37
परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्याउनुभयो र एउटा बेँसीको बीचमा मलाई राख्नुभयो । त्यो हाडहरूले भरिएको थियो ।2 त्यसपछि उहाँले मलाई ती वरिपरि घुमाउनुभयो । हेर, त्यहाँ बेँसीमा तिनीहरूका सङ्ख्या धेरै थिए । हरे, ती धेरै सुक्खा थिए ।3 उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के यी हाडहरू फेरि जीवित हुन सक्छन् ?” यसैले मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्वर, यो त तपाईंले मात्र जान्नुहुन्छ ।4 तब उहाँले मलाई भन्नुभयो, “यी हाडहरूमाथि अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘ए सुक्खा हाडहरू, परमप्रभुको वचन सुन ।5 परमप्रभु परमेश्वर यी हाडहरूलाई यसो भन्नुहुन्छः हेर, मैले तिमीहरूभित्र सास हाल्न लागेको छु, र तिमीहरू जीवित हुनेछौ ।6 म तिमीहरूमा नसाहरू राखिदिनेछु र तिमीहरूमा मासु भरिदिनेछु । म तिमीहरूलाई छालाले ढाक्नेछु र तिमीहरूमा सास हाल्नेछु, यसरी तिमीहरू जीवित हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।’7 यसैले जस्तो मलाई आज्ञा गरियो त्यस्तै मैले अगमवाणी गरेँ । जसै मैले अगमवाणी गरेँ, हेर, थर्केको आवाज आयो । अनि हाडहरू नजिक आए - हाड-हाडसँग टाँसियो ।8 मैले हेरेँ र हेर, तिनीहरूमा नसा आएका थिए र मासु बढ्यो र छालाले तिनीहरूलाई ढाके । तर तिनीहरूमा अझै पनि सास थिएन ।9 तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, सासको निम्ति अगमवाणी गर्, र सासलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः ए सास, चारैतिरबाट बतास आइज, र यी मारिएकाहरूमाथि फुकिदे, यसरी तिनीहरू जीवित हुनेछन् ।’10 यसैले मलाई आज्ञा भएझैँ मैले अगमवाणी गरेँ । तिनीहरूमा सास आयो र तिनीहरू जीवित भए । त्यसपछि तिनीहरू आफ्ना खुट्टामा, एउटा ठूलो फौज खडा भए ।11 तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो , यी हाडहरूचाहिँ इस्राएलका सम्पूर्ण घराना हुन् । हेर, तिनीहरू यसो भन्दैछन्, ‘हाम्रा हाडहरू सुकेका छन्, र हाम्रा आशा हराएको छ । हामी बहिष्कृत भएका छौँ ।’12 यसकारण अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर, ए मेरा मानिसहरू, म तिमीहरूका चिहान उघार्नेछु र त्यहाँबाट तिमीहरूलाई बाहिर निकाल्नेछु । तिमीहरूलाई म इस्राएल देशमा फर्काएर ल्याउनेछु ।13 ए मेरा मानिसहरू, जब म तिमीहरूका चिहान उघार्नेछु र तिमीहरूलाई त्यहाँबाट बाहिर निकाल्नेछु, तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।14 तिमीहरूभित्र म आफ्नो आत्मा हालिदिनेछु, यसरी तिमीहरू जीवित हुनेछौ, र म नै परमप्रभु हुँ भनी जब तिमीहरूले जान्नेछौ, तब तिमीहरूलाई आफ्नै देशमा म विश्राम दिनेछु । म यो घोषणा गर्छु र यो गर्नेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।’15 अनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,16 “यसैले अब, ए मानिसको छोरो, आफ्नो निम्ति एउटा लौरो ली र त्यसमा लेख्, ‘यहूदा र त्यसका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’ त्यसपछि अर्को लौरो ली र त्यसमा लेख्, ‘योसेफ, एफ्राइमको हाँगो र तिनीहरूका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’17 ती दुवै लौरोलाई जोडेर एउटै बना, ताकि ती तेरो हातमा एकै होऊन् ।18 जब तेरा मानिसहरूले तँलाई खोज्छन् र यसो भन्छन्, ‘के यी कुराहरूको अर्थ तपाईं हामीलाई भन्नुहुन्न ?’19 तब तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर, एफ्राइमको हातमा भएको योसेफको हाँगो र त्यसको सहयोगी इस्राएलका कुलहरूलाई लिएर म यहूदाको हाँगोसँग जोड्दैछु, ताकि तिनीहरूले एकै हाँगो बनाउनेछन्, र तिनीहरू मेरो हातमा एक हुनेछन् ।’20 तिनीहरूका आँखाका सामु तैँले लेखेका ती हाँगाहरूलाई आफ्नो हातमा समात् ।21 तिनीहरूलाई घोषणा गर्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर, इस्राएलका मानिसहरू गएका जातिहरूका बीचबाट म तिनीहरूलाई निकाल्दैछु । तिनीहरूलाई वरिपरिका देशहरूबाट म भेला गराउनेछु र तिनीहरूकै देशमा म तिनीहरूलाई ल्याउनेछु ।22 देशमा, इस्राएलका पर्वतहरूमा म तिनीहरूलाई एउटा जाति बनाउनेछु, र एक मात्र राजा तिनीहरू सबैका राजा हुनेछ, र तिनीहरू फेरि दुई जाति हुनेछैनन् । तिनीहरू फेरि दुई राज्यमा विभाजित हुनेछैनन् ।23 त्यसपछि आफ्ना मूर्तिहरू, घिनलाग्दा कुराहरू, वा तिनीहरूका अरू कुनै पापहरूले तिनीहरूले आफूलाई अशुद्ध पार्नेछैनन् । किनकि तिनीहरूले पाप गरेका सबै विश्वासहीन कामहरूबाट म तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई म शुद्ध पार्नेछु, ताकि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु ।24 मेरो दास दाऊद तिमीहरूका राजा हुनेछ । यसैले तिनीहरू सबैमाथि एक जना मात्र गोठालो हुनेछ, र तिनीहरू मेरा विधिअनुसार हिँड्नेछन्, र तिनीहरूले मेरा नियमहरू मान्नेछन्, र ती पालना गर्नेछन् ।25 मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरीहरू, र नातिनातिना सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ ।26 तिनीहरूसँग शान्तिको करार म स्थापित गर्नेछु । यो तिनीहरूसितको सदासर्वदाको करार हुनेछ । म तिनीहरूलाई स्थापित गर्नेछु र तिनीहरूको वृद्धि गर्नेछु र सदाको निम्ति तिनीहरूका बीचमा मेरो पवित्र स्थान राख्नेछु ।27 मेरो वासस्थान तिनीहरूसँगै हुनेछ । म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।28 तब इस्राएललाई अलग गर्ने परमप्रभु म नै हुँ भनी जातिहरूले जान्नेछन् । त्यति बेला मेरो पवित्र स्थान सदासर्वदाको निम्ति तिनीहरूका बीचमा स्थापित हुन्छ’ ।”