60
हे परमेश्‍वर, तपाईंले हामीलाई फाल्नुभएको छ । तपाईंले हाम्रा सुरक्षाहरू तोड्नुभएको छ । तपाईं रिसाउनुभएको छ । हामीलाई फेरि पुनर्स्थापना गर्नुहोस् । 2 तपाईंले देशलाई कम्पित पार्नुभएको छ । तपाईंले यसलाई टुक्रा पार्नुभएको छ । यसका दरारहरू निको पार्नुहोस्, किनकि यो कामिरहेको छ । 3 तपाईंले आफ्ना मानिसहरूलाई कठिन कुराहरू देख्‍न लगाउनुभएको छ । तपाईंले हामीलाई धरमराउने दाखमद्य पिउन लगाउनुभएको छ । 4 धनुर्धारीहरूका विरुद्धमा प्रदर्शन गर्नलाई तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले झन्डा खडा गर्नुभएको छ । सेला 5 ताकि तपाईंले प्रेम गर्नुभएकाहरू बाँचून्, हामीलाई तपाईंको दाहिने बाहुलीले बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् । 6 परमेश्‍वरले आफ्नो पवित्रतामा बोल्नुभएको छ, "म आनन्‍दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्कोतको बेँसीलाई भाग लगाउनेछु । 7 गिलाद मेरो हो, मनश्शे मेरो हो । एफ्राइम मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो । 8 मोआब मेरो बाटा हो । एदोममा म आफ्नो जुत्ता फुकाल्छु । पलिश्तीको कारणले म विजयमा कराउनेछु ।" 9 कसले मलाई बलियो सहरमा ल्याउनेछ ? कसले मलाई एदोममा लानेछ ? 10 तर हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन र ? तपाईं हाम्रा फौजसँग युद्धमा जानुहुन्‍न । 11 शत्रुका विरुद्धमा हामीलाई सहायता दिनुहोस्, किनकि मानिसको सहायता व्यर्थको हुन्‍छ । 12 परमेश्‍वरको सहायताले हामी विजयी हुनेछौँ । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।