139
हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्नुहुन्छ । 2 म बस्दा र म उठ्दा तपाईंले जान्नुहुन्छ । तपाईंले मेरो विचार टाढैबाट बुझ्नुहुन्छ । 3 तपाईंले मेरो मार्ग र मेरो सुताइ हेर्नुहुन्छ । मेरा सबै मार्गहरूका बारेमा तपाईं परिचित हुनुहुन्छ । 4 हे परमप्रभु, मेरो जिब्रोमा शब्द आउनअघि नै तपाईंले त्यो पूर्ण रूपमा जान्नुहुन्छ । 5 मेरो अगाडि र पछाडि तपाईंले मलाई घेर्नुहुन्छ र ममाथि तपाईंको हात राख्नुहुन्छ । 6 यस्तो ज्ञान मेरो निम्ति अति धेरै हुन्छ । यो अत्यन्त उच्च छ, म यसमा पुग्नै सक्दिनँ । 7 तपाईंको आत्माबाट म कहाँ जान सक्छु र ? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु र ? 8 आकाशमाथि उक्लेँ भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीँ हुनुहुन्छ । 9 प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्लो भागमा बसेँ भने, 10 त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्याउनेछ । तपाईंको दाहिने बाहुलीले मलाई समातेर राख्नेछ । 11 मैले भनेँ, "निश्चय नै अन्धकारले मलाई ढाक्नेछ र मेरो वरिपरिको ज्योति रात हुनेछ", 12 तापनि त्यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैँ चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् । 13 तपाईंले मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो । 14 म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ । 15 जब मलाई गुप्तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् । 16 तपाईंले मलाई गर्भभित्रै देख्नुभयो । मेरो निम्ति तोकिएको आयुको पहिलो दिन हुनुअघि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए । 17 हे परमेश्वर, तपाईंका विचारहरू मेरो निम्ति कति बहुमूल्य छन् ! तिनका सङ्ख्या कति धेरै छन् ! 18 तिनलाई मैले गन्न कोसिस गरेँ भने, ती बालुवाको सङ्ख्या भन्दा धेरै हुन्छन् । म ब्युँझिँदा, म अझै तपाईंसँगै हुन्छु । 19 हे परमेश्वर, तपाईंले दुष्टहरूलाई मार्नुभएको भए असल हुन्थ्यो । ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ । 20 तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन् । तपाईंका शत्रुहरूले झुटा बोल्छन् । 21 हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र ? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र ? 22 म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु । तिनीहरू मेरा शत्रुहरू भएका छन् । 23 हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो हृदय जान्नुहोस् । मलाई जाँच्नुहोस् र मेरा विचारहरू जान्नुहोस् । 24 मभित्र कुनै दुष्ट चाल छन् कि भनी हेर्नुहोस् र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस् ।