10
हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्‍छ ? कष्‍टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्‍छ ? 2 आफ्नो अहंकारको कारणले दुष्‍ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्‍टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् । 3 किनकि दुष्‍ट व्यक्तिले आफ्ना गहिरा इच्‍छाहरूमा घमण्ड गर्छ । त्‍यसले लालचीलाई आशिष् दिन्‍छ र परमप्रभुको अपमान गर्छ । 4 दुष्‍ट मानिसको मुहार अहंकारपूर्ण छ । त्‍यसले परमेश्‍वरलाई खोज्दैन । त्‍यसले परमेश्‍वरको बारेमा कदापि विचार गर्दैन किनभने त्‍यसले उहाँको बारेमा केही वास्तै गर्दैन । 5 त्‍यो हर समय ढुक्क हुन्‍छ, तर तपाईंका धार्मिक आदेशहरू त्‍यसको निम्ति अति उच्‍च छन् । त्‍यसले आफ्ना सबै शत्रुलाई घृणा गर्छ । 6 त्‍यसले आफ्नो मनमा भन्‍छ, "म कहिल्यै असफल हुन्‍नँ । सारा पुस्ताभरि नै मैले दुर्दिन देख्‍नेछैन । 7 त्‍यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्‍छ । त्‍यसको जिब्रोले घायल पार्छ र नाश गर्छ । 8 त्‍यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्त ठाउँहरूमा त्‍यसले निर्दोषको हत्‍या गर्छ । त्‍यसका आँखाले बेसहारा पीडितलाई खोज्छ । 9 सिंह झाडीमा लुकेझैँ त्‍यो गुप्तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्‍न त्‍यो पर्खेर बस्छ । त्‍यसले आफ्नो जाल तान्‍दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ । 10 त्‍यसका पन्जामा परेकाहरू टेकिन्‍छन् र पिटिन्‍छन् । तिनीहरू त्‍यसको बलियो जालहरूमा फस्छन् । 11 त्‍यसले आफ्नो मनमा भन्‍छ, "परमेश्‍वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्‍नुहुन्‍छ । उहाँले हेर्ने कष्‍ट गर्नुहुनेछैन ।" 12 हे परमप्रभु, उठ्नुहोस् ! हे परमेश्‍वर, आफ्नो हात उठाउनुहोस् ! थिचिएकाहरूलाई नबिर्सनुहोस् । 13 किन दुष्‍ट मानिसले परमेश्‍वरलाई इन्कार गर्छ र आफ्नो हृदयमा यसो भन्‍छ, "तपाईंले मलाई जवाफदेही बनाउनु हुनेछैन ?" 14 तपाईंले ध्‍यान दिनुभएको छ, किनकि विपद् र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्‍छ । बेसहाराले आफैलाई तपाईंमा सुम्पन्‍छ । तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्‍छ । 15 दुष्‍ट र खराब मानिसहरूको पाखुरा भाँच्‍नुहोस् । त्‍यसलाई आफ्नो दुष्‍ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्‍न भनी त्‍यसले सोच्‍यो । 16 परमप्रभु सदासर्वदा राजा हुनुहुन्‍छ । जातिहरू उहाँको देशबाट लखेटिन्‍छन् । 17 हे परमप्रभु, थिचोमिचोमा परेकाहरूको खाँचोहरूका बारेमा तपाईंले सुन्‍नुभएको छ । तपाईंले तिनीहरूका हृदयलाई मजबुत पार्नुहुन्‍छ, तपाईंले तिनीहरूका प्रार्थना सुन्‍नुहुन्‍छ । 18 तपाईंले अनाथहरू र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्‍छ ताकि पृथ्वीका कुनै पनि मानिसले फेरि आतङ्‌कित नपारोस् ।