32
त्‍यो व्यक्ति धन्‍यको हो जसको अपराध क्षमा भएको छ, जसको पाप ढाकिएको छ । 2 त्‍यो मानिस धन्‍यको हो जसको दोषको लेखा परमप्रभुले लिनुहुन्‍न र जसको आत्मामा छल छैन । 3 जब म चुप लागेँ, तब दिनभरिको मेरो सुस्केराले मेरा हाडहरू खिइएर गए । 4 किनकि दिन र रात ममाथि तपाईंको हात गह्रौँ भयो । ग्रीष्‍मको सुक्‍खाझैँ मेरो बल सुक्यो । 5 तब मैले आफ्नो पाप तपाईंमा स्वीकार गरेँ र मैले फेरि मेरो अधर्म लुकाइनँ । मैले भनेँ, "म आफ्ना अपराधहरू परमप्रभुमा स्वीकार गर्नेछु", र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो । सेला 6 यसैले सबै धर्मीहरूले ठूलो कष्‍टको समयमा तपाईंमा प्रार्थना गर्नुपर्छ । तब पानीको उर्लने भेल ती मानिसहरूकहाँ पुग्‍नेछैन । 7 तपाईं मेरो लुक्‍ने ठाउँ हुनुहुन्‍छ । तपाईंले मलाई कष्‍टबाट सुरक्षा दिनुहुन्‍छ । तपाईंले मलाई विजयको गीतहरूले घेर्नुहुनेछ । 8 म तँलाई शिक्षा दिनेछु र तँ हिँड्नुपर्ने बाटो सिकाउनेछु । तँमाथि मेरो दृष्‍टि राखेर म तँलाई शिक्षा दिनेछु । 9 घोडा वा खच्‍चर जस्‍तो नहो, जसको कुनै समझ हुँदैन । जहाँ तैँले इच्‍छा गर्छस् त्‍यहाँ तिनीहरूलाई लान तिनीहरूलाई अधीन गर्न लगाम र मुखारीले मात्र सकिन्‍छ । 10 दुष्‍टलाई धेरै दुःखहरू हुन्‍छन्, तर परमप्रभुमा भरोसा गर्नेलाई उहाँको करारको विश्‍वस्तताले घेरा हाल्छ । 11 ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ र आनन्‍दित होओ । सोझो हृदय हुनेहरू सबै जना आनन्‍दले कराओ ।