32
त्‍यसैले यी तिन जना मानिसले अय्‍यूबलाई जवाफ दिन छाडे किनभने आफ्नो दृष्‍टिमा तिनले आफूलाई धर्मी ठहराए ।2 त्‍यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूलाई रिस उठ्‌यो । तिनलाई अय्‍यूबको विरुद्धमा रिस उठेको थियो, किनकि तिनले परमेश्‍वर भन्‍दा पनि आफैलाई धर्मी ठहराएका थिए ।3 तिन जना मित्रको विरुद्धमा पनि एलीहूलाई रिस उठ्‌यो किनकि तिनीहरूले अय्‍यूबलाई जवाफ दिन सकेका थिएनन्, र पनि तिनीहरूले अय्‍यूबलाई दोषी ठहराएका थिए ।4 अरू मानिसहरू एलीहू भन्‍दा उमेरमा पाका भएका हुनाले तिनले अय्‍यूबसित बोल्नलाई पर्खिरहेका थिए ।5 तापनि यी तिन जना मानिसका मुखमा एलीहूले जवाफ नदेखेपछि तिनलाई रिस उठ्‌यो ।6 तब बुजी बारकेलका छोरा एलीहू बोले र यसो भने, "म जवान छु, र तपाईंहरू निकै पाका हुनुहुन्‍छ । त्‍यसैले म चुप लागें, र मेरो विचार तपाईंहरूलाई भन्‍ने आँट गरिनँ ।7 मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ । धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ ।8 तर मानिसमा एउटा आत्मा हुन्‍छ । सर्वशक्तिमान्को सासले उसलाई सुझबुझ दिन्‍छ ।9 महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्‍यायलाई बुझ्छन् ।10 यसैकारण म तपाईंहरूलाई भन्‍दछु, 'मेरो कुरा सुन्‍नुहोस् । म पनि तपाईंहरूलाई आफ्नो ज्ञान भन्‍नेछु ।11 हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें । तपाईंहरूले के भन्‍ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें ।12 वास्तवमा मैले ध्‍यान दिएर तपाईंहरूका कुरा सुनें, तर तपाईंहरूमध्‍ये एक जनाले पनि अय्‍यूबलाई विश्‍वस्त पार्न, अर्थात् तिनको वचनलाई जवाफ दिन सक्‍नुभएन ।13 'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्‍नलाई होशियार हुनुहोस् । अय्‍यूबलाई परमेश्‍वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन ।14 किनकि अय्‍यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्‍यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।15 यी तिन जना मानिसका बोली बन्‍द भएका छन् । तिनीहरूले फेरि अय्‍यूबलाई जवाई दिन सक्दैनन् । तिनीहरूसँगत बोल्नलाई एउटै शब्द पनि छैन ।16 तिनीहरू बोल्दैनन्, तिनीहरू चूपचाप खडा छन्, अनि कुनै जवाफ दिंदैनन् भनेर के म पर्खिरहनू ?17 अहँ, म पनि आफ्नो तर्फबाट जवाफ दिनेछु । म पनि तिनीहरूलाई आफ्नो ज्ञान भन्‍नेछु ।18 किनकि मसँग जवाफ धेरै छन् । मभित्र भएको आत्माले मलाई बाध्‍य पार्छ ।19 मेरो छाती फुल्दै गरेको दाखमद्यझैं भएको छ जसको प्वाल छैन । नयाँ मशकझैं यो फुट्नलाई तयार छ ।20 म ताजा हुन सकूँ भनेर म बोल्नेछु । म आफ्नो ओठ खोल्नेछु, र बोल्नेछु ।21 म पक्षपात गर्नेछैनँ, न त कुनै मानिसलाई आदरको दर्जा नै दिनेछु ।22 किनकि त्‍यस्तो दर्जा कसरी दिने हो म जान्‍दिनँ । मैले त्‍यसो गरें भने, मेरा सृष्‍टिकर्ताले मलाई चाँडै लैजानुहुन्‍छ ।