137
बेबिलोनका नदीहरूका छेउमा बसेर हामीले सियोनको बारेमा विचार गर्दा हामी रोयौँ । 2 त्यहाँका लहरे पिपलका रूखहरूमा हामीले आफ्ना वीणाहरू झुण्ड्यायौँ । 3 हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए र हामीलाई गिल्ला गर्नेहरूले हामीलाई यसो भन्दै खुसी होओ भने, "हाम्रा निम्ति सियोनका गीतहरूमध्ये एउटा गाओ ।" 4 विदेशी भूमिमा परमप्रभुको बारेमा हामीले कसरी गीत गाउन सक्थ्यौँ ? 5 हे यरूशलेम, मैले तेरो सम्झनालाई बेवास्ता गर्छु भने, मेरो दाहिने हातले आफ्नो सीप बिर्सोस् । 6 मैले तेरो बारेमा फेरि विचार गरिनँ भने, आफ्ना सबै भन्दा ठूला आनन्दहरू भन्दा बढी मैले तेरो चाह गरिनँ भने, मेरो जिब्रो मेरै तालुमा टाँसियोस् । 7 हे परमप्रभु, यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले के गरे सो स्मरण गर्नुहोस् । तिनीहरूले भने, "यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।" 8 बेबिलोनकी छोरी, चाँडै नष्ट हुन्छ । तैँले हामीलाई जे गरिस् त्यसको बदला लिने व्यक्ति धन्यको होस् । 9 जसले तेरा स-साना बालबच्चाहरूलाई लिएर चट्टानमा पछार्छ, त्यो व्यक्ति धन्यको होस् ।