17
हे परमप्रभु, न्‍यायको निम्ति मेरो बिन्‍ती सुन्‍नुहोस् । मदतको निम्ति मेरो पुकारामा ध्‍यान दिनुहोस् । मेरो छलरहित ओठको मेरो प्रार्थनामा कान थाप्‍नुहोस् । 2 मेरो निर्दोषपना तपाईंको उपस्थितिबाट आओस् । तपाईंको आँखाले जे ठीक छ सो देखून् । 3 तपाईंले मेरो हृदय जाँच्‍नुहुन्‍छ भने, राति तपाईं मकहाँ आउनुहुन्‍छ भने, तपाईंले मलाई शुद्ध पार्नुहुनेछ र कुनै दुष्‍ट योजनाहरू पाउनुहुनेछैन । मेरो मुखले अपराध गर्नेछैन । 4 मानिसजातिका कामहरूका बारेमा, तपाईंको मुखको वचनले मैले आफैलाई अराजकका चालबाट अलग राखेको छु । 5 मेरा पाइलाहरू तपाईंका मार्गहरूमा दृढतासाथ अडिग छन् । मेरा पाइलाहरू चिप्लेका छैनन् । 6 हे परमेश्‍वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्‍छ । आफ्नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्‍नुहोस् । 7 आफ्ना शत्रुहरूबाट तपाईंमा शरण लिनेहरूलाई तपाईं जसले आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्‍छ, आफ्नो करारको विश्‍वस्तता अचम्म किसिमले देखाउनुहोस् । 8 आफ्नो आँखाको नानीलाई झैँ मेरो सुरक्षा गर्नुहोस् । आफ्नो पखेटाको छायामुनि मलाई लुकाउनुहोस् । 9 मलाई आक्रमण गर्ने व्यक्तिको उपस्थितिबाट, मलाई घेरा हाल्ने मेरा शत्रुहरूबाट । 10 तिनीहरूले कसैलाई दया गर्दैनन् । तिनीहरूका मुखहरूले घमण्डसाथ बोल्छन् । 11 तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन् । मलाई प्रहार गरेर जमिनमा ढाल्नलाई तिनीहरूले आफ्ना आँखा लगाउँछन् । 12 तिनीहरू शिकारको उत्कट इच्‍छा गर्ने सिंहझैँ, लुक्‍ने ठाउँहरूमा ढुकिरहेको जवान सिंहझैँ छन् । 13 हे परमप्रभु, उठ्नुहोस् । तिनीहरूलाई आक्रमण गर्नुहोस् । तिनीहरूकै सामु तिनीहरूलाई पछार्नुहोस् । तपाईंको तरवारले मेरो जीवनलाई दुष्‍टबाट बचाउनुहोस् । 14 हे परमप्रभु, तपाईंको हातले मानिसहरूबाट मलाई छुटकारा दिनुहोस्, यस संसारका मानिसहरू जसको समृद्धि यस जीवनमा मात्र छ । तपाईंले आफ्ना बहुमूल्यहरूका पेट धनले भर्नुहुनेछ । तिनीहरूका धेरै छोराछोरीहरू हुनेछन् र आफ्ना धन आफ्ना छोराछोरीहरूलाई छोड्नेछन् । 15 मेरो बारेमा, म धार्मिकतामा तपाईंको मुहार हेर्नेछु । तपाईंको दृष्‍टिमा म ब्युँझँदा, म सन्‍तुष्‍ट हुनेछु ।