5
तीन दिनपछि एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजदरबारको सामु रहेको चोकमा खडा हुन गइन् । राजाचाहिँ राजदरबारको राजकीय सिंहासनमा बसेर मूल ढोकातर्फ हेरिरहेका थिए ।2 जब राजाले एस्तरलाई चोकमा खडा भएको देखे, तब तिनका नजरमा उनले स्वीकृति पाइन् । तिनले आफ्नो हातमा भएको सुनको राजदण्ड उनीतिर पसारे । त्‍यसैले एस्तर नजिक गइन् र राजदण्डको टुप्‍पोलाई छोइन् ।3 तब राजाले उनलाई भने, “रानी एस्तर, तिमी के चाहन्छ्यौ ? तिम्रो अनुरोध के छ ? मेरो आधा राज्‍यसम्म पनि म तिमीलाई दिनेछु ।”4 एस्तरले भनिन्, “राजालाई खुसी लागेमा मैले हजूरको निम्ति तयार पारेको भोजमा हजूर र हामानको सवारी होस् ।”5 तब राजाले भने, “एस्तरले भनेकी कुरा गर्न हामानलाई झट्टै ल्याओ ।” त्‍यसैले राजा र हामान एस्तरले तयार पारेको भोजमा गए ।6 भोजमा दाखमद्य टक्र्याइँदा राजाले एस्तरलाई भने, “तिम्रो बिन्‍ती के हो ? त्‍यो तिमीलाई दिइनेछ । तिम्रो अनुरोध के हो ? तिमीलाई आधा राज्‍यसम्म पनि दिइनेछ ।”7 एस्तरले जवाफ दिइन्, “मेरो बिन्‍ती र मेरो अनुरोध यही हो,8 मैले राजाको दृष्‍टिमा निगाह प्राप्‍त गरेकी छु भने र राजालाई मेरो बिन्‍ती पूरा गर्न र मेरो अनुरोधलाई आदर गर्न खुसी लाग्यो भने मैले हजूरको निम्ति भोलि तयार गर्ने भोजमा राजा र हामानको सवारी होस्, अनि म राजाको प्रश्‍नको जवाफ दिनेछु ।”9 त्‍यस दिन हामान आनन्‍दित र हृदयमा प्रसन्‍न भएर गए । तर जब हामानले राजाको ढोकामा, मोर्दकैलाई न खडा भएको न त तिनको सामु डरले थरथर काँपेको देखे, तब तिनी मोर्दकैको विरुद्धमा रीसले चुर भए ।10 तापनि हामानले आफैलाई नियन्‍त्रण गरी आफ्नो घर लागे । तिनले आफ्ना मित्रहरूलाई खबर पठाए र आफ्नी पत्‍नी जेरेशसहित तिनीहरूलाई एकसाथ भेला गरे ।11 हामानले तिनीहरूलाई आफ्नो धनदौलतको रवाफ, आफ्ना धेरै जना छोराहरू, राजाले तिनलाई दिएका सबै पदोन्‍नति अनि राजाका सबै अधिकारी र सेवकहरू भन्‍दा बढी तिनको प्रगति कसरी भयो भनेर बयान दिए ।12 हामानले भने, “रानी एस्तरले तयार पार्नुभएको भोजमा उहाँले राजासँगै आउन मबाहेक अरू कसैलाई निमन्‍त्रणा दिनुभएन । भोलि पनि उहाँले राजासँगै मलाई निमन्‍त्रणा दिनुभएको छ ।13 तर मैले मोर्दकैलाई राजाको ढोकामा बसिरहेको देखेसम्म मेरा लागि यी सबै कुराले कुनै अर्थ राख्दैन ।”14 तर तिनकी पत्‍नी जेरेशले हामान र तिनका सबै मित्रहरूलाई भनिन्, “तिनीहरूले पच्‍चीस मिटर अग्लो एउटा फाँसीको काठ बनाऊन् । बिहान मोर्दकैलाई त्‍यसमा झुण्ड्‌याउन राजासित कुरा गर्नुहोस् । तब आनन्‍दित भएर राजासँगै भोजमा जानुहोस् ।” हामानलाई यो कुरा मन पर्‍यो, र तिनले एउटा फाँसीको काठ बनाउन लगाए ।