28
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 "ए मानिसको छोरो, टुरोसको शासकलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तेरो हृदय अहंकारी छ । तैँले भनेको छस्, "म एक देवता हुँ । म समुद्रको बीचमा एक देवताको आसनमा बस्नेछु !" तँ एक जना मानिस मात्र होस्, र देवता होइनस्, तापनि तैँले आफ्नो हृदयलाई एक देवताको हृदय जत्तिकै बनाउँछस् ।3 तँ आफैलाई दानिएल भन्दा पनि बुद्धिमान् होस् र कुनै गुप्त कुराले तँलाई छक्क पार्दैन भनी सम्झन्छस् ।4 तैँले बुद्धि र सीपले आफैलाई सम्पन्न तुल्याएको छस् र आफ्नो भण्डारहरूमा सुन र चाँदी थुपारेको छस् ।5 ठूलो बुद्धि र आफ्नो व्यापारले तैँले आफ्नो धन-सम्पत्ति बढाएको छस् । यसैले आफ्नो धन-सम्पत्तिको कारणले तेरो हृदय अहंकारी छ ।6 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तैँले आफ्नो हृदय देवताको हृदय जस्तै बनाएको कारणले,7 विदेशीहरू, अरू जातिका डरलाग्दा मानिसहरूलाई म तेरो विरुद्धमा ल्याउनेछु । तिनीहरूले आफ्ना तरवार तेरो बुद्धिको सौन्दर्यको विरुद्धमा थुत्नेछन्, र तेरो गौरवलाई अपवित्र पार्नेछन् ।8 तिनीहरूले तँलाई तल खाडलमा पुर्याउनेछन्, र समुद्रको बीचमा मर्नेहरूझैँ तेरो मृत्यु हुनेछ ।9 तँलाई मार्नेहरूका सामु के तँ अझै पनि "म देवता हुँ" भन्नेछस् र ? तँ मानिस होस्, र देवता होइन, र तँलाई छेड्नेहरूका हातमा तँ हुनेछस् ।10 विदेशीहरूका हातबाट तँ खतना नगर्नेहरूझैँ मर्नेछस्, किनकि मैले यो घोषणा गरेको छु - यो परमप्रभु परमेश्वरको घोषणा हो' ।11 परमप्रभुको वचन फेरि मकहाँ यसो भनेर आयो,12 "ए मानिसको छोरो, टुरोसका राजाको निम्ति विलाप गर्, र त्यसलाई भन्ः 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तँ सिद्धताको नमुना, अनि बुद्धिले पूर्ण र सुन्दरतामा सिद्ध थिइस् ।13 परमेश्वरको बगैँचा अदनमा तँ थिइस् । हरेक बहुमूल्य पत्थरले तँ सिँगारिएको थिइस्ः मानिक, पुष्पराज, पन्ना, पीतमणि, आनिक्स, बिल्लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस् । तेरा साज-सज्जा र प्रदर्शन सुनले बनेका थिए । तेरो सृष्टि भएको दिनमा नै ती तयार पारिएका थिए ।14 मानिसहरूका सुरक्षा गर्न मैले तँलाई करूबलाई झैँ अभिषेक गरेर मैले तँलाई परमेश्वरको पवित्र डाँडामा राखेँ । अग्निमय पत्थरहरूका बीचमा तँ थिइस्, जहाँ तँ हिँड्थिस् ।15 तेरो सृष्टि गरिएको दिनदेखि तँमा अन्याय फेला नपरेसम्म, तेरो चालमा तँ दोषरहित थिइस् ।16 तेरो ठूलो व्यापारले तँ उपद्रवले भरिइस्, र तैँले पाप गरिस् । यसैले अशुद्ध भएको व्यक्तिलाई झैँ मैले तँलाई परमेश्वरको डाँडाबाट बाहिर फालेँ, र मैले तँलाई नष्ट गरेँ, ए अभिभावक करूब, र मैले तँलाई अग्निमय पत्थरहरूका बीचबाट धपाएँ ।17 तेरो सुन्दरताले गर्दा तेरो हृदय अहंकारी थियो । तेरो गौरवको कारणले तैँले आफ्नो बुद्धिलाई भ्रष्ट पारिस् । मैले तँलाई जमिनमा फालेको छु । मैले तँलाई राजाहरूका अगि राखेको छु, यसरी तिनीहरूले तँलाई देख्नेछन् ।18 तेरा धेरै पाप र बेइमान व्यापारको कारणले तैँले आफ्ना पवित्र ठाउँहरूलाई बिटुलो पारेको छस् । यसैले मैले तँबाटै एउटा आगो निकालेको छु । त्यसले तँलाई भस्म पार्नेछ। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्टिमा म तँलाई जमिनमा खरानी तुल्याउनेछु ।19 मानिसहरूका माझमा तँलाई चिन्नेहरू तँलाई देखेर भयभीत हुनेछन् । तिनीहरू डराउनेछन्, र तँ फेरि कहिल्यै रहनेछैनस्' ।20 त्यसपछि परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,21 "ए मानिसको छोरो, सीदोनतिर तेरो मुख फर्का, र त्यसको विरुद्धमा अगमवाणी गर् ।22 यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, ए सीदोन, म तेरो विरुद्धमा छु । तेरो माझमा मेरो महिमा हुनेछ । मैले तँभित्र न्याय गर्दा, म नै परमप्रभु हुँ भनी तेरा मानिसहरूले जान्नेछन् । तँभित्र म पवित्र प्रकट हुनेछु ।23 तँभित्र एउटा रूढी पठाउने, र त्यसका गल्लीहरूमा रगत म बगाउनेछु । मारिनेहरू तेरो बीचमा ढल्नेछन् । जब चारैतिरबाट तेरो विरुद्धमा तरवार आउनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।24 तब इस्राएलका घरानालाई, त्यसका मानिसहरूलाई घृणा गर्न त्यसका वरिपरि कसैबाट पनि दुःख दिने सिउँडी र तीखा काँढाहरू फेरि कहिल्यै हुनेछैनन् । यसरी तिनीहरूले म नै परमप्रभु परमेश्वर हुँ भनी जान्नेछन् ।25 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘जब इस्राएलका घरानालाई तिनीहरू छरपष्ट भएका मानिसहरूका माझबाट म भेला गर्छु, र तब तिनीहरूलाई अलग गर्नेछु, यसरी जातिहरूले देख्न सक्छन् । त्यसपछि मेरो दास याकूबलाई मैले दिने देशमा तिनीहरूले आफ्ना मन्दिरहरू बनाउनेछन् ।26 त्यसपछि तिनीहरू त्यसभित्र सुरक्षित रहनेछन्, र मन्दिरहरू बनाउनेछन्, दाखबारी लगाउनेछन् । अनि तिनीहरूलाई घृणा गर्ने वरिपरिका सबैलाई मेले न्याय गर्दा, तिनीहरू त्यहाँ सुरक्षित रहनेछन् । तब तिनीहरूले म नै परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन्' ।"