16
तब अय्‍यूबले जवाफ दिए र भने,2 "धेरै यस्ता कुराहरू मैले सुनेको छु । सान्वना दिने तपाईंहरू सबैले दुःख दिनुहुन्‍छ ।3 के व्यर्थका शब्दहरू कहिल्यै अन्‍त्‍य हुन्‍छन् कि ? तपाईंहरूलाई के भयो जसले गर्दा तपाईंहरू यसरी जवाफ दिनुहुन्‍छ ?4 तपाईंहरू ठाउँमा हुनुहुन्‍थ्यो भने, तपाईंहरूले बोलेझैं म पनि बोल्न सक्थें, तपाईंहरूको विरुद्धमा शब्दहरू जम्मा गर्न र मिलाउन सक्थें, र गिल्ला गर्दै मेरो शिर हल्लाउन सक्थें ।5 मेरो मुखले तपाईंहरूलाई बलियो पार्थें, र मेरो ओठको बरबरले तपाईंहरूलाई राहत ल्याउँथें ।6 मैले बोल्दा त मेरो शोक कम हुँदैन । मैले बोल्न छाडें भने मलाई कसरी मदत हुन्‍छ ?7 तर हे परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ । तपाईंले मेरा सबै परिवारलाई सर्वनाश पार्नुभएको छ ।8 तपाईंले मलाई सुक्खा पार्नुभएको छ, जसले मेरो विरुद्धमा साक्षी दिन्‍छ । मेरो शरीरको दुब्लोपन मेरो विरुद्धमा खडा हुन्‍छ, र यसले मेरो अनुहारको विरुद्धमा साक्षी दिन्‍छ ।9 परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्‍छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्‍छ ।10 मानिसहरूले मलाई हेर्दै मुख खोलेर टोलाएका छन् । निन्‍दाले भरिएर तिनीहरूले मलाई गालामा थप्‍पड हानेका छन् । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भएका छन्।11 परमेश्‍वरले मलाई ईश्‍वरहीन मानिसहरूका हातमा दिनुहुन्‍छ, र मलाई दुष्‍ट मानिसहरूका हातमा फाल्नुहुन्‍छ ।12 म चैनमा थिएँ, अनि उहाँले मलाई लुछ्नुभयो । वास्तवमा, उहाँले मलाई गलहत्त्‍याउनुभएको र टुक्राटुक्रा पार्नुभएको छ । उहाँले मलाई आफ्नो निसाना पनि बनाउनुभएको छ ।13 उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्छन् । परमेश्‍वरले मेरा मृगौला छेड्नुहुन्‍छ, र मलाई छोड्नुहुन्‍न । उहाँले मेरो पित्त भुइँमा पोख्‍नुहुन्‍छ ।14 उहाँले बारम्बार मेरो भित्तामा हिर्काउनुहुन्‍छ । एक जना लडाकुले झैं उहाँले मलाई झम्टिनुहुन्‍छ ।15 आफ्नो शरीर ढाक्‍नलाई मैले भाङ्‌ग्रा सिएको छु । मैले आफ्नो टाउकोलाई भुइँमा गाडेको छु ।16 रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ । मेरो आँखाको वरिपरि मृत्‍युको छाया छ,17 जबकि मेरा हातमा कुनै हिंसा छैन र मेरो प्रार्थना शुद्ध छ ।18 ए पृथ्वी, मेरो रगतलाई नछोप । मेरो रोदनले विश्राम नपाओस् ।19 अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्‍छ । मलाई स्याबासी दिनुहुने उच्‍चमा हुनुहुन्‍छ ।20 मेरा मित्रहरूले मलाई खिसी गर्छन्, तर मेरो आँखाले परमेश्‍वरमा आँसु बगाउँछ ।21 मानिसले आफ्नो छिमेकीलाई गरेझैं, स्वर्गमा हुनुभएको त्‍यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्‍वरसित बहस गरिदिन म बिन्‍ती गर्छु ।22 किनकि जब केही वर्ष बितेर जान्‍छ, तब म त्‍यस्तो ठाउँमा जानेछु, जहाँबाट म फर्कनेछैनँ ।