28
निश्‍चय नै चाँदीको एउटा खानी हुन्‍छ, एउटा ठाउँ छ जहाँ तिनीहरूले सुनलाई शुद्ध पार्छन् ।2 फलामलाई जमिनबाट बाहिर निकालिन्‍छ । धातु पगालेर तामा निकालिन्‍छ ।3 एक जना मानिसले अन्धकारलाई हटाउँछ, अँध्‍यारो अनि घोर अन्धकारमा, पल्लो छेउसम्म खानिजको खोजी गर्छ ।4 मानिसहरू बसेका ठाउँ भन्‍दा धेरै टाढा, वा कसैको खुट्टाले नटेकेको ठाउँमा, खानीमा तल जाने एउटा सुरुङ् उसले बनाउँछ । मानिसहरू भन्‍दा धेरै पर ऊ झुण्डिन्‍छ । ऊ यताउता हल्लिन्‍छ ।5 जमिनमा खद्यान्‍न उत्पादन हुन्‍छ भने, मुनिपट्टि यसमा आगो बलिरहेको हुन्‍छ ।6 यसका ढुङ्‌गाहरूका ठाउँमा नीर पाइन्‍छ, र यसमा धूलोमा सुन मिसिएको छ ।7 कुनै पनि सिकारी चरालाई त्‍यहाँ जाने बाटो थाहा हुँदैन, न त बाजको आँखाले त्‍यसलाई देखेको छ ।8 रवाफिला पशुहरू यस्तो बाटोमा हिंडेका हुँदैनन्, न त हिंस्रक सिंह त्‍यहाँबाट गएको छ ।9 एक जना मानिसले आफ्नो हातले दर्शनढुङ्‌गा काट्छ । उसले पहाडहरूलाई फेदैदेखि पल्टाउँछ ।10 उसले चट्टानहरूका बीचमा सुरुङहरू बनाउँछ । उसका आँखाले त्‍यहाँ हरेक बहुमूल्य वस्तु देख्छ ।11 उसले खोलाहरू थुन्‍छ जसको कारणले ती बग्दैनन् । त्‍यहाँ जे लुकेको छ, त्‍यो उसले बाहिर प्रकाशमा ल्याउँछ ।12 बुद्धि कहाँ पाइनेछ ? सुझबुझको ठाउँ कहाँ छ ?13 मानिसलाई यसको मूल्य थाहा छैन, न त यो जीवितहरूको देशमा पाइन्‍छ ।14 पृथ्वीमुनि रहेको गहिरो पानीले भन्‍छ, 'त्‍यो ममा छैन ।' समुद्रले भन्‍छ, 'त्‍यो मसित छैन ।'15 सुनले त्‍यसलाई किन्‍न सकिंदैन, न त यसको मूल्यको रुपमा चाँदी जोख्‍न नै सकिन्‍छ ।16 ओपीरको सुनसित त्‍यसको मूल्य दाँज्‍न सकिंदैन, न त बहुमूल्य आनिक्स वा नीरसित सकिन्‍छ ।17 सुन र स्फटिक त्‍यसको बराबरी हुन सक्दैन, न त निखुर सुनका गहनासित त्‍यो साट्न नै सकिन्‍छ ।18 मूगा र बिल्लौरको त चर्चा नै गर्नुपर्दैन । वास्तवमा बुद्धिको मूल्य मानिक भन्‍दा बढी हुन्‍छ ।19 कूश देशको पुष्पराज त्‍यसको बराबर हुँदैन, न त त्‍यसलाई निखुर सुनले मूल्य तोक्‍न सकिन्‍छ ।20 तब बुद्धि कहाँबाट आउँछ ? सुझबुझको ठाउँ कहाँ छ ?21 बुद्धिलाई सबै जीवित प्राणीहरूको दृष्‍टिबाट लुकाइएको छ, र आकाशका चराहरूबाट लुकाएर राखिएको छ ।22 विनाश र मृत्‍युले भन्‍छन्, 'हामीले आफ्ना कानले यसको बारेमा हल्ला मात्र सुनेका छौं ।'23 कसरी यसलाई पाउने हो परमेश्‍वरले बुझ्‍नुहुन्‍छ । यसको बासस्थान उहाँलाई थाहा छ ।24 किनकि उहाँले पृथ्वीको पल्लो कुनामा हेर्नुहुन्‍छ, सबै आकाशमण्डलको मुनि हेर्नुहुन्‍छ ।25 उहाँले नै बतासको शक्ति बनाउनुभयो, र पानीलाई नापेर पोको पारेर पठाउनुभयो ।26 उहाँले झरी परोस् भनी आदेश दिनुभयो, र गर्जनको मार्ग बनाउनुभयो ।27 तब उहाँले बुद्धि देख्‍नुभयो, र यसको घोषणा गर्नुभयो । वास्तवमा उहाँले नै यसको स्थापना गर्नुभयो, र जाँच्‍नुभयो ।28 मानिसहरूलाई उहाँले भन्‍नुभयो, 'हेर्, परमप्रभुको भय - त्‍यो नै बुद्धि हो । दुष्‍ट्‌याइँबाट अलग रहनु नै सुझबुझ हो' ।"