि जान दिनुहुन्‍छ । - सङ्‌गीत निर्देशकको निम्ति, मेरा तार- वाद्यहरूमा बजाइने राग ।