16
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 "ए मानिसको छोरो, यरूशलेमलाई त्‍यसका घिनलाग्दा कामहरूका बारेमा जानकारी दे,3 र घोषणा गर्, 'यरूशलेमलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो सुरु र तेरो जन्‍म कनानहरूको देशमा भएको हो । तेरो बुबा एक एमोरी थियो, र तेरी आमाचाहिँ एक हित्ती थिई ।4 जन्‍मँदा तेरी आमाले तेरो नाभि काटिन, न त त्‍यसले तँलाई सफा गर्नलाई पानीले नुहाइदिई वा तेरो शरीर नूनले दली, वा तँलाई लुगाले बेह्री ।5 तँप्रति दयालु भएर तेरो निम्ति यी कुरामध्‍ये कुनै गर्न कोही मानिसका आँखामा दया थिएन । तँ जन्‍मेको दिनमा तेरो जीवनलाई घृणा गरेर तँलाई बाहिर मैदानमा फालियो ।6 तर म तेरो छेउबाट गएँ, र मैले तँलाई तेरो आफ्नै रगतमा लटपटिरहेको देखेँ । यसैले तेरो रगतमा मैले तँलाई भनेँ, "बाँच् ।" तेरो रगतमा मैले तँलाई भनेँ, "बाँच् ।"7 मैले तँलाई मैदानको बोट जस्‍तै बढ्न लगाएँ । तँ बढिस् र ठूलो भइस्, र गहनाहरूको गहना भइस् । तँ नाङ्‌गो र वस्‍त्रहीन भए तापनि तेरा स्तनहरू कडा भए, र तेरो कपाल बाक्लो भयो ।8 म फेरि तेरो छेउबाट गएँ र मैले तँलाई देखेँ । हेर्, तेरो निम्ति प्रेम गर्ने समय आयो । यसैले मैले मेरो वस्‍त्रको छेउ तँमाथि ओढाएँ र तेरो नग्‍नता ढाकिदिएँ । तब मैले तँसित बाचा बाँधेँ र तँलाई करारमा ल्याएँ र तँ मेरो भइस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।9 यसैले मैले तँलाई पानीले नुहाए र तेरो रगत तँबाट मिचेर धोइदिएँ, र तेलले तेरो अभिषेक गरेँ ।10 तँलाई बुट्टादार वस्‍त्र पहिराएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाएँ । मैले तँलाई मलमलको कपडामा बेह्रेँ, र रेशमी लुगाले तँलाई ढाकेँ ।11 त्‍यसपछि मैले तँलाई गरगहनाले आभूषित गरेँ, तेरा हातमा चुरा लगाएँ, र तेरो गलामा सिक्री पहिराएँ ।12 मैले तेरो नाकमा नत्थ लगाएँ र कानमा लुर्का लगाएँ, तेरो शिरमा सुन्‍दर मुकुट पहिराएँ ।13 यसरी तँ सुन र चाँदीले आभूषित भइस्, र तैँले मलमल र रेशमी र बुट्टादार कपडा लगाइस् । तैँले मसिनो पीठो, मह र भद्राक्षको तेल खाइस्, र तँ अत्‍यन्‍तै सुन्‍दरी थिइस्, र तँ रानी भइस् ।14 तेरो सौन्‍दर्यको कारणले तेरो ख्याति जातिहरूका बीचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्‍दर्य सिद्ध थियो - यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।15 तर तेरो आफ्नो सौन्‍दर्यमा तैँले भरोसा राखिस् र तेरो ख्यातिको कारणले तैँले एक वेश्याले झैँ काम गरिस् । छेउबाट जाने जोसुकैलाई पनि तैँले वेश्याले झैँ आफ्नो काम तैँले गरिस्, ताकि तेरो सौन्‍दर्य उसको भयो ।16 तब आफ्ना केही वस्‍त्र लिएर तैँले राम्ररी सिङ्‌गारिएका डाँडाका थानहरू बनाइस्, र त्‍यहीँ नै तैँले वेश्याले झैँ व्यवहार गरिस् । यस्तो नहुनुपर्थ्यो । न त यस्तो कुरा अस्तित्वमा हुनुहुन्‍थ्‍यो ।17 मैले तँलाई दिएको सुन र चाँदीका गहना तैँले लिइस् र तैँले आफ्नो निम्ति पुरुष-मूर्तिहरू बनाइस् र तीसँग तैँले वेश्याले झैँ काम गरिस् ।18 तैँले आफ्ना बुट्टादार कपडाहरू लिइस् र तिनीहरूलाई ढाकिस् र मेरो तेल र अत्तर तैँले तिनीहरूका अगि चढाइस् ।19 मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ - सुगन्धित बास्‍ना हुनलाई तैँले ती तिनीहरूका अगि चढाइस् किनकी यस्तै भएको छ - यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।20 अनि तैँले मेरो निम्ति जन्‍माएका तेरो छोराछोरीहरूलाई तैँले लिइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैँले तिनीहरूको बलि चढाइस् । के तेरा वेश्यावृत्तिका कामहरू साना कुराहरू हुन् ?21 तैँले मेरा छोराछोरीहरूलाई मूर्तिहरूका निम्ति मारिस् र तिनीहरूलाई आगोमा हिँड्न लगाइस् ।22 तेरा यी सबै घृणित काम र वेश्यावृत्तिमा तैँले आफ्नो युवावस्थाका दिनहरू सम्झेको छैनस्, जति बेला तँ नाङ्‌गो, वस्‍त्रहीन भएर आफ्नो रगतमा लटपटिएकी थिइस् ।23 धिक्कार ! तँलाई धिक्कार ! - यो परमप्रभु परमेश्‍वरको घोषणा हो - यसकारण, यी सबै दुष्‍टताका साथै24 तँ आफैले हरेक सार्वजनिक ठाउँमा गुमज पूजाकोठा बनाइस् ।25 हरेक चोकमा आफ्नो निम्ति एउटा अग्‍लो देवता-थान बनाइस् र तैँले आफ्नो सुन्‍दताको अपमान गरिस्, अनि त्‍यहाँबाट जाने सबैलाई आफ्ना खुट्टाहरू फैलाइस् र तैँले आफ्नो वेश्यावृत्तिका कामहरू बढाइस् ।26 यौनले उन्‍मत्त तेरो मिश्र देशका छिमेकीहरूसित पनि तैँले वेश्यावृत्ति गरेको छस्, र वेश्यावृत्तिका तेरा अरू धेरै कामले मलाई रीस उठाइस् ।27 हेर्, म आफ्नै हातले तँलाई हिर्काउनेछु र तेरो रोटी बन्‍द गर्नेछु । तेरो जीवन म तेरा शत्रुहरू, पलिश्तीहरूका छोरीहरूका हातमा सुम्पिदिनेछु जो तेरा घिनलाग्दा व्यवहार देखेर लज्‍जित भएका थिए ।28 तैँले अश्शूरीहरूसित पनि वेश्यावृत्ति गरिस्, किनभने तँ तृप्त हुन सकिनस् । तैँले वेश्याले झैँ काम गरिस् र पनि तँ सन्‍तुष्‍ट भइनस् ।29 कल्दीका व्यापारीहरूका देशमा पनि तैँले धैरै वेश्यावृत्तिका कामहरू गरिस्, र यसले पनि तँलाई सन्‍तुष्‍ट बनाएन ।30 तेरो हृदय कति बिरामी छ - यो परमप्रभु परमेश्‍वरको घोषणा हो - कि एक निर्लज्‍ज वेश्याका कामहरू जस्ता यी सबै कुराहरू तैँले गरिस् ?31 हरेक गल्लीको मोडमा आफ्नो डाँडाका थानहरू र हरेक सार्वजनिक ठाउँमा तैँले गुमज पूजाकोठा बनाइस् । तापनि तँ वेश्या जस्‍तो थिइनस्, किनभने ज्‍याला लिन तैँले इन्कार गरिस् ।32 तँ व्यभिचारी स्‍त्री, तँ आफ्नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् ।33 मानिसहरूले त हरेक वेश्यालाई ज्‍याला दिन्‍छन्, तर तैँले चाहिँ उल्टो आफ्ना सबै प्रेमीलाई ज्‍याला दिन्‍छेस् र तँसित वेश्यवृति गर्न चारैतिरबाट तिनीहरू तँकहाँ आऊन् भनेर घूस दिन्‍छेस् ।34 यसैले तँ र अरू स्‍त्रीहरूमा फरक छ । किनकि आफूसँग सुत भन्‍न कोही पनि तँकहाँ आउँदैन । बरु, तैँले तिनीहरूलाई ज्‍याला दिन्‍छेस् । कसैले पनि तँलाई ज्‍याला दिँदैन ।35 यसकारण ए वेश्या, परमप्रभुको वचन सुन् ।36 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैँले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्‍नता देखाएको छस्, र तेरा सबै घिनलाग्दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैँले आफ्ना छोराछोरीहरूको रगत चढाएको छस्,37 यसकारण हेर्, तैँले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैँले प्रेम गरेका सबै प्रेमीहरू र तैँले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्मा गर्नेछु । तिनीहरूले तेरो नग्‍नता देखून् भनेर म तेरो नग्‍नता उघारिदिनेछु ।38 किनकि व्यभिचार र रगत बगाएको निम्ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु ।39 तँलाई तिनीहरूका हातमा म सुम्पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पूजाकोठा भत्काउनेछन् र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्‌गो पार्नेछन् र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्‌गो र उजाड छोडिदिनेछन् ।40 तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्याउनेछन्, र तँलाई ढुङ्‌गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन् ।41 तिनीहरूले तेरा घरहरू जलाउनेछन्, र धेरै स्‍त्रीहरूले देख्‍ने गरी तँलाई धेरै किसिमका दण्ड दिनेछन्, किनकि म तेरो वेश्यावृत्ति रोक्‍नेछु, र तैँले आफ्ना प्रेमीहरूलाई फेरि ज्‍याला दिनेछैनस् ।42 तब तेरो विरुद्धमा भएको मेरो क्रोध म शान्‍त पार्नेछु । मेरो रीसले तँलाई छोड्नेछ किनकि म सन्‍तुष्‍ट हुनेछु, र फेरि कहिलै रिसाउनेछैनँ ।43 तैँले आफ्नो युवावस्थाका दिनलाई सम्झेको छैनस्, र यी सबै कुराले मलाई रीसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैँले गरेका कामको दण्ड म आफै तेरो आफ्नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्दा व्यवहारहरूमा वेश्यवृति पनि थपेको छैनस् र ?44 हेर्, उखान भन्‍ने हरेकले तेरो विषयमा यो उखान भन्‍नेछः " जस्‍तो आमा उस्तै छोरी ।"45 तँ आफ्नी आमाकी छोरी होस्, जसले आफ्नै पति र छोराछोरीहरूलाई घृणा गरी, अनि आफ्नी दिदीहरूकी बहिनी होस् जसले आफ्नै पति र छोराछोरीहरूलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो ।46 तेरी दिदी सामरिया थिई र त्‍यसका छोरीहरू उत्तरमा बस्थे, तेरी बहिनीचाहिँ तेरो दक्षिणपट्टि बस्थी, अर्थात् सदोम र त्‍यसका छोरीहरू थिए ।47 तैँले तिनीहरूका चालमा मात्र चलिनस् र तिनीहरूका घिनलाग्दा व्यवहारहरू र अभ्यासहरू मात्र नक्कल गरिनस् तर तेरा सबै चालमा तँ तिनीहरू भन्‍दा झन् भ्रष्‍ट भएको छस् ।48 जस्‍तो म जीवित छु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ र तेरा छोरीहरूले जति धेरै दुष्‍टता गरेका छौ त्‍यति तेरी बहिनी सदोम र त्‍यसका छोरीहरूले गरेनन् ।49 हेर्, तेरी बहिनी सदोमको पापचाहिँ यो थियो, त्‍यो आफ्नो फुर्सदमा अहंकारी थिई, साथै लापरवाह र कुनै कुराको चिन्‍ता नगर्ने थिई । त्‍यसले दरिद्र र खाँचोमा परेका मानिसहरूका हातहरू बलियो पारिन ।50 त्‍यो अहंकारी थिई र मेरो सामु घिनलाग्दा काम गरी, यसैले मैले तिनीहरूलाई उठाएँ, जसरी तैँले देखिस् ।51 सामरियाले पनि तैँले गरेका पापहरूका आधा पनि गरेन । त्‍यसको साटोमा, तिनीहरूले गरेको भन्‍दा ज्‍यादै धेरै घिनलाग्दा काम तैँले गरिस्, र तैँले गरेका यी सबै घिनलाग्दा कामका कारणले तेरा दिदी-बहिनी तँ भन्‍दा असल थिए भनी तैँले देखाइस् ।52 विशेषगरी तैँले आफ्नो निर्लज्‍जता देखाउँछेस् । यसरी तैँले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँ भन्‍दा असल थिए भन्‍ने तैँले देखाइस् । तेरा दिदीबहिनी अब तँ भन्‍दा असल देखिन्‍छन् । विशेषगरी तैँले आफ्नै निर्लज्‍जता देखाउँछेस्, किनकि यसरी तेरा दिदीबहिनी तँ भन्‍दा असल थिए भनी तैँले देखाइस् ।53 किनकि म तिनीहरूका सुदिन - सदोम र त्‍यसका छोरीहरूका सुदिन र सामरिया र त्‍यसका छोरीहरूका सुदिन फर्काइदिनेछु । तर तेरो सुदिन तिनीहरूकै बीचमा हुनेछ ।54 यी कुराहरूका कारणले तैँले आफ्ना लाज देखाउनेछस् । तैँले गरेका हरेक कुराको कारणले तेरो अपमान हुनेछ, र यसरी तिनीहरूका निम्ति तँचाहिँ सान्‍त्वना हुनेछस् ।55 तेरी बहिनी सदोम र त्‍यसका छोरीहरू पहिलेको अवस्थामा फर्किनेछन्, र सामरिया र त्‍यसका छोरीहरू आफ्नो पहिलेको अवस्थामा फर्किनेछन् । त्‍यसपछि तँ र तेरा छोरीहरू आफ्नो पहिलेको अवस्थामा फर्किनेछौ ।56 तँ अहंकारी भएको दिनमा पनि तेरो मुखले तेरी बहिनी सदोमको सम्झना गरिनस्,57 तेरो दुष्‍टता प्रकट हुनुअघि । तर अहिले तँ एदोमका छोरीहरू र त्‍यसका वरिपरिका पलिश्तीहरूका छोरीहरूका बीचमा गिल्लाको पात्र बनेको छस् । मानिसहरूले तँलाई घृणा गर्छन् ।58 तैँले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस् - यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।59 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँलाई जस्‍तो व्यवहार गर्नु उचित हुन्‍छ त्‍यस्तै व्यवहार म तँसित गर्नेछु । तैँले करार भङ्‌ग गरेर आफ्नो शपथलाई तुच्‍छ ठानेकी छस् ।60 तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु ।61 तब तैँले आफ्ना चालहरू सम्झनेछस् र दिदी-बहिनीहरू दुवैलाई तैँले ग्रहण गर्दा लज्‍जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिँ होइन ।62 म आफै मेरो करार तँसित स्थापना गर्नेछु, र म नै परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् ।63 यी कुराहरूका कारणले, तैँले सबै कुरा सम्झनेछस्, र लज्‍जित हुनेछस्, यसरी आफ्नो लाजको कारण तैँले आफ्नो मुख फेरि कहिल्यै खोल्नेछैनस् । त्‍यति बेला तैँले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्‍छु - यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।"