145
हे मेरो परमेश्‍वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्‍यको भन्‍नेछु । 2 हरेक दिन म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु । 3 परमप्रभु महान् हुनुहुन्‍छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाह छ । 4 एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ । 5 म तपाईंको महिमाको ऐश्‍वर्य र तपाईंका अचम्मका कामहरूमा ध्‍यान गर्नेछु । 6 तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्‍नेछन् र म तपाईंको महान्‌ताको घोषणा गर्नेछु । 7 तिनीहरूले तपाईंको प्रचूर भलाइको घोषणा गर्नेछन् र तिनीहरूले तपाईंको धार्मिकताको बारेमा गाउनेछन् । 8 परमप्रभु अनुग्रही र कृपालु, रीसमा ढिला र करारको विश्‍वस्ततामा प्रशस्त हुनुहुन्‍छ । 9 परमप्रभु सबैका निम्ति भला हुनुहुन्‍छ । उहाँका सबै काममा उहाँका कोमल कृपा छन् । 10 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्‍यवाद दिनेछन् । तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंलाई धन्‍यको भन्‍नेछन् । 11 तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको राज्‍यको महिमाको बारेमा भन्‍नेछन् र तिनीहरूले तपाईंको शक्तिको बारेमा बोल्नेछन् । 12 तिनीहरूले मानवजातिलाई परमेश्‍वरको शक्तिशाली कामहरू र उहाँको राज्‍यको महिमित वैभव प्रकट गर्नेछन् । 13 तपाईंको राज्‍य अनन्‍तको राज्‍य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्‍छ । 14 असफल भइरहेका सबैलाई परमप्रभुले सहारा दिनुहुन्‍छ र दबिएकाहरू सबैलाई माथि उठाउनुहुन्‍छ । 15 सबैका आँखाहरूले तपाईंमा आशा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठीक समयमा दिनुहुन्‍छ । 16 तपाईंले आफ्नो हात खोल्नुहुन्‍छ र सबै जीवित प्राणीका इच्‍छा तृप्त पार्नुहुन्‍छ । 17 परमप्रभु आफ्ना सबै मार्गमा धर्मी र उहाँले गर्ने सबै काममा अनुग्रही हुनुहुन्‍छ । 18 परमप्रभुलाई पुकार्नेहरू सबैका नजिक, उहाँलाई सत्‍यतामा पुकार्नेहरूको नजिक हुनुहुन्‍छ । 19 उहाँलाई आदर गर्नेहरूका इच्‍छा उहाँले पूरा गर्नुहुन्‍छ । उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ र तिनीहरूलाई बचाउनुहुन्‍छ । 20 परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्‍छ, तर उहाँले सबै दुष्‍टलाई नाश गर्नुहुनेछ । 21 मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्‍यको भनून् ।