147
परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्वरको स्तुति गाउनु असल कुरा हो । यो सुखद हुन्छ र प्रशंसा उचित छ । 2 परमप्रभुले यरूशलेमलाई पुनर्निर्माण गर्नुहुन्छ । उहाँले छरिएका इस्राएलका मानिसहरूलाई एकसाथ भेला गर्नुहुन्छ । 3 तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ । 4 उहाँले ताराहरू गन्नुहुन्छ । उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ । 5 हाम्रा परमप्रभु महान् र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्न गर्न सकिँदैन । 6 परमप्रभुले थिचोमिचोमा परेकाहरूलाई माथि उठाउनुहुन्छ । उहाँले दुष्टहरूलाई तल जमिनमा झार्नुहुन्छ । 7 धन्यवादसाथ परमप्रभुको प्रशंसा गर । वीणा बजाएर हाम्रो परमेश्वरको प्रशंसा गर । 8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ । पहडाहरूमाथि घाँस उमार्नुहुन्छ । 9 उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ । 10 घोडाको बलमा उहाँ प्रसन्न हुनुहुन्न । मानिसका बलियो गोडाहरूमा उहाँ खुसी हुनुहुन्न । 11 परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, जसले उहाँको करारको विश्वस्ततामा आशा गर्छन् । 12 हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्वरको प्रशंसा गर् । 13 किनकि उहाँले तेरा ढोकाहरूका डन्डाहरू बलियो बनाउनुहुन्छ । उहाँले तेरो माझमा भएका तेरा छोराछोरीहरूलाई आशिष् दिनुहुन्छ । 14 उहाँले तेरो सिमानाभित्र फलिफाप ल्याउनुहुन्छ । उत्तम गहूँले उहाँले तँलाई तृप्त पार्नुहुन्छ । 15 उहाँले आफ्ना आज्ञालाई पृथ्वीमा पठाउनुहुन्छ । उहाँको आज्ञा द्रूत गतिमा दौडिन्छ । 16 उहाँले हिउँलाई ऊनझैँ बनाउनुहुन्छ । उहाँले तुसारोलाई खरानीझैँ छर्नुहुन्छ । 17 उहाँले असिना कङ्कडझैँ बर्साउनुहुन्छ । उहाँले पठाउने चिसोको सामना कसले गर्न सक्छ र ? 18 उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्लिन्छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ । 19 उहाँले आफ्नो वचन याकूबलाई, उहाँका विधिहरू र उहाँ धार्मिक आदेशहरू इस्राएललाई घोषणा गर्नुभयो । 20 उहाँले अरू कुनै जातिमा त्यसो गर्नुभएको छैन, र उहाँका आदेशहरूका बारेमा तिनीहरूले ती जान्दैनन् । परमप्रभुको प्रशंसा गर ।