23
तब अय्‍यूबले जवाफ दिए र यसो भने,2 "आज पनि मेरो गुनासो तितो छ । मेरो क्रन्‍दनको कारणले मेरो हात गह्रौं भएको छ ।3 ओहो, उहाँलाई मैले कहाँ भेट्न सक्छु भनी मैले जानेको भए ! ओहो, म उहाँको बासस्थानमा गएको भए !4 उहाँको सामु म आफ्नो मुद्दालाई क्रमैसित राख्‍नेथिएँ, अनि मेरो मुखलाई तर्कले भर्नेथिएँ ।5 उहाँले मलाई जवाफ दिएर भन्‍नुहुने वचनहरू म सिक्‍नेथिएँ, र उहाँले मलाई भन्‍नुहुने कुरा बुझ्‍नेथिएँ ।6 उहाँले आफ्नो शक्तिको महान्‍तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्‍छ ? अहँ, बरु उहाँले मेरो कुरामा ध्‍यान दिनुहुन्‍छ ।7 त्‍यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्‍यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्यो ।8 हेर्नुहोस्, म पूर्वतिर जान्‍छु, उहाँ त्‍यहाँ हुनुहुन्‍न, अनि पश्‍चिमतिर जान्‍छु, तर म उहाँलाई भेट्न सक्दिन ।9 उत्तरमा, जहाँ उहाँले काम गर्दै हुनुहुन्‍छ, तर म उहाँलाई देख्‍न सक्दिनँ, र दक्षिणमा जहाँ उहाँले आफैलाई लुकाउनुहुन्‍छ, जसले गर्दा म उहाँलाई देख्‍न सक्दिनँ ।10 तर म हिंड्ने बाटो उहाँलाई थाहा छ । जब उहाँले मलाई जाँच्‍नुहुन्‍छ, तब म खारिएको सुनझैं हुनेछु ।11 मेरो खुट्टाले उहाँका पाइला पक्का गरी पछ्याएको छ । म उहाँको मार्गमा हिंडेको छु, र यताउता फर्केको छैनँ ।12 उहाँको मुखबाट निस्केको आज्ञाबाट म फर्केको छैनँ । मेरो खानाको भाग भन्‍दा बढी मैले उहाँको मुखका वचनहरूलाई सञ्‍चय गरेको छु ।13 तर उहाँ बेग्लै किसिमको हुनुहुन्‍छ, कसले उहाँलाई फर्काउन सक्छ र ? उहाँले जे इच्‍छा गर्नुहुन्‍छ, सो गर्नुहुन्‍छ ।14 किनकि मेरो विरुद्धमा भएको उहाँको आदेशलाई उहाँले पूरा गर्नुहुन्‍छ । त्‍यस्ता कुराहरू त्‍यहाँ धेरै छन् ।15 त्‍यसकारण, म उहाँको उपस्थितिमा त्रसित भएको छु । मैले उहाँको बारेमा विचार गर्दा म भयभीत हुन्‍छु ।16 किनकि परमेश्‍वरले मेरो हृदय कमजोर पार्नुभएको छ । सर्वशक्तिमान्ले मलाई त्रसित पार्नुभएको छ ।17 अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्‍ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्‍त्‍य भएको छैन ।